काठमाडौं: संसदको बजेट अधिवेशन आजबाट शुरु भएको छ। अधिवेशन शुरु हुन साथ प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेतासमेत रहेका सभापति शेरबहादुर देउवाले सरकारमाथि दर्जन आरोप लगाए।
नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष केपी शर्मा ओली प्रधानमन्त्री भएको १४ महिना बित्दा हेर्न लायकको कुनै काम नगरेको देउवाको आरोप थियो। उनले ओली सरकारले यो अवधिमा जनतालाई निराशै निराशामात्र बाँडेको तर्क गरे।
हावाहुरी पीडितलाई राहत दिलाउन माग गर्दै सरकारमाथि देउवाले यस्तो आरोप लगाए:
१. विकास गर्ने समय थियो। तर सरकारले समय खेर फालेको छ।
२. निर्मालाका हत्यारा पत्ता लगाउन सकेको छैन। हत्यारा किन जोगाइयो। सरकारप्रति आशंका छ।
३. सरकारको उपलब्धि निराशाजनक छ। विगतका सरकारले गरेको आयोजनाहरु उद्घाटन गरेर आफूले गरेको भन्दै प्रचार बाहेक केही गरेको छैन।
४. बुढीगण्डकी परियोजनालाई टेन्डरै नगरी धेरै रकम खेर फालेको छ।
५. विदेशी सहयोगको डिङ हाँक्ने सरकारले विदेशी सहयोग लगानी थोरैमात्र ल्याउन सकेको छ। बैदेशिक व्यापार घाटा बढ्दै गएको छ।
६. वाइडबडीमा अख्तियारले छानविन गरी निष्कर्षमा पुगोस्।
७. बालुवाटारको जग्गा भूमाफियाले कब्जा गरेको हो कि कसले यसमा छानविन होस। सरकारले ढाकछोप गरेको देख्दा सरकार यस्तो दुष्कर्ममा नलागोस्।
८. श्री ३ र श्री ५ ले सबै अधिकार आफैमा केन्द्रित गर्दा विकास निर्माण अवरुद्ध भयो।
९. अहिले प्रधानमन्त्रीले सम्पति शुद्धीकरणलगायतका विभाग आफ्नो नियन्त्रणमा ल्याउनु उचित होइन।
१०. संवैधानिक मूल्यमान्यता विपरीत संवैधानिक परिषद्को निर्णय एक्लौटी गरेको भन्दै शक्तिशाली भएको लाग्ला तर त्यसले समस्या ल्याउनेछ।
११. सरकारको १४ महिना देखाउनेलायक एउटा पनि काम गरेको छैन।
१२. मुलुक अहिले निरासामा भएको छ। यसले समस्या हुनेछ।
प्रमुख प्रतिपक्षीको भूमिका निर्वाह गर्न कांग्रेस तयार रहेको उल्लेख गर्दै देउवाले सबै खाले समस्याको हल वार्ता र सहमतिबाट हुने बताए। सरकारले लोकतन्त्रको उपलब्धि भत्काउने काममा अघि बढे कांग्रेस कडा रुपमा प्रतिवाद गर्ने चेतावनीसमेत देउवाले दिए।