PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

बिआरआईमा राष्ट्रपति भण्डारी : कार्बन कम उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै



बिआरआईमा राष्ट्रपति भण्डारी : कार्बन कम उत्सर्जन गर्ने नेपालजस्ता मुलुकले जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै

काठमाडौं:  राष्ट्रपति विद्यादेवी भण्डारीले विश्वमा बढ्दै गएको उत्पादन उपभोगको प्रवृत्तिले वातावरणीय विनासलाई तीब्रता दिएको बताएकी छन्।

चीनको राजधानी बेइजिङमा आयोजित दोस्रो अन्तर्राष्ट्रिय सहकार्यका लागि बेल्ट एण्ड रोड फोरम अन्तर्गत चिनियाँ राष्ट्रपति सि जिङपिङले आज आयोजना गरेको राष्ट्र संघको २०३० एजेण्डा कार्यान्वयनका लागि हरित प्रवर्द्धन र दिगो विकास शीर्षकको उच्च नेताहरुको गोलमेच सम्मेलनमा बोल्दै राष्ट्रपति भण्डारीले जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको बताइन्।

यसको असर नेपाल जस्तो नगन्य मात्रामा कार्वन उत्सर्जन गर्ने मुलुकहरुले भोगिरहेको बताइन्। 'जलवायु परिवर्तनले खतराको घण्टी बजाइरहेको छ। पृथ्वीले धान्नै नसक्ने गरी बढिरहेको उत्पादन र उपभोगको प्रवृत्तिले वातावरणीय विनासलाई तीब्रता दिइरहेको छ, उनले भनिन्, 'दुर्भाग्यवश नगन्य मात्रामा कार्बन उत्सर्जन गर्ने नेपाल जस्ता मुलुकहरुले जलवायु परिवर्तनको अन्यायपूर्ण भार व्यहोर्दै छन्। यसको मुख्य शिकार महिला र विपन्न समुदाय बनिरहेका छन्।'

उनले यसका लागि हरित अर्थतन्त्रको विकास भएको भन्दै वातावरणीय दृष्टिकोणबाट हानिकारक देखिएका विकासका मोडलहरुको पुनरावलोकन गर्ने बेला आएको बताइन्।

उनले प्राचीन सिल्क रोडको दक्षिणी हाँगाले समेटेको नेपाल अहिले बिआरआईमा जोडिएको भन्दै बिआरआईले नेपालको कनेक्टिभिटी बिस्तार र विश्व बजारमा अर्थतन्त्रलाई एकीकरण गर्ने बताइन्।

उनले नेपालको आर्थिक अवसरहरुमा बढोत्तरी गर्दै गरिबी उन्मुलन गर्न, व्यापारलाई गहन तथा बिस्तार गर्न, उद्योगहरुमा क्रान्ति ल्याउन, रोजगारी सिर्जना गर्न तथा जीवनस्तरमा सुधार ल्याउन पनि बिआरआई ठूलो सहयोगी बन्ने अपेक्षा व्यक्त गरिन्।

'बिआरआई गरिबी उन्मुलन, रोजगारी सिर्जना, पूर्वाधार निर्माण र औद्योगिक रुपान्तरणको एक प्रमुख संवाहक बन्दै गएको छ। वित्तीय खाडल बढिरहेको सन्दर्भमा यसले धेरै राष्ट्रहरुलाई २०३० को एजेण्डा कार्यान्वयन गर्न उल्लेख्य सहयोग पुर्याउने छ,' उनले भनिन्।

यसैबीच चिनियाँ राष्ट्रपति सिले सगरमाथाको क्षेत्रमा जलवायु परिवर्तनले पारेको असर प्रति चिन्ता व्यक्त गर्दै यस तर्फ सजग रहेको बताएका थिए। उनले चीन हिमालय वारपार वहुआयामिक सम्पर्क सञ्जाल विस्तार गर्न प्रतिवद्ध रेहको भन्दै यसले नेपाललाई भूपरिवेष्ठित राष्ट्रबाट ल्याण्ड लिंङ्कड राष्ट्रको रुपमा विकास गर्ने बताए।

राष्ट्रपति सिले नेपालले अगाडि सारेको समृद्ध नेपाल सुखी नेपालीको लक्ष्य प्रप्तिका लागि चीनले सहयोग गर्ने प्रतिवद्धता व्यक्त गरेका थिए।

सम्मेलन शनिबार साँझ समापन भएको छ। सम्मेलनमा नेपालसहित ३७ देशका राष्ट्र र सरकार प्रमुख सहभागी भएका थिए।

यसैबीच राष्ट्रपति भण्डारी र सीबीच सोमबार द्विपक्षीय भेटवार्ता हुने कार्यक्रम छ।

यसैबीच सम्मेलनले २८३ वटा प्रयोगात्मक उपलब्धि हासिल गरेको चिनियाँ राष्ट्रपति सिले बताएका छन्। उनले सम्मेलनको महत्त्वका बारेमा सबै सहभागि एकमत रहेको भन्दै सम्मेलन निरन्तर रुपमा आयोजना गरिने शनिबार समापनपछि पत्रकार सम्मेलनमा उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell