काठमाडौं: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले वर्तमान सरकार निर्मला पन्तको हत्यारालाई बचाउन लागिपरेको आरोप लगाएका छन्।
आज गुल्मीस्थित तम्घासमा नेपाली कांग्रेसको प्रथम जिल्ला सम्मेलन उद्घाटन गर्दै सभापति देउवाले सरकारलाई उक्त आरोप लगाएका हुन्।
कार्यक्रमलाई सम्बोधन गर्दै देउवाले भने, 'अहिले देशमा ओली(प्रधानमन्त्री केपी शर्मा ओली)को सरकार छ। एक वर्ष भइसक्यो। एउटा काम पनि गरेको छैन। खाली हत्या/हिंसा/बलात्कार बढेका छन्। निर्मला पन्तका बलात्कारीलाई बचाउने/लुकाउने काम गरेको छ यो सरकारले।'
त्यसैगरी देउवाले जनतालाई कर बढाएकोले उद्योगीहरु लगानी गर्न डराइरहेकासमेत बताए। उनले प्रेसमासमेत नियन्त्रण गर्न सरकार अघि बढेको बताए। 'प्रेसमा पनि नियन्त्रण गर्ने काम गरिरहेको छ। चिकित्सा शिक्षा विधेयकमा नियन्त्रण गरेको छ,' देउवाले भने, 'हरेक चीजमा अधिनायकवादी लाद्न खोजेको छ।'
कांग्रेस शान्तिप्रिय पार्टी भएकोले आन्दोलनमा नउत्रेको उनको तर्क थियो। भने, 'हामी रेलिङ भाच्ने हैन। दंगाफसाद गर्ने हैन भनेर चुप लागेर बसेका छौ।'
देउवाले पार्टीमा अनुशासनको खाँचो रहेको र खुट्टा तान्ने प्रवृत्ति अन्त्य हुनुपर्ने गुनासोसमेत गरे। त्यसैगरी उनले पार्टी बलियो हुनका लागि एकता जरुरी रहेको आवश्यकतासमेत औंल्याए।