PahiloPost

Sep 28, 2024 | १२ असोज २०८१

फेसबुकमा भाजपाको विज्ञापन कांग्रेसको भन्दा झण्डै चार गुणा बढी, निर्वाचनलाई लक्षित गरी फेसबुकका दुई नयाँ प्रोडक्ट



फेसबुकमा भाजपाको विज्ञापन कांग्रेसको भन्दा झण्डै चार गुणा बढी, निर्वाचनलाई लक्षित गरी फेसबुकका दुई नयाँ प्रोडक्ट

नयाँ दिल्ली:  भारतमा यही ११ तारिखदेखि सुरु हुने लोकसभा चुनावका लागि राजनीतिक दलहरुले प्रचार प्रसारलाई तीब्रता दिएका छन्। निर्वाचनको प्रचार सामाजिक सञ्जालमा बढी हुँदै आएको छ।

पछिल्लो दुई महिनामा फेसबुकमा मात्र भारतबाट ५१ हजार ८१० राजनीतिक विज्ञापन गरिएका छन्। जुन १० करोड ३० लाख भारतीय रुपैयाँ बराबरको रहेको फेसबुक एड लाइब्रेरी रिपोर्टमा उल्लेख छ।

यसमा सबै भन्दा बढी हिस्सा सत्तारुढ दल भारतीय जनता पार्टी भाजपा र त्यसका समर्थकहरुको रहेको बताइएको छ। भाजपाले यसबीच ११०० विज्ञापन गरेको छ। जसबाट भाजपाले ३६ लाख २० हजार भारतीय रुपैयाँ खर्च गरेको छ।

फेब्रुअरी र मार्च महिनाको तथ्याकं हेर्दा भारतीय राष्ट्रिय कांग्रेसले ४१० वटा विज्ञापन दिएको छ जसको खर्च पाँच लाख ९१ हजार भारतीय रुपैयाँ मात्र रहेको छ।

त्यस्तै तेलगू देशम पार्टीले एक लाख ५८ हजार भारतीय रुपैयाँ फेसबुक विज्ञापनमा खर्च गरेको छ। त्यस्तै राष्ट्रवादी कांग्रेसले करिब ५८ हजार भारतीय रुपैयाँ खर्च गरेको छ।

यसैबीच फेसबुकले भारतीय लोकसभा निर्वाचनलाई लक्षित गरी कडा नीति लिएको जनाएको छ। निर्वाचनमा फेसबुक विज्ञापनको दुरुपयोगलाई रोक्नका लागि फेसबुकले कडा नीति अपनाएको फेसबुकका निर्वाचन मामिला हेर्ने नीति निर्देशक कैट हर्वाथले बताएका छन्।

फेसबुकले यसबीच भारतीय कांग्रेस निकटका ५०० भन्दा बढी फेसबुक एकाउन्ट र १३८ फेसबुक पेज बन्द गराएको छ। त्यस्तै फेसबुकले भाजापा निकटको २ मिलियन फलोअर भएको फेसबुक पेजसमेत बन्द गराएको छ।

फेसबुकले भारतमा फ्याक्ट चेक गर्नका लागि सात वटा साझेदार राखेको छ। हाल फेसबुकले राजनीतिक विज्ञापनका लागि निर्वाचन आयोगको प्रमाणपत्र, अथवा भारतमा भौतिक रुपमा उपस्थिती रहेको ठेगाना र फोन नम्बरसमेत उपलब्ध गराउनुपर्ने नियम बनाएको छ। यसरी उपलब्ध गराएको फोन नम्बरलाई फेसबुकले भेरिफाइसमेत गर्ने गरेको जनाएको छ। त्यस्तै विज्ञापनका लागि दिइने पैसाको स्रोतसमेत उल्लेख गर्नुपर्ने हुन्छ।

फेसबुककले भारतमा अंग्रेजीसहित हिन्दी, बंगाली, मराठी, तामिल, मलायलम र गुजराती भाषामा हुने विज्ञापन तथा सामाग्रीहरुको अध्ययनका लागि सात वटा पार्टनर राखेको जनाएको छ।

यिनीहरुले फेसबुकका विभिन्न समूह र भाषामा प्रकाशित हुने सामाग्रीको अध्ययन गर्ने छन्। यसमा भारतको एसियन कलेज अफ जर्नलिजम र इन्डियन इन्स्टिच्यूट अफ मास कम्युनिकेशनसमेत रहेको छ।

निर्वाचन आचार संहिताको कार्यान्वयनका लागि फेसबुकले निर्वाचन आयोगसँग साझेदार गरिरहेको जनाएको छ।

फेसबुकले भारतीय निर्वाचनलाई लक्षित गरी दुई वटा नयाँ प्रोडक्टसमेत लञ्च गरेको छ। फेसबुकले 'क्यान्डिडेट कनेक्ट' र 'सेयर योर भोटेड' सार्वजनिक गरेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell