PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

पाउरोटीको मुल्य बढाएपछि सुडानमा राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्कियो, प्रदर्शनकारीलाई सेनाको साथ



पाउरोटीको मुल्य बढाएपछि सुडानमा राष्ट्रपतिविरुद्ध प्रदर्शन चर्कियो, प्रदर्शनकारीलाई सेनाको साथ
फोटो: EPA

खार्तुम: सुडानका राष्ट्रपति ओमर अल बसिरको राजीनामा माग गर्दै चार महिनादेखि प्रदर्शन गर्दै आएका प्रदर्शनकारीहरुलाई सेनाले सुरक्षा दिएको बीबीसीले उल्लेख गरेको छ।

सुडानमा सरकारले पाउरोटी र इन्धनको मुल्य बढाएकोप्रति असन्तुष्टि जनाउँदै गत डिसेम्बरबाट प्रदर्शन सुरु भएको थियो। प्रदर्शन चर्किदै गएपछि उनीहरुले राष्ट्रपति बसिरको राजीनामा माग गर्दै आएका थिए।

आइतबार प्रदर्शनकारीहरुले खार्तुम शहरमा राष्ट्रपति निवास नजिकै रहेको सुडानी सेनाको मुख्यालय अगाडी प्रदर्शन गरेका थिए।

सेनाले आफ्नै मुख्यालय अगाडी प्रदर्शन हुँदा पनि प्रदशर्नकारीहरुको आन्दोलनमा हस्तक्षेप गरेको थिएन। प्रत्यक्षदर्शीहरुले सेनाले सोमबार प्रहरीले प्रहार गरेको अश्रुग्यासबाट प्रदर्शनकारीहरुलाई बचाउन भूमिका खेलेको बताएका छन् ।

सैन्य मुख्यालय अगाडी दोस्रो दिन प्रदर्शनमा रहेका आन्दोलानकारीहरु सेनाको नेभी शिविरमा आश्रय मागिरहेको बताइएको छ।

हजारौंको संख्यामा रहेका प्रदर्शनकारीहरुले 'एक राष्ट्र एक सेना' को नारा लगाउँदै मुख्यालय अगाडी धर्ना दिएको बताइएको छ। उनीहरुले राष्ट्रपतिविरुद्ध नारा लगाउँदै सेनालाई हस्तक्षेप गर्न माग गर्दै कि 'जनता वा निर‌ंकुश शासक'को पक्ष लिन भनेका छन्।

पूर्व राष्ट्रपति जाफर निमेरीको सत्ताबाट हटाउन सैन्य कू गरेको वार्षिकोत्सवको अवसरमा मुख्यालय बाहिर प्रदर्शन गरेका हुन्।

आन्दोलनका क्रममा अहिले सम्म ३५ जनाभन्दा धेरैको मृत्यु भएको सुडानी अधिकारीहरुले बताएका छन्। तर विपक्षीहरुले भने मृतकको संख्या त्यो भन्दा बढी भएको बताउँदै आएका छन्। चार महिनादेखि चर्किएको आन्दोलनमा हजारौं सुडानी नागरिक घाइते भएका छन्।

बीबीसीले सेना पहिला तथस्त रहेपनि पछि भने प्रदर्शनकारीको रक्षामा लागेको उल्लेख गरेको छ।  

प्रदर्शन गर्नेहरुमाथि सुडानको राष्ट्रिय गुप्तचर निकार र राज्य मिलिसियाले सोमबार पुन: आक्रमण गरेको बताइएको छ। उनीहरुको चलाएको गोलीबाट बच्न प्रदर्शनकारीहरुले नेभी आवासमा पुगेको बताइएको छ। त्यसपछि सेनाले सुरक्षाकर्मीहरुको प्रतिकार गरेका हुन्।

आइतबार सयौं प्रदर्शनकारीहरुलाई पक्राउ समेत गरिएको थियो।

यता, सुडानका राष्ट्रपति बसिरले भने अहिले भइरहेको आन्दोलनबाट सरकार परिवर्तन नहुने दाबी गर्दै आएका छन्।  उनले आन्दोलनकारीहरुले सरकार परिवर्तन गराउन नसक्ने बताउँदै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell