Aug 24, 2019 | ७ भदौ २०७६

बरु एक्लै रुन सजिलो : निर्मलाकी आमा (#WhoKilledNirmala शृङ्खला २१)

पहिलोपोस्ट /पहिलोपोस्ट

  • महेन्द्रनगरबाट फर्किएर उमेश श्रेष्ठ/सविन ढकाल -

निर्मलाकी आमा पैसामा बिकिन्। 

पैसामा बिक्ने कस्ती आमा !

आमा शब्दमै कलंक लगाइन्।

हत्यारा त यिनै आमा पो हुन् कि?


स्थलगत रिपोर्टिङका लागि चैतको दोस्रो साता कञ्चनपुरको महेन्द्रनगर पुग्दा यस्ता आरोपहरु बलात्कारपछि हत्या गरिएकी किशोरी निर्मला पन्तकी आमा दुर्गादेवी पन्तमाथि लाग्दै थियो।  

जसकी छोरीको बलात्कारपछि हत्या भएको छ, जो पीडित छिन्, उनैलाई यस्तो आरोप !

'मलाई सञ्चो छैन, बोल्न सक्दिनँ,' महेन्द्रनगर बजारबाट मोबाइलमा सम्पर्क गर्दा उनले भनिन्। 

'पीडा बुझ्ने कोही भएन, यसरी डबल त्रिपल पीडा दिएर सहनुभन्दा त एक्लै रुनु सजिलो छ के!,' उल्टाखामस्थित घरको आँगनमा प्लास्टिकका कुर्सी मिलाउँदै मलीन स्वरमा उनले आफूलाई बोल्न मन नलाग्नुको कारण सुनाइन्।

क्यामेरा तेर्स्याएर इन्टरभ्यु लिने हैन, छोटो कुराकानीमात्रै गर्ने भनेपछि उनी बोल्न तयार भएकी थिइन्। 

'बुझिदिनु पर्छ मेरो पीडा। यति मलाई टोकेर इन्टरभ्यु लिँदालिँदा...मारेर बरु मेरो हड्डी नै लग्दा भयो अब। धेरै टेन्सनमा परिसकेँ अब, ' आँखा ओभानै थिए। तर, मुखबाट निस्केका प्रत्येक शब्दमा पीडा प्रतिबिम्बित थियो।

हाम्रो अगाडि थिइन्, एक लाचार र पीडित आमा। छोरी गुमाउँदाको पीडा त थियो नै, त्यसमाथि थपिएका छन् अनेक थरि आरोप, हुँदाहुँदा गाउँ निकाला गर्नेसम्मको धम्की। 

'धेरै सहन सकिँदैन टेन्सन। धेरै खप्न सकिँदैन। यस्तो पीडा कुनै आमाले सहेर देखाओस्, अनि म भन्छु कस्तो हुँदो रहेछ। अनि भन्छु मैले गल्ती गरेको छु भनेर।'

***
पीडा पात्र

तीसको दशकको उत्तरार्द्धमा दुर्गादेवीले पहिलो पटक पीडा भोगेकी हैनन्। वियोगान्त घटनाहरुको संकलन जस्तो लाग्छ उनको जीवन।

डोटीको बुडरमा जन्मिएकी उनले सानैमा साथीहरुबाट 'टुहुरी' भन्दै अपमान खेप्नुपर्‍यो। धन्न ठूलो बुबा थिए। उनकै घरमा दुर्गादेवी र उनका भाइबहिनी हुर्किए।

सानैदेखि दुःख पाएको भएर ठूलो बुबाले उनको बिहेका लागि निकै दुःख गरी ज्वाइँ खोजेका थिए। दाजुभाइ, जेठानी देउरानी भएको घरमा पर्‍यो भने यो सोझी छे, दुःख पाउँछे भन्ने भएर एक्लो छोरा भएको परिवार खोजेका थिए। यसै क्रममा भेटिए यज्ञराज पन्त। 

लालनपालन गरेकै ठूलोबुबाको घरबाट उनलाई अन्माइयो, झण्डै १७ वर्षअघि। 

तर, उनका दुःखका दिन हटेनन्।

लामो समयदेखि परिवारको निकट रहेकी माया नेगीका अनुसार जेठी छोरी मनीषा जन्मेदेखि नै लोग्नेले दुःख दिन थालेका थिए दुर्गालाई। त्यसपछि निर्मलाको जन्म भयो। फेरि छोरी नै जन्मिएपछि यज्ञराजको व्यवहार झन् कडा हुन थाल्यो। 

ग्यालेनमा लगेर रक्सी बेच्ने काम गर्थे, यज्ञराज। त्यहीँबाट रक्सी पनि खाएर आउने। त्यसपछि उपद्रो मच्चाउने। 

तेस्रो सन्तान पेटमा नहुँदै साली नाता पर्ने लक्ष्मीसित यज्ञराजको 'अफेयर' चल्यो। 

'दुईटा छोरी थिए। यसको कोखबाट छोरा हुँदैन, कमजोर छे भने,'  पुराना कुरा सम्झिँदै दुर्गादेवीले सुनाइन्, 'नाति भएन भनेर सुनाइरहन्थे, ससुरा। यसैबाट जन्मायो भने मर्छे। छोराले पनि राँडै काट्नुपर्छ भन्थे।'

कान्छी छोरी सरस्वती पेटमै हुँदा हो, लोग्ने सौता लिएर हिँडे।

'छोड्दा यो जन्मिएकी नै थिइनँ,' घरकै आँगनको पर्खालमा चढेर टोलाइरहेकी सरस्वतीलाई देखाउँदै उनले भनिन्। आफू सुत्केरी हुँदा सौता लिएर लोग्ने काठमाडौँ गएको पीडालाई व्यक्त गर्न उनले शब्द पाइरहेकी थिइनन्।

'धेरै पीडा छन्। यसले कपडा धोइन, यो-त्यो भनेर सिधै दबाउँथे। श्रीमानले नै दवाएर आज यो अवस्था आयो। दुनियाँलाई के थाहा! कमजोर भनेर नै हेपेका हुन्।'

एक वर्ष काठमाडौँ बसेपछि सौता लिएर लोग्ने घरै फर्किए। दोकान हाले। कान्छीलाई दोकानमा राखे। जेठानी देउरानी नभएको घर छानेर ठूलोबुबाले बिहे गरेर पठाएका थिए, दुर्गाले त सौताको पो सामना गर्नुपर्‍यो। 

तै, मर्नुअघि ससुराले आफूले खोजेर विवाह गरीदिएकी बुहारीले दु:ख नपावस् भनेर २८ धूर जग्गामध्ये १४ धूर दुर्गाको नाममा पास गरिदिए। र, बाँकी १४ धूर छोरालाई छाडे। त्यही साँधको जग्गा बेचेर लोग्ने यज्ञराजले भासीमा जग्गा किनेर घर बनाए, अलग्गै बस्न थाले। 

दुर्गादेवीले घरमै गोलगप्पा (पानीपुरी) पसल खोलेकी थिइन्। नजिकै स्कूल थियो। स्कूले विद्यार्थीहरु पसलका ग्राहक। स्कूल बन्द हुँदा नजिकै रहेको भारतको वनबासा बजार जान्थिन् र साइकल सामानहरु 'क्यारिङ' (शुल्क लिएर सीमा कटाएर व्यापारीलाई दिने) गर्थिन्। जीविका यसरी नै चलिरहेको थियो। 

अनि साउन १० गतेको त्यो कालो दिन आयो।

अहिले कान्छी आमा र बाबुले मिडियामा छोरीप्रति अगाध प्रेम दर्शाए पनि त्यो घटना हुनुअघिसम्म बाबुले वास्तासम्म नगरेको सुनाउँछिन् दुर्गादेवी। 
'त्यति नै माया गर्ने भए बुबाले छोड्दैन थिए होला। साथीले त सात दिनमा सोध्छन्, बुबाले त वर्षौँसम्म सोधेनन्। हामी नै जानुपर्थ्यो। तर देखावटीमा उसको जति माया कसैको छैन। कत्र्चनपुरमा मात्र होइन, देशमा नै छैन होला,' मनको बह फुकाउँदै भनिन्। 

आफू नगए पनि उनी छोरीलाई भने बाबुलाई भेट्न उतै घरमा पठाइरहन्थिन्। भनिन्, 'पहिलेदेखि नै उनीहरु छुट्टै बस्ने। कहिले पनि दुःख सुख कस्तो छ भनेर सोधेनन्। सबका श्रीमान् आउँछन्। हामी एक्लै बस्दा लाज भयो। पछि समाजले हेप्छ भनेर मैले छोरीलाई बाबुकोमा पठाउँथेँ।'

***
'एक रुपैयाँ खाएको छु भने जेल हाल्दिनू'

पीडितमाथि पीडा थप्ने यो ट्विस्ट एन्ड टर्न आयो कसरी त?

प्रमाण नष्ट गरेको आरोपमा निर्मलाकी आमाले र यातना दिएको आरोपमा खड्कसिंह विष्ट (प्रहरीले अभियुक्त भनी सार्वजनिक गरेका दीलिपसिंह विष्टका दाजु)ले जिल्ला प्रहरी कार्यालयमा अधिकारकर्मीहरुको सहयोगमा उजुरी दिएका थिए। यही उजुरीकै आधारमा सरकारी वकिलको कार्यालयले जिल्ला अदालतमा मुलुकी अपराध (संहिता) ऐन अनुसार मुद्दा दायर गर्‍यो।

अकस्मात्, समाचार आयो- निर्मलाकी आमाले मुद्दा फिर्ता लिइन्। साथमा उनले दीलिपसिंह विष्टलाई अपराधी भनिन् रे भन्ने पनि हल्ला चल्यो। 
त्यसबाहेक, अधिकारकर्मीहरुको विरोधमा पनि उनले बोलिन् भन्ने कुरा आयो जसले निर्मलालाई न्यायको लागि प्रत्यक्ष अप्रत्यक्ष रुपमा जोडिएका सबैलाई आक्रोशित बनाइदियो।

त्यसपछि सुरु भयो निर्मलाकी आमामाथि आरोप। पैसा खाएकोदेखि छोरी मर्दा पीडा नभएकोसम्मका लाञ्छना लगाइए।

कञ्चनपुरबाट प्रकाशित हुने मानसखण्ड दैनिकका सम्पादक खेम भण्डारी भन्छन्, 'यहाँ ठूलो खेल छ। एउटा राजनीतिक शक्ति नै उसको पछाडि लागेको छ। आमाको टोन परिवर्तन हुनु पर्ने प्रष्ट कारण नै छ नि।'

विष्टले त सीधै इन्सपेक्टर जगदीश भट्टलाई दोष दिए। उनकै गाडीमा चढेर निर्मलाकी आमाले मुद्दा फिर्ता लिएको आरोप उनको थियो। 'जति चलखेल भा'छ निर्मलाकी मम्मीबाटै भएको छ। उहाँ पैसामा बिक्नुभो,' उनले भने, 'आफू बच्नलाई मृतककी आमासित मिलेमतो गरेको छ। उहाँकै जिपमा ल्याउने लग्ने खुद मेरो आँखाले देखेको।'

दुर्गादेवी भने मुद्दा फिर्ता लिएको हैन, अघिल्लो जाहेरीमा गल्ती लेखिएकोले सुधार्न निवेदन दिएको तर्क गर्छिन्।

'जाहेरी सुधारेँ। पहिले झुटा लेख्लान् भन्ने मलाई के थाहा थियो? तर, अधिकारकर्मी हाइलाइट भइहाले। पुस ३ गतेसम्म मुद्दा लेखिएको थिएन, ' उनले भनिन्। 

आफ्नो नाममा लेखिएको जाहेरीमा के लेखियो, आफैलाई थाहा नदिई अधिकारकर्मीहरुले लेखेको उनको आरोप थियो, 'मैले लेखिएको कुरा थाहा पाउनु पर्ने हो नि। मैले जगदीश भट्टको घरमा साउन १० गते गएको भनेकै छैन।'

उनले यसो गरेवापत् कसैको पैसा खाएको भए जेल हाल्न चुनौति दिइन्, 'मैले मुद्दा सुधारेर एक रुपैयाँ खाएको छु भने दिने को हो? भन्नुपर्‍यो। हो भने सिधै जेल हाल्दिनु, म तयार छु।'

'कसैले पैसा दिँदैछ भने म नै किन दिँदैछ भनेर जेल हाल्थेँ नि,' भावुक हुँदै उनले भनिन्, 'तर यो आमालाई अपराधी भने। धेरै पीडा दिए।' यति बोलिरहँदा उनको आँखाबाट आँसु खस्न मात्र बाँकी थियो।

गाउँ निकालाको धम्की

त्यति मात्र हैन, उनले आफ्नै छिमेकीबाट गाउँ निकाला गर्नुपर्छ भन्नेसम्मका धम्की सुने। 

'सौता र श्रीमानको कुरा सुनेर छिमेकी पनि विरोधी भएका छन्। मैले भएको कुरा किन भन्न हुँदैन? किन मलाई पीडित बनाउन खोजेका हुन्? यसको लोग्ने पनि छैन, छोरा पनि छैन भनेर घोचेका हुन् कि? मैले बुझ्न सकेको छैन', उनले यस्ता प्रश्न सोधिन् जसको जवाफ हामीसित थिएन। 

उनलाई सबभन्दा पीडा आफ्नो नजिकको छिमेकीले गाउँ निकाला गर्नुपर्छ भनेको सुन्दा भएको छ, 'जसलाई मैले विश्वास गरेँ, उही छिमेकी लागेको छ।'

जेठी छोरी मनीषा एसईई परीक्षाको तयारी गर्दै गरेको बेला गाउँ निकालाको कुरा सुनेपछि रातभर रोएको सुनाउँछिन् दुर्गादेवी, 'अस्ति गाउँ निकाल्ने कुरा सुनी। रोएर मम्मी, यस्तो कुरा केही नभन्नू। हाम्रो कुरा हामीलाई थाहा छ भनी। रातभरी रोई।'

'एकातिर छोरीको पीडा। मान्छेलाई दुःख हुँदा कहिलेकाहीँ नराम्रो बोलिएला। तर, कोही मेरा शत्रु छैनन्। यति हुँदाहुँदै पनि मलाई नै नराम्रो भन्न किन आउँछन्?,' उनी जवाफ खोज्दैछिन्।

उनी रोकिइनन्, हाम्रो अगाडि उनको पीडाको ज्वालामुखी विस्फोट हुँदै थियो, 'मलाई पैसा नै चाहिएको भए त एक महिनामा नै पैसा बुझेर बस्ने थिएँ नि। किन आन्दोलन, धर्ना गर्थेँ? त्यो आमालाई पीडा छैन, अपराधी लुकाउन खोजेको हो, बलात्कार नै भएको छैन भनेको सुनेँ। अस्ति यस्तै धम्की आयो। अरु आमालाई पीडा दिएर देखाउनुहोस्, कुनै आमाले सहन सक्दैन। यस्तो पीडा मैले बाध्य भएर सहनु पर्‍यो। श्रीमान पनि उता छन्। छोरा पनि छैनन्। अहिले छोरीहरुछन्। भोलि बुढेसकाल लाग्छ। बिरामी हुँदा, ज्वरो आउँदा पानी दिने मान्छे छैन। भोलि के होला? मेरो धेरै पीडा छ। तर, उहाँहरुले पनि यस्तो पीडा दिनु हुन्छ भने बरु म एक्लै रोएर बिताउँछु। भयो भगवान, केही चाहिएन।'

'मान्छेको आफ्नो मान्छे नभएर यस्तो हुने रहेछ कि? यसको छोरी बलात्कार भएर मरिसकी भनेर जे भने पनि हुन्छ भनेर हो कि? म अहिले पनि डरत्रास मै छु।'

दीलिपसिंह विष्टमाथि शंका किन?

प्रहरीले अभियुक्त बनाएका तर डिएनए नमिलेपछि साधारण तारेखमा छुटेका दीलिपसिंह विष्टमाथि निर्मलाकी आमाले छोरीको हत्या गरेको हुनसक्ने भनी शंका व्यक्त गरेको खबर सार्वजनिक भएपछि पनि एकथरिले उनको आलोचना गर्न थाले। 

यसबारे प्रश्न गर्दा उनले भनिन्, 'मैले दीलिपले नै गरेको हो भनेर भनेको छैन। मैले उसलाई जेल हाल्नु भनेको छैन। त्यो अदालतको काम हो। त्यो नाटकीय मान्छे रहेछ। यसले जे पनि गर्न सक्छ।'

‘७ वटा टोली गठन भए। अपराधी पत्ता लागेन। उसैले मारेको भए अरु खोज्दा कहाँ भेटिन्छ? मैले किटानी गरेको होइन। हो कि भनेर शंका मात्र गरेको,’ आशंकाको आधार पेश गरिन्। 

यस्तो शंका गर्नुपर्ने अवस्था किन आयो त?

‘भिडियो हेरेर बाबु, यसअघि मैले त्यो भिडियो हेरेको थिइनँ,’ उनले भनेको भिडियोमा दीलिपसिंह विष्टकी भाउजु र बुहारीले बोलेकी छिन्। प्रहरीले गोप्य क्यामेराबाट खिचेको त्यो भिडियोमा उनीहरुले दीलिपबाट आफूहरु पीडित भएको बताएका छन्। आफूहरुप्रति कुदृष्टि राखेको, डरले माइती बसेको, छोएर हिँड्न खोज्ने जस्ता कुरा पनि बताएका छन्।

‘के थाहा दिलिपका घरकाले पनि केटीमाथि जाइ लाग्थ्यो भनेका छन्। एउटा केटीलाई जाइलाग्दा फलामले हानेको रहेछ। बिहान गएपछि राति १०/१२ बजे आउँछ भनेको देखेँ। हुनसक्छ यसैले गरेर देशले दुःख पाइरहेको छ।‘   

‘उसको घर परिवारका मानिसले नै भनेको भिडियो हेरेपछि शंका मात्र गरेको हुँ,’ आफूले नै अपराधी घोषणा गरेसरी समाचार आएकोले दुःखी भएको भन्दै उनले थपिन्, ‘छोरीको बलात्कार गरी घाँटी थिचेर संसार छुटाउने अपराधीबारे कसैलाई शंका लाग्छ भने आमाले लुकाउन सक्दैन। यो आमाको परम धर्म हो। तर, गाउँबाट मलाई नै निकाल्न खोज्छन्। यस्तैले मारेको हो भन्ने शब्द आउँछ। यसले खोलामा कसरी घटना घटेको भन्न सक्छे, यसैले नै मारेको हो भन्ने कुरा आउँछ।' 

‘पीडितलाई दशथरी पीडा दिएर मेरो पछि लाग्नुभन्दा मलाई रुन सजिलो छ भगवान्,’ पीडा पोखिन् उनले। 

थपिन्, ‘दिलिप यो बाटो हिँड्दै हिँड्दैन भन्थे। तर, अहिले पनि हिँडेको देख्छु। पहिले मैले दिलिप भन्ने थाहा नपाउने रहेछु। अहिले पो फोटोमा देखाउँदा थाहा पाएको। हिजो पनि देखेकी थिएँ। मलाई डर लाग्यो। अरुको घरमा श्रीमान् होलान्, सासु ससुरा होलान् तर हाम्रो घरमा छोरी र म मात्र हुन्छु। यसरी घुमिरहन्छ भने आउँछ कि, मैले लुकाउन नसकेर भनेको हुँ। यो भन्यो भनेर नै गाउँ निकाल्नुपर्छ भन्ने शब्द सुनेँ।'

‘मैले आफ्नो पीडा पोख्दा गाउँ नै निकाला हुन्छ भने म कसरी सुरक्षित हुन्छु? मेरो पीडा कसरी देशले बुझेको मान्नु?,’ उनले गम्भीर प्रश्न राखिन्।  

काठमाडौँमा निर्मलालाई न्यायका लागि भएको प्रदर्शनका क्रममा दुर्गादेवी। 

‘कंस मामा’ कनेक्सन

घटनामा निर्मलाकी मामा तीर्थराज भण्डारीलाई कंस भन्दै भिलेन बनाएर प्रस्‍तुत गरिएकोमा उनलाई त्यतिबेला पनि चित्त बुझेको थिएन, अहिले पनि चित्त बुझेको छैन। 

भदौ २७ गते शान्‍तिका लागि साझा अभियान (कोक्याप) नामको एनजिओको काठमाडौँस्थित हलमा भएको कार्यक्रममा भण्डारीलाई कंस भनिँदै गर्दा दुर्गादेवीले सच्याउन खोज्दै थिइन्। तर, उनलाई तपाईँ नबोल्नुस् भन्दै काठमाडौँ लिएर आउने अधिकारकर्मीहरुले बोल्नै दिएनन्।

उनी त्यतिबेलाको घटनालाई यसरी सम्झिन्छिन्, ‘३/४ दिनसम्म लाश त्यस्तै भयो। बरफसमेत हाल्दिने कोही भएनन्। छोरीको दाहसंस्कार समेत भएको छैन। मलाई त त्यही पीडाले सतायो। खाना नखाएको चार दिन भएको थियो। कमजोरीले औँलाहरु फर्किएका थिए। बेहोस जस्तै थिएँ। लाश पूरै गन्हाउन थालेको थियो। भाइले लाश जलाएपछि दिदीलाई ठीक हुन्छ भनेर जलाउन भनेको रहेछ।'

‘तीर्थ मेरो जेठा बुबाको छोरा हो। म उसैको घरमा हुर्किएँ। मेरो बुबाआमा त सानैमा बितिसकेका थिए। म माइत जाँदा सम्मानै गर्थे। आफ्नी छोरी भन्दा प्यार गरेका थिए। उसले भिनाजुले दिदीलाई सौता हालेर बसेको देखेको थियो। भिनाजुले पीडा देखेको छैन, मेरो पनि त भान्जी हो। दाहसंस्कार गर्नु भनेर छोडेको हो। दाहसंस्कार गरेर अपराधी खोज्नु भनेको हो। भन्नु उचित थियो, थिएन थाहा भएन। तर, उसले पीडा बुझेर भनेको हो।' 

'तर, 'पैसा खाएर लाश जलाए' भने। खायो, खाएन थाहा पाइएन। यो कुरा भगवान जानुन्। उसले खाएन भन्छ। दलाल भएर पैसा खाएको भन्न सकिँदैन। थाहा नभएको कुरा म भन्न सक्दिन। खाएको भए उसलाई पाप लाग्ला। कंस मामाले खायो भने। हाम्रो पन्त परिवारको प्रयास नभएको भए म बुझ्दिन थिएँ। सबै पन्त परिवारले लाश बुझ्ने भनेका थिए। मेरा जेठाजुले भनेका थिए- तेरो छोरीको लाश र तेरो शरीरमा किरा पर्नु एउटै हो, लाश बुझ्नु पर्छ।' 

निर्मलाका आमा र बुबालाई काठमाडौँ ल्याउँदा सँगै आएकी अधिकारकर्मीमध्ये एक माया नेगी पनि निर्मलाको मामाबारे यस्तै धारणा राख्छिन्, ‘दिदी र भान्जीको त्यो अवस्था देखेपछि मेरी भान्जीलाई दाहसंस्कार गर्न दिनुहोस् भनेकै हो। उसको भित्री आत्मा नै गलत थियो भने हामी कसैलाई थाहा छैन। भगवानलाई नै थाहा होला। उसले भन्नु स्वभाविक पनि थियो। दिदीको अवस्था देखेर नै दाहसंस्कार गर्नु भनेको होला भन्ने मेरो मनले भन्छ। मैले मामाको विरोध गरिनँ। कति साथीहरुले कंस मामा भनेर समेत विरोध गरे। मैले निर्मलाको आमाको पीडा २०६३ सालदेखि बुझ्दै आएकाले मामाको विरोध चाहिँ गरिनँ।'

किन त?

नेगीका अनुसार निर्मलाका बुबा यज्ञराज र उनको साला तीर्थबीच रिसइबी थियो, ‘निर्मलाको बुबाले दोस्रो बिहे गरेपछि मामाले मेरो दिदी हुँदाहुँदै अर्को ल्याइस् भनेकै हो। त्यसको पीडा उसलाई पहिलेदेखि नै थियो। जहाँ पनि त्यो मेरो साला किन आयो घरमा भन्थ्यो। त्यो माथि अनुसन्धान गरी पाउँ भन्‍थ्यो। यो भन्दा दुई श्रीमान् श्रीमती बीच आपसमा झगडा भइरहन्थ्यो। केही अधिकारकर्मीले पनि त्यो कंस मामामाथि अनुसन्धान हुनुपर्छ भन्दा मेरै पनि झगडा पर्‍यो।‘

निर्मलाकी आमा र बुबालाई पहिलो पटक काठमाडौँ ल्याउँदा सँगै आएकी अधिकारकर्मी माया नेगी।

अधिकारकर्मीको ‘अट्याक’

राजनीतिको खोल ओढेका केही अधिकारकर्मीहरुको व्यहोरा उनलाई चित्त बुझेन। उनले असन्तुष्टि जनाइन्। तर, त्यसलाई गलत ढंगले प्रस्तुत गरियो। पुलिसको पक्षमा लागेर पहिलेदेखि आफूलाई सहयोग गरिरहेका अधिकारकर्मीहरु विरुद्ध बोलेको ढंगले मिडियामा प्रस्तुत गरिएकोमा उनको चित्त दुखाई छ। यही कारण सामाजिक सञ्जालमा पनि पीडित आमाविरुद्ध गाली वर्षिए।

तर, केही अधिकारकर्मीहरु अझै उनकै साथमा छन्। उनलाई पहिलेजस्तै सहयोग गरिरहेका छन्। 

‘केही अधिकारकर्मीहरु अहिले सत्य कुरा बोल्दैनन्। आफू हाइलाइट भएर अधिकार दिलाउने अधिकारकर्मी रहेछन्। को मान्छे कस्तो रहेछ, म बुझ्न सक्दिनँ। उनीहरुको आश मान्दामान्दा मैले धोका पाएँ। उनीहरुले अहिलेसम्म राजनिति गरेका छन् भन्ने थाहा पाएँ,’ उनले आफ्नो बुझाइ बताइन्। 

यो निश्कर्षमा उनी कसरी पुगिन् त?

‘जब मलाई यसैले छोरी मारिन् यो आमालाई गाउँनिकाला गर्नुपर्छ भनेपछि म त्रसित भएँ। किन यसो भन्दा रहेछन् भनेको पछि थाहा पाएँ, राजनीति भएको रहेछ भन्ने। मैले त सबैले मेरो पीडामा साथ दिएको सोचेको थिएँ।'

‘मलाई त के लाग्छ भने पीडामा साथ भन्दा पनि उनीहरु आफू हाइलाइटमा आउनको लागि राजनीतिमा लागे। उनीहरुलाई दोषी पत्ता लगाउनु नै छैन। पाँच वर्ष पुर्‍याउनु रहेछ भन्ने यतिखेर लाग्यो। मेरो मनमा लागेको कुरा दबाएर उनीहरुले खेल्न खोजे। उनीहरुले मनको कुरा मनमा नै राख भने।’

अधिकारकर्मीहरुले काठमाडौँ लग्दा 'यो यो मात्र भन्नु' भनेर सिकाएको उनी बताउँछिन्, ‘मेरो श्रीमानले चाहिँ सुगा रटाए झैँ भने। तर, मैले चाहिँ कहिले भनिनँ। मलाई तपाईँको त्यो भाइ होइन, नाता खडा गरेको कंस मामा हो भन्न भने। मेरा श्रीमानले चाहिँ भने। तर, मलाई चाहिँ भन्न आएन। किनकि म त्यही घरमा हुर्किएर विदा भएर आएको हुँ।'

अधिकारकर्मीहरुले जे सिकाए त्यही बोलेका कारण कुरा बिग्रिएको दुर्गादेवीको बुझाइ छ, ‘बुबाले त अधिकारकर्मीले जे सिकाए त्यही भने। बुबा भनेको बुबा हो भन्ने भयो। बुबाले भनेको कुरा सत्य होला भन्ने सबैलाई लाग्यो। तर, कुरा यहाँबाट बिग्रियो। मलाई सोझो भनेर कसैले मेरो कुरा नै सुनेन। कुरा बिग्रिएको त्यहीँबाटै हो।'

‘दिलिपको बयान हेर्दा सिकाए जस्तो थिएन। घरको परिवारले भनेको सुनेको पनि सही जस्तो लाग्छ। पछि बुबाले यस्तो हुँदैन भन्यो। बुबाको सपोर्टमा कञ्चनपुर उर्लियो। कुरा यहीँबाट बिग्रियो। बाबुले बोलेपछि अरुले बोल्न सक्दैनन्। जब बुबाबाट बिग्रिन्छ, अनि यस्तो हुन्छ। भासीमा घर बनाएर डिप्रेसनमा थिए। त्यसैमा अधिकारकर्मीले जे जे भन्न भन्यो त्यही मात्र भने। आफै भन्न नआउने। घटना हुँदा एक त उनी घरमा समेत थिएनन्। उनीहरुले 'जे जे भन' भने त्यही भनिदिए।'

के यस्तै गरिएको हो त? 

निर्मलाकी आमाबुबालाई काठमाडौँ ल्याउने प्रमुख पात्रहरुमध्ये एक अधिकारकर्मी शारदा चन्दलाई हामीले सोध्दा उनले भनिन्, ‘यो कुरा उहाँलाई नै सोध्नुस्। हामीले सिकाएको भए प्रमाणित गर्नु  पर्‍यो नि। उहाँलाई यातना दियौँ कि, धम्की दियौँ कि, चिमोट्यौँ कि,  दादागिरी गर्‍यौँ कि, नशालु पदार्थ खुवायौं कि।' 

थपिन्, ‘उहाँ पीडित हो। पीडितलाई पीडा दिनुहुन्न भनेर हामी मौन बसेका छौं। दुर्गाजीको विरोधमा दुई जना अधिकारकर्मी निस्कियोस् त, के हुन्छ उहाँको हालत?  अहिले देशभरका अधिकारकर्मीको फोन आइरहेको छ। हामी महेन्द्रनगर आउछौं भन्नु भएको छ त। मैले कुन भिडियोमा देखेँ दुर्गाजीको विरोधमा गाउँलेहरु नै खनिएका छन् त। दिलिपजीलाई दुर्गाजीले फँसाउनु भयो भने यो राम्रो हुँदैन भन्नु भएको छ त।'

कोक्यापको कार्यालयमा पत्रकार सम्मेलन हुँदा अधिकारकर्मी शारदा चन्द (निर्मलाकी आमाको पछाडि)

उनी आफू पनि सुरुमा सिकाएको कुरा भनेकोमा पछुतो मान्छिन्। ‘कानुनको कुरा थाहा पाएको भए यति कुरा लुक्ने थिएन। शुरुमा अरुले जे भने त्यही त्यही भनेँ। बम दिदीबहिनीको चरित्र खराब छ छैन भन्ने थाहा थिएन। अरुको कुरा सुनेर होला भन्ने लागेर मात्र भनेको हो। रोशनी सधैँ घर आउँथी,' उनले भनिन्।

‘प्रहरी पनि राम्रा छन् भन्दिनँ। नेता, एसपी, अधिकारकर्मी भनेर हुँदैन रहेछ। सत्य जे हो त्यही नै हुने रहेछ। प्रहरीले पनि सत्य कुरा भनेन। पहिले तीन जनाले बलात्कार गरेको भने। पछि एक जना भने। अनि मानिसले कुरा फेरिएपछि प्रहरीको विश्वास नै मानेनन्।'

उनले भनिन्, ‘निर्मलाको भेजिनल स्वाबसित मेरो रगतको डिएनए मिल्यो भनेर जानकारी दिए। प्रमाण मेटाउँछु भनेर एउटा पनि नराख्न चाहेको भए त्यो पनि राख्दैन थिए होला नि। राखेकै रहेछ भन्ने भयो। मेरो रगतसित मिल्यो।’ 

‘अधिकारकर्मीले ममाथि केही आरोप लगाएपछि उनीहरुप्रति विश्वास उठ्न बाध्य भएँ। उनीहरुले पीडितलाई दशथरिको पीडा दिन खोजेका रहेछन्। उनीहरु जे पनि गर्न सक्दा रहेछन्। उनीहरुको सहयोग मलाई होइन रहेछ। अहिले म फेल खाएँ।' 

तर, अरुको सहयोग प्रति उनी आभारी छिन्। भनिन्, ‘यो देशले सहयोग गरेको छ। यो देश जनतालाई धन्यवाद दिन्छु।'

‘अधिकारकर्मीले मलाई 'आमाले छोरी मारी' पनि भनेर गए। सहनु परेको छ। एकदम दुखेको छ,' उनले भनिन्।

दिलिपसिंह विष्टलाई अभियुक्त भनी सार्वजनिक गरेपछि केही अधिकारकर्मीले आफ्नो मोबाइल समेत नियन्त्रणमा लिएको उनले बताइन्। भनिन्, 'यसले के बोल्छे। कुरा बिगार्छे भनेर होला केही दिन मेरो मोबाइल पनि उनीहरुले नै राखे बाबु।'

केही अधिकारकर्मीको पीडितलाई पीडा दिने बोली र छिमेकीहरुको गाउँ निकालाको धम्की उनको मनमा गढेको छ।  

कञ्चनपुरबाट फर्कँदै गर्दा नेपाल पत्रकार महासंघका कञ्चनपुरका जिल्ला सभापति विष्णु अवस्थीले हामीलाई सुनाए, 'अस्ति भर्खर निर्मलाकी आमाले मलाई ‘बाबु, यो घरजग्गा किन्ने मान्छे कोही छ भने खोज्दिनु। सस्तैमा भए पनि बेचेर जान्छु, मलाई यहाँ बस्ने मनै छैन’ भनेकी छिन्।

के समाजले एउटा भयङ्कर पीडाबाट गुज्रिएकी आमालाई विस्थापित हुन बाध्य बनाउँदै छ?

(कञ्चनपुरमा महेन्द्र बमको सहयोगमा)
 

#WhoKilledNirmala शृङ्खला  

विगत : निर्मला प्रकरणले सम्झाएको त्यो हाइप्रोफाइल रेप र मर्डर केस : नमीता-सुनीता-नीरा र चुडामणि
शृङ्खला १ : निर्मलालाई देशभर चिनाउने 'आइकनिक' फोटोमा लुकेको कथा 
शृङ्खला २ : कहाँबाट हराइन् निर्मला : डेढ किलोमिटरको दूरीमा नसुल्झिएको रहस्य
शृङ्खला ३ : क्राइम सिन : के उखुबारीमा भएको थियो निर्मलाको हत्या?
शृङ्खला ४ : निर्मला फर्कँदा बाटोमा पर्ने दुई घर जसमध्ये एउटा यसकारण पर्‍यो अनुसन्धानको घेरामा 
शृङ्खला ५ : 'रे' मा रुमल्लिएको निर्मला प्रकरण 
शृङ्खला ६ : निर्मला हराएपछि तारो बनेको त्यो दुई तल्ले घर 
शृङ्खला ७ : बबिताको त्यो बोली जसले उनीहरुलाई 'अपराधी' बनायो
शृङ्खला ८ : पहिलो दिनदेखि नै भएको प्रहरीको लापरवाहीले उब्जायो विश्वासको संकट  
शृङ्खला ९ : निर्मला प्रकरणमा 'भिआइपी' कनेक्सन 
शृङ्खला १० : निर्मलाको शव भेटिएकै ठाउँतिर एक्टिभेट मोबाइलको म्यासेज: 'त्यो केटी छाड्देऊ, त्यो भन्दा राम्री मिलाइदिन्छु।' 
शृङ्खला ११ : एक युवतीको ३० सेकेन्डको 'बाइट' जसले निर्मला प्रकरणमा दियो महत्त्वपूर्ण क्लु 
शृङ्खला १२: निर्मलाको हत्या भएकै दिन गाउँबाट गायब एक दुर्व्यसनी फेरि किन काठमाडौँमा समातिए? 
शृङ्खला १३: निर्मलाको हत्यामा अम्बाको रुख र रङको चर्चा 
शृङ्खला १४: Exclusive : डिएनए रिपोर्टले देखाउँछ निर्मलाको बलात्कार एक जनाबाट मात्रै, 'प्रहरीको ल्याब अन्तर्राष्ट्रिय मापदण्डअनुसार छैन' 
शृङ्खला १५ : चोरीका आरोपीलाई बलात्कारको 'दोष' : पोस्टर च्यात्दाको बदनामी मेटाउने प्रपञ्च? 
शृङ्खला १६ : निर्मला प्रकरणमा युट्युबरको आफ्नै इजलास, आफ्नै प्रमाण, न्यायाधीश पनि आफै 
शृङ्खला १७ : विश्वकै टप डिएनए एक्सपर्ट के भन्छन् निर्मला प्रकरणमा? यस्तो छ उनको सुझाव
शृङ्खला १८ : को थिए ती तीन युवती जो एसपीका छोरासँगै होटल ओपेरामा देखिए?

शृङ्खला १९ : प्रहरीले गोप्य राखेको निर्मलाको त्यो 'अटोजोमल एसटिआर रिपोर्ट' जसमा बलात्कारीको डिएनए देखिएन

शृङ्खला २० : जब निर्मलाको हत्यामा 'क्लु' खोजिरहेको प्रहरीसामु आफै 'क्लु' आइपुग्यो

 थप समाचार



ट्रेन्डिङ पोस्ट