PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

बेइजिङमा राष्ट्रपति भण्डारीको राजकीय भ्रमण शुरु: आज चिनियाँ राष्ट्रपतिसँग भेट



बेइजिङमा राष्ट्रपति भण्डारीको राजकीय भ्रमण शुरु: आज चिनियाँ राष्ट्रपतिसँग भेट

काठमाडौं: चीन भ्रमणमा रहेकी राष्ट्रपति विद्यादेवी भण्डारी र चिनियाँ राष्ट्रपति सि जिङपिङबीच आज द्विपक्षीय भेट हुँदै छ।

चीनमा आयोजित बेल्ट एण्ड रोड फोरमको अन्तर्राष्ट्रिय सम्मेलन र अन्तर्राष्ट्रिय बागवानी प्रदर्शनीमा सहभागी हुन बेइजिङ पुगेकी राष्ट्रपति भण्डारीको आजैदेखि राजकीय भ्रमण शुरु भएको छ।

आज राष्ट्रपति विद्यादेवी भण्डारीले त्यहाँका राष्ट्रपति सिसहितका उच्च नेतासँग भेट गर्ने कार्यक्रम तय भएको छ।

यसैबीच राष्ट्रपति भण्डारीले आइतवारमात्र बेइजिङमा ‘विश्व बागवानी एक्स्पो–२०१९’को उद्घाटन समारोहमा सहभागी भइन्। उनले एक्स्पोमा रहेको नेपाली पभेलियन 'लुम्बिनी पिस गार्डेन' उद्घाटन गरेकी छन्।

नेपाल, चीन, भारत सहित ४८ देशका पेभेलियन रहेको एक्स्पोमा नेपालले लुम्बिनी पिस गार्डेन स्थापना गरेको छ।

एक्स्पोका लागि नेपाली इन्जिनियर नरेन्द्र मुलको डिजाइनमा एक हजार वर्गमिटर क्षेत्रफलमा तीन महिना लगाएर लुम्बिनी पिस गार्डेन तयार भएको हो।

छ महिनासम्म चल्ने एक्स्पोको अवधिभर विभिन्न देशले यहाँ आफ्नो नेसनल डे मनाउने छन्। नेपालले पनि आफ्नो नेसनल डे असोज ३ विशेष प्रदर्शनी गर्ने तयारी गरेको छ।

यसैबीच राष्ट्रपति भण्डारी आइतबार साँझ नै नेपाली दूतावास र चीनको कमर्सियल स्टक इन्टरप्राइजेजले आयोजना गरेको व्यवसायिक सम्मेलनमा सहभागी भइन्।

सम्मेलनमा राष्ट्रपति भण्डारीले चिनियाँ लगानी कर्ताहरुलाई नेपालमा लगानी गर्न आग्रह गरेकी छन्। उनले नेपाल सरकारले आर्थिक विकासका लागि 'समृद्ध नेपाल सुखी नेपाली' नारासहित विकासका एजेण्डालाई अगाडि बढाएको भन्दै चिनियाँ लगानीकर्तालाई अवसरको फाइदा उठाउन सुझाब दिइन्।

कार्यक्रममा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवालीले नेपालको जलविद्युत, उत्पादनमुलक उद्योग, सूचना प्रविधि, पर्यटन, सेवामुलक क्षेत्रमा लगानी गरी फाइदा उठाउन आग्रह गरेका थिए। राष्ट्रपति भण्डारीले त्यसअगाडि बेइजिङमा रहेको ह्वाइट प्यागोडाको अवलोकन गरेकी थिइन्। ह्वाइट प्यागोडा १३ औँ शताब्दीमा नेपाली कलाकार अरनिकोले निर्माण गरेका थिए।

यसैबीच राष्ट्रपति भण्डारीले सोमवार बेइजिङको तियानमेनमा रहेको शहीद स्मारकको अवलोकन गरेकी छिन्। त्यहाँ उनले चिनियाँ सहिदहरु प्रति श्रद्धाञ्जली अर्पण गरेकी थिइन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell