PahiloPost

Mar 28, 2024 | १५ चैत्र २०८०

पुटिन भेट्न चीन हुँदै आफ्नै हरियो रेलमा रुस जाँदै उत्तर कोरियाली नेता किम



पुटिन भेट्न चीन हुँदै आफ्नै हरियो रेलमा रुस जाँदै उत्तर कोरियाली नेता किम
फाइल फोटो: AP

काठमाडौं: उत्तर कोरियाली नेता किम जोङ उनले यसै साता रुसी राष्ट्रपति भ्लादिमिर पुटिनसँगको शिखर वार्ताका लागि रुस जाने तयारी गरेका छन्।

रुसी राष्ट्रपति पुटिनसँगको पहिलो शिखर सम्मेलनका लागि किम रेल यात्रा गरी रुसको सुदुरपूर्वी क्षेत्र भ्लाडीभोस्तोक पुग्न सक्ने दक्षिण कोरियाली समाचार एजेन्सी योन्हापले जनाएको छ।

उत्तर कोरियाले आफ्नो पक्षमा रुसी समर्थन खोज्न प्रयास गरिररहेको छ। किमको भ्रमणको तयारीका लागि उत्तर कोरियाली अधिकारीहरु रुस पुगिसकेका छन्। किमका प्रोटोकल चिफ किम चाङ सोन रुस पुगेका छन्। उनले किम पुग्ने रेल स्टेसनको अवलोकनसमेत गरेका छन्।

किमले यस पटक पनि आफ्नो हरियो रेल प्रयोग गर्ने छन्।

उत्तर कोरियाली नेताहरु प्रायः विदेश यात्राका लागि रेलको प्रयोग गर्छन्। सन् २०११ मा उत्तर कोरियाको सत्तामा आएपछि किमको यो आठौँ विदेश यात्रा हुने छ। उनी चार पटक चीन, दुई पटक दक्षिण कोरिया र एक पटक सिङगापुर र एक पटक भियतनाम पुगेका छन्।

उनले दक्षिण कोरियाको दुबै यात्रा रेलमा गरेका थिए। त्यस्तै चीनको तीन यात्रा रेलमै भएका थिए। पछिल्लोपटक पटक उनी अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पसँगको शिखर वार्ताका लागि रेलबाटै भियतनाम पुगेक थिए। उनी ६० घण्टा लामो रेल यात्रा पुरा गर्दै भियतनामको हानोइ पुगेका थिए

यसपटक पनि किमको रोजाईमा रेल नै परेको छ। उनले स्थलमार्गबाट रुस जाने विकल्प रोजे दुई वटा रुटबाट उनी रुस प्रवेश गर्न सक्ने बताइएको छ। उनले उत्तर कोरियाको उत्तर-पश्चिम शहर रासोनबाट रुस प्रवेश गर्न सक्नेछन्। उनले त्यहाँ उत्तर कोरिया र रुसको सीमावर्ती शहर खासान जोड्ने रेलपुल पार गर्ने सक्ने बताइएको छ।

यो मार्गबाट उनलाई त्यहाँ पुग्न १० घण्टा समय लाग्ने छ।

त्यस्तै दोस्रो विकल्पको रुपमा चिनियाँ भूमि हुँदै रुस जाने मार्ग रहने छ। उनी चीनसँगको सीमावर्ती उत्तरी चिनियाँ शहर तुमेन र हुनचुन हुँदै भ्लाडीभोस्तोक पुग्न सक्ने स्रोतलाई उदृत गर्दै योन्हापले जनाएको छ।

उत्तर कोरियाली दिवंगत नेता तथा हालका नेताका पिता किम जोङ इलले सन् २०११ मा रुसी राष्ट्रपति डिमित्र मेडभेडेभसँगको भेटका लागि यही रुटको प्रयोग गरेका थिए। उनले रेल मार्गको प्रयोग गरी चीन र रुसको समर्थन रहेको देखाउनका लागि यही रुटको प्रयोग गर्न सक्ने स्रोतले जनाएको छ।

'यो एकतिर दुई सिकारको नीति हुनसक्छ। उनले आफ्ना जनता र सम्पूर्ण विश्वलाई चीन र रुसको समर्थन रहेको देखाउन चाहन्छ,' स्रोतले भनेको छ।

रुसी समाचार एजेन्सी तासले आगामी साता भ्लाडिभोस्तोकको एक विश्व विद्यालयमा दुई नेताबीचको सम्मेलन हुन सक्ने जनाएको छ।

यसैबीच किम-पुटिन समिटको पूर्व सन्ध्यामा उत्तर कोरियाका लागि अमेरिकी विशेष दूत मस्को पुगेका छन्। उनले त्यहाँ रुसी अधिकारीसँग कोरियाली आणविक निशस्त्रीकरणको विषयमा छलफल गरेको बताइएको छ।

गत फेब्रुअरी मा भियतनामको हानोइमा भएको किम-ट्रम्प समिटको असफलतासँगै किम रुसी राष्ट्रपति पुटिन भेट्न रुस पुग्न लागेको बताइएको छ।

रुसी राष्ट्रपति पुटिन यही साता चीनको बेइजिङमा आयोजना हुने दोस्रो बिआरई अन्तर्राष्ट्रिय फोरममा सहभागी हुन बेइजिङ आउँदै छन्। उनी बेइजिङ आउने क्रममा भ्लाडिभोस्तोक हुँदै बेइजिङ आउने छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell