गणतन्त्र, धर्मनिरपेक्षता र संघीयताविरुद्ध मत राख्दै आएको कमल थापा नेतृत्वको राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले फागुन ७ गते प्रधानमन्त्री केपी शर्मा ओलीलाई २२ बुँदे मागपत्र बुझाउँदै आन्दोलनको शुरुवात गर्यो। पहिलो चरणमा राप्रपाले हस्ताक्षर संकलन, धर्नादेखि मेचीमहाकाली स्वाभिमान यात्रा गरिसकेको छ।
दोस्रो चरणका आन्दोलनका कार्यक्रम तय गर्न वरिष्ठ उपाध्यक्ष बुद्धिमान तामाङको नेतृत्वमा जनसंघर्ष परिचालन समिति गठन गरेको राप्रपा सरकारसँग पहिलो चरणको वार्ता गरिसकेको छ। एकातिर संघर्ष र अर्कोतिर वार्ताको टेबलमा रहेको राप्रपाका आगामी संघर्षका कार्यक्रमबारे तामाङसँग पहिलोपोस्टका लागि विधुर ढकाल र नेत्र तामाङले गरेको कुराकानी:
राजतन्त्र स्थापनाको लागि भन्दै संघर्षमा हुनुहुन्छ, कहाँ पुग्यो संघर्ष?
पहिलो चरणको संघर्षको कार्यक्रम सकियो। दोस्रो चरणको संघर्षको कार्यक्रम तय गर्न मेरो नेतृत्वमा केन्द्रीय कमिटीबाट समिति गठन भएको छ। समितिमा तीन वटा महामन्त्री, पार्टीका प्रदेशका प्रमुख सहभागी छन्। यो कमिटीको दुई पटक बैठक बस्यो। हामीले नयाँ आन्दोलनको कार्यक्रम तय गर्न पदाधिकारीहरुसँग छलफल गरेका छौँ। जनवर्गीय संगठन र विभागीय संगठन वाग्मती अञ्चलका जिल्ला तथा नगरका साथीहरुसँग छलफल गरिरहेका छौँ। हाम्रो २२ बुँदे मागहरु पूरा गराउन हामीले संघर्षका कार्यक्रमहरुको तयारी गरिरहेका छौँ।
एकातिर सरकारसँग वार्ता गर्दै हुनुहुन्छ, अर्कोतिर संघर्षको कार्यक्रम तय गर्न छलफल। अलि विरोधाभाष भएन?
त्यस्तो होइन। यो कमिटी सरकारले वार्तामा बोलाउनुभन्दा पहिला नै बनेको हो। सरकारले वार्तामा बोलायो। साथीहरु वार्तामा पनि हुनुहुन्छ। त्यसैले हामीले आन्दोलनका कार्यक्रम तय गर्न केही ढिलो गरेका छौँ। वार्ताबाट हाम्रा माग पूरा नभए हामीले आन्दोलन त गर्नु नै छ। त्यसैको तयारी पनि हो। वार्ताको क्रममा हामीले संगठन पनि गरिरहेका छौँ। वार्ता भइरहेका बेला हामीले आन्दोलन गरेका छैनौँ।
राप्रपा वार्ता र सहमतिमा विश्वास गर्छ। आन्दोलन गरेर हतियार उठाएर समस्याको समाधान हुन्न भन्ने कुरा हाम्रो विगतको कार्यक्रमले देखाएको छ। विगतको १० वर्षे जनयुद्धले पनि देखाइसकेको छ। यी सबैलाई हेर्ने हो भने वार्ता र सहमति नै हाम्रो मुख्य दृष्टिकोण हो। हाम्रो पहिलो प्राथमिकता नै वार्ता हो। वार्ता विफल भयो भने हामीले के गर्ने त आन्दोलन नै हो।
राजतन्त्र र हिन्दु राष्ट्रबाहेक तपाईँका मागहरु चाँहि अरु के के हुन्?
हाम्रा मागहरु तीन वटा विषयमा छन्। हामीले सरकारलाई बुझाएको २२ बुँदे मागमा राजतन्त्र र हिन्दु राष्ट्रकोमात्र कुरा छैन। हामीले सैद्धान्तिक, राष्ट्रिय महत्त्वका र जनजीविकाका सवालहरुसहित तीन किसिमका मागहरु राखेका छौँ। सैद्धान्तिक कुरा गर्दा, अहिले देशमा धर्म निरपेक्षता छ। हामीले धर्म सापेक्षता हुनुपर्यो भनेका छौँ। पहिचानसहतिको पूर्ण धार्मिक स्वतन्त्रतासहितको सनातन हिन्दु राष्ट्र घोषणा हुनुपर्छ। हामीले धर्मलाई पूर्ण स्वतन्त्रता तर, पहिचानमा धार्मिक स्वतन्त्रता हुनुपर्यो भनेका छौँ। संविधानमा धर्मनिरपेक्षता छ।
त्यस्तै देश गणतन्त्र भइसक्यो। संविधानमा गणतन्त्र उल्लेख छ। हामीले राजासहितको लोकतन्त्र भनेका छौँ। त्यसका लागि गोलमेच सम्मेलन गर्नुपर्यो। राजसंस्थालाई नेपालको भूराजनीति, यहाँको बहुजाती बहुभाषी बहुधार्मिक बहुजातिय देश हो। नेपालमा १३० जातजाति छन् १२५ भाषा बोलिन्छ। त्यसकारण राजालाई एउटा एकताको प्रतीकको रुपमा हुन्छ की सांस्कृतिक राजाको रुपमा हुन्छ की चुनाव भन्दा माथि उठेर एउटा संस्था राख्ने र एउटा देशको अभिभावकको रुपमा संस्था राख्नुपर्छ। शासन जनप्रतिनिधिले चलाउने एउटा एकताको प्रतीकको रुपमा राजसंस्था हुनुपर्छ भन्ने हाम्रो पार्टीको दृष्टिकोण हो। त्यसलाई हामीले मात्र भनेर भएन। यसलाई सर्वपक्षीय गोलमेच सम्मेलन गरेर यसलाई टुंग्याउँ। कस्तो किसिमको गर्ने भन्ने हामीलाई यस्तो लाग्यो अरुलाई कस्तो लाग्छ। यो हामीले मात्र गरेर हुने होइन। यसमा अरुलाई के लाग्छ भन्ने पनि हो।
जनताले नचाहेर जनआन्दोलनमार्फत फालिएको संस्थालाई पुन: स्थापना गर्न सम्भव छ त?
राजसंस्था भनेको कहिले जान्छ। कहिले आउँछ। अपर्झट गएको अपर्झट आएको कहिले पनि टिकेको छैन। फ्रान्समा नै हेर्नुस न त्यत्रो क्रान्ति भयो। तर दुई वर्ष टिकेन। त्यसैले एउटा स्थायित्वका लागि चुनावभन्दा माथि उठेर एउटा एकताको प्रतीक होस भन्ने हाम्रो पार्टीको धारणा हो। त्यसलाई हामीले सर्वपक्षीय रुपमा राख्न खोजेको हो।
अर्को कुरा हामीले के बुझ्न जरुरी छ भने जनआन्दोलनको समयमा राजसंस्था फाल्ने हिन्दु राष्ट्र फाल्ने भन्ने नै थिएन। तपाईँले पनि ख्याल गर्नु भएको थियो होला धर्मनिरपेक्षता भन्ने पनि थिएन।
गणतन्त्र नेपाल जिन्दावादको नारा त लागेकै हो नि?
राजसंस्था होइन निरंकुश राजतन्त्र फाल्ने भन्ने थियो। तन्त्र भनेको शासन हो नि त। राजतन्त्रको कुरा होइन निरंकुश राजतन्त्र खारेज हुनुपर्छ भन्ने माग थियो। राजसंस्थाको कुरा नै थिएन। हामीले हिजोकोजस्तो राजा खोजेको होइन नि। एकताको प्रतीकको रुपमा खोजेको हो। चुनावभन्दा माथि हुने गरी। जो कि अहिलेको राष्ट्रपतिभन्दा पनि कम अधिकार भएको वा अधिकार नै नभएको। कस्तो राजसंस्था राख्ने कुरा तपाई हामीले सल्लाह गरेर राखौँ भनेका छौँ। त्यसकारण हामीले सर्वपक्षीय गोलमेच सम्मेलन भनेका छौँ।
हामी दुई ठूलो जनसंख्या भएका देशको बीचमा छौँ। दुबै देशमा भिन्दै दर्शनबाट सञ्चालित शासन व्यवस्था छ। यो बीचमा हाम्रो जस्तो सानो मुलुकलाई भोली थिचोमिचो हुन्छ। उनीहरुले आफ्नो देशको फाइदाका लागि पनि यहाँ प्रभाव जमाउन खोज्छन्। उनीहरुले प्रभाव जमाउन खोज्दा देशमा भएका नेताहरुमा प्रभाव पर्छ। त्यस्तो बेला यो देश कहाँ पुग्ला? भोलि देश सिक्किम हुन के बेर? सिक्किम त छ। तर देश त रहेन नि। नेपाल भन्ने त रहला तर नेपाल भन्ने देश कोल्याप्स हुन सक्छ। हामीले यसलाई पनि मध्यनजर राखेर राजसंस्था चाहिन्छ भनेका हौँ।
नेपालमा हिन्दुको संख्या बढी छ। तर राजसंस्था नचाहने पनि बढी छन्। यस्तोमा दुबै माग एकै पटक पूरा होला त?
संसारमा हिन्दु राष्ट्र भन्ने कहीं छैन। धेरै मुस्लिम राष्ट्रहरु छ। क्रिस्चियन राष्ट्रहरु छ। बौद्ध राष्ट्रहरु दुई वटा छ। नेपाल ८१ प्रतिशत हिन्दु भएको देश। २०६८ को जनगणना अनुसार ९४ प्रतिशत ॐकार परिवार छन्। यो तथ्यलाई हेरेर पहिचानका आधारमा पूर्ण धार्मिक स्वतन्त्रता सहितको हिन्दु राष्ट्र राख्नुपर्छ। यसले हिन्दुहरुलाई गर्व पनि हुने र देशले पहिचान पनि पाउने।
आर्थिक दृष्टिकोणले हेर्नुस् न कुनै पनि क्रिस्चियनहरु एक पटक जेरुसेलम जान चाहन्छन्। भेटिकन सिटीमा जान चाहन्छ। त्यस्तै मुस्लिमहरु हज गर्न मक्का, साउदी अरेबिया जान्छन्। नेपालबाट पनि सरकारले पनि हरेक वर्ष सात सय देखि हजारको बीचमा मुस्लिमहरु हज गर्न पठाउँछ। त्यसको टिकटहरुको व्यवस्था सरकारले गर्छ। संसारमा एक अर्ब आठ करोड हिन्दुहरुको जनसंख्या छ। हिन्दु धर्म विश्वमै तेस्रो स्थानमा छ।
नेपाललाई अहिले दुई वटा नामले चिनिन्छ। एउटा भगवान बुद्धको देश अर्को सगरमाथा। अहिले लुम्बिनीमा जानुस त्यहाँ जापनिज थाइ कोरियन श्रीलंकनवाला त्यतिकै भेट्नुहुन्छ। त्यहाँ नेपाली भन्दा बढी उनीहरु आएका हुन्छन्। नेपाललाई हिन्दु राष्ट्र बनाउने हो भने नेपाल धार्मिक रुपमा अर्को पहिचान पाउँछ। धार्मिक पर्यटन बढ्छ। एउटा सानो संख्यामा बौद्ध मार्गी भएको देशमा पर्यटकहरु आइरहेका छन् भने झन हिन्दु राष्ट्र बनाउँदा पर्यटकहरु बढ्छन्।
नेपालमा कृषि उब्जाउ हुने तराई हो। खेती गर्न छाडिसक्यो। अनाज बाहिरबाट मगाउनुपर्ने स्थिति छ। यो खेती गर्ने जमिन बाँझो रहने खेती नगर्ने अनी आम्दानी के त? एउटा गल्फमा गएर रेमिट्यान्स बाहेक अर्को के छ? पर्यटन नै हो। भोलि रोजगार सिर्जना गर्ने ठाउँ पनि हो। नेताहरुले वेरोजगार हटाउने कुरा मात्र गर्छन्। काम गर्दैनन्। २२ बुँदे भित्रको एउटा माग रोजगार पनि हो। यसको समाधानका लागि पनि हिन्दु राष्ट्रको घोषणा हो।
८१ प्रतिशत हिन्दु भएको देशमा थाहै नपाइ १२ बजे राति २०६३ जेठ ४ गते ढ्याक्का धर्म निरपेक्षता घोषणा गरे। यस्तो गर्दा बहुल हिन्दुहरु पनि चुप लागे। हामीले दुई वटा प्रमुख सैद्धान्तिक मागहरु उठाएका छौँ। हिन्दु राष्ट्र राजतन्त्र। हामीले तत्काल हिन्दु राष्ट्र घोषणा गरि हाल्नुपर्यो। राजसंस्थाको विषयमा छलफल गरौँ। त्यसैले नै हामीले राजसंस्थाका लाथि सर्वपक्षीय गोलमेच सम्मेलन भनेका हौँ।
यो हामीलाई लाग्यो। हाम्रो पार्टीलाई लागेको कुरा राख्न पाउनुपर्यो नी। यो यो कारणले राजसंस्था चाहिन्छ। छलफल गरौँ। हामीले दुई वटा राष्ट्रपति देखिसक्यौँ। हिजो के भयो। अहिले के भइरहेको छ। छलफल गरौँ। हिजोको राष्ट्रपति कांग्रेसबाट भयो। अहिले एमालेबाट। कुनै स्वतन्त्र मान्छे त भएन नि? यसरी गर्दा राष्ट्रपतिको सल्लाहकार को हुन्छ? बुद्धिमान तामाङ त हुँदैन? तिनै एमाले र कांग्रेसका कार्यकर्ताहरु नै हुन्छन्। ती कार्यकर्ताले आफ्नो पार्टी कसरी बलियो हुन्छ। त्यही सल्लाह दिन्छन् नी। यस कारणले पनि देशको लागि सोच्ने चुनाव र राजनीति भन्दा माथि उठेको संस्था चाहिन्छ भनेको हो।
त्यति मात्र होइन, आर्थिक भार पनि बढ्दै जान्छ। उहाँहरु अवकास पाएपछि उहाँहरुको सेवा सुविधा, अवकास प्राप्त अहिले पो दुई वटा मात्र भए। पछि बढ्दै जान्छन्। खर्च पनि बढ्दै जान्छ। राजा त भयो रहन्छन्। राजा मरेपछि अर्को आउँछ सुविधा दिइराख्न परेन नी।
अर्को कुरा हिन्दु राष्ट्र र राजतन्त्र एकै पटक भन्ने छ नि, हिन्दु राष्ट्र त चाहेर होस या नचाहेर हुन्छ नै। हिन्दु राष्ट्र सबैको साझा सवाल हो। हिन्दु राष्ट्र माग्न हाम्रै पार्टीमा लाग्नुपर्छ भन्ने छैन। भोट जता हाल्नुस हिन्दु राष्ट्रका लागि एक ठाउँमा आउनुस भनेको मात्र हो। अहिले हामीले गरेको पहिलो चरणको कार्यक्रममा यो देखियो पनि सबै पार्टीका मान्छे सहभागी भए। केही हदसम्म तपाईँले भने जस्तो पनि छ। नेपाली कांग्रेसभित्र एक तिहाई सदस्यहरु हिन्दु राष्ट्रको पक्षमा छन्। तर उनीहरु राजाको विषयमा बोलेका छैनन्। अब हामीले यो कुरा राख्छौँ। उहाँहरुसँग पनि छलफल हुन्छ।
तपाईँहरुको मागमा सहमत हुनेहरुसँग कार्यगत एकताको तयारी के छ? राजतन्त्र र हिन्दु राष्ट्र बाहेक जनजीविकाका सवालमा तपाईँहरुले उठान गरेका मागहरु साना वाम दलहरुले उठाइरहेका छन्। उनीहरुसँग पनि छलफल हुन्छ?
हाम्रा मागहरुसँग सहमत हुने शक्तिहरु पनि छन्। उनीहरु आफ्नै तरिकाले अगाडि बढिरहेका छन्। अहिले सम्म उनीहरुसँग आधिकारिक रुपमा छलफल भएको छैन। हामी त्यसको लागि तयारी गरिरहेका छौँ। हिन्दु राष्ट्रको पक्षमा रहेका शक्तिहरु पनि यो आन्दोलनमा एक ठाउँमा छैनौँ। राजतन्त्र माग्नेहरु पनि एक ठाउँमा छैनौँ।
सूर्यको अगाडि धेरै ग्रह उपग्रह हुन्छन्। सूर्यले सबैलाई समान ताप दिन्छ। चन्द्रमा मात्र एउटा यस्तो शक्ति छ जसले रिफ्लेक्सन दिन्छ। रातमा उज्यालो दिन्छ। अरुले दिँदैनन्। राप्रपा मात्र एउटा यस्तो शक्ति हो जसले हिन्दु राष्ट्र र राजतन्त्रको रिफ्लेक्सन दिन सक्छ। राप्रपा मात्र एउटा यस्तो शक्ति हो जसले हिन्दु राष्ट्र निर्माण गर्न सक्छ। यसको नेतृत्व गर्न सक्छ। अरुले सक्दैनन्। यसका लागि हामी तयार छौँ।
त्यसको लागि सत्तापक्षसँग पनि हामी कुरा गर्छौँ।
नेतृत्व गर्न सक्ने कुरा गर्नुभयो। चुनावको वर्ष दिन अगाडि तपाईँहरुको पार्टी एकता पनि भयो राप्रपाका विभिन्न शक्तिसँग तर चुनाव अगाडि नै पार्टी फेरि फुट्यो। तपाईँहरुबीच नै मत एक नहुँदा अरुलाई पनि यस एजेण्डामा कसरी नेतृत्व गर्न सक्नुहुन्छ?
पहिला दुई राप्रपा एक हुँदा एकता गर्दा त्यो एकता अभियानको सदस्यसचिव भएर मैले भूमिका खेलेको थिए। त्यो पार्टी एकता हतारोमा मिलाउँदा केही होमवर्कहरु गल्ती भयो। हामीले जबरजस्ती मिलायौँ त्यो बेलामा महाधिवेशन पनि गर्यौँ। तर केही नेताहरुकोबीचमा तुस रहेको थियो। त्यो तुसलाई राम्रोसँग क्लियर गर्न सकेनौँ। जसले गर्दा साना तिना कुरामा पार्टी फूट्यो। चुनावको मुखमा फुटेको हुँदा हाम्रो यो गति भयो। पार्टी चुनावको मुख अगाडि नफुटेको भए यो अवस्था हुने थिएन। फुट्या पार्टी पछि को लाग्छ भन्नुस त? जनताले कहाँ भोट दिन्छ? त्यसकारणले पनि यो पार्टी त मिलिहाल्छ। म पार्टी एकताको पक्षमा लागेको छु। पार्टी एकता गरेरै छाड्छु। र अहिले कोही यता आउने कोही उता जाने पनि भइरहेको छ। मैले यसमा जोड दिएको छैन। उताबाट आउनेलाई पनि मैले नआउनुस पार्टी मिलाउनुपर्छ भन्ने गरेको छु। म राप्रपाको वरिष्ठ उपाध्यक्षको हैसियतले राप्रपा प्राजातन्त्रिकका कुनै कार्यकर्तालाई पार्टी छाडेर यता आउ भनेको छैन। कोही साथीहरु लाग्नुभएको छ। तर म पार्टी एकता गर्ने हो भन्ने पक्षमा छु। सिंगै पार्टी नै ल्याउने हो केही साथीहरु मात्र ल्याउने होइन भन्ने पक्षमा छु। मिल्ने हो भने नाङ्लो पसल किन थाप्ने पसल ठप्पै गर्नुपर्छ। पार्टी एकता गर्नुपर्छ। ढिलो चाँडो पार्टी मिल्छ। अर्को चुनावमा एक भएर आउँछौँ। लेखेर राख्नुस फरक पर्दैन।
हिन्दु राष्ट्रको कुरा गर्दै गर्दा पटक पटक चर्को रुपमा धर्म परिवर्तनको कुरा आउँछ नि?
हिजो पञ्चायतभन्दा पनि अहिले जुन ऐन आएको छ, कडा छ। कुनै पनि होइन। म अहिले बुद्धिस्ट छु। भोलि म मेरो इच्छाले मुसलमान हुन्छु क्रिस्चियन हुन्छु भने पनि पाउँदिन। त्यतिवेला आफ्नो धर्म परिवर्तन गर्ने र गराउँदै दुबै जेल जान्छन्। आफ्नो खुसीले धर्म परिवर्तन गर्छु भन्छ भने गराउँदा फरक पर्दैन। तर आज यसलाई कडा गरिएको छ। एक किसिमले यो मानव अधिकारको उल्लंघन हो। अहिले जुन कानुन बनेको छ त्यो पञ्चायत कालमा पनि थिएन। बहुदल कालमा पनि थिएन्। अहिले थप कडा भयो। हिन्दु राष्ट्र हुँदा पनि थिएन। आज भयो।
हामीले इसाइकरण इसाइकरण भनेर विरोध गरिरँहदा हिन्दु समुदायका लागि त राम्रो होला नी त यो व्यवस्था?
धर्म परिवर्तन कहाँ भइरहेको छ, त्यसलाई बुझ्नुपर्छ। जनजातिहरु, दलितहरुभित्र धर्म परिवर्तन भइरहेको छ। एउटा उदाहरण दिन्छु। धादिङमा मेरै चुनाव क्षेत्रमा रि गाविस अहिले गंगाजमुना गाउँपालिका भएको छ। त्यहाँ अहिले २७ वटा चर्च छ। यो अहिलेको चर्च होइन हिजो बहुदल आउनु भन्दा अगाडिको हो। त्यस्तै खानीवास गाउँपालिकामा ३१-३२ वटा चर्च छ। त्यहाँ कहिले पनि धार्मिक हिंसा भएको छैन। हाम्रो पार्टीको क्षेत्रीय उपाध्यक्ष क्रिस्चियन हुनुहुन्छ। हाम्रो जिल्लाको वरिष्ठ उपाध्यक्ष पनि क्रिस्चियन हो। हाम्रो पार्टीबाट निर्वाचित भएका गाउँपालिका अध्यक्ष क्रिश्चियन हुन्। अस्ति पुतलीसडकमा हाम्रो आन्दोलन हुँदा कुटाइ खाने पनि क्रिश्चियन हुन्। उनीहरु किन हाम्रो पार्टीमा आए त? हिजो हिन्दु राष्ट्र हुँदा जसरी हामी मिलेर बसेका थियौँ धार्मिक द्वन्द्व थिएन। अहिले २०६३ बाट धर्म निरपेक्षता आइपुगेपछि धार्मिक सद्भाव खलबलिन थाल्यो। हिजो मर्दा पर्दा मलामी जानेहरु अहिले जान छाडे। हिन्दु राष्ट्र क्रिश्चियनले किन मागे त? हिन्दु राष्ट्र हुँदा उनीहरु संरक्षित हुन्छन्। उनीहरु सुरक्षित हुनका लागि पनि हिन्दु राष्ट्र चाहिन्छ। अहिले धर्म निरपेक्षता हुँदा जे पनि गर्न पाइन्छ भन्ने भयो।
हामी धर्म परिवर्तनको विरोध गर्छौँ तर कस्तो भने जबरजस्ती लोभ लालच डर धम्की दिएर गराउनु हुँदैन। आफू खुसी परिवर्तन गर्न चाहन्छ भने त्यो उसको अधिकारको कुरा हो। म बुद्ध धर्म मान्छु तर जबरजस्ती धर्म परिवर्तन गराएर बौद्धधर्ममा ल्याउँदिन। धर्म परिवर्तन उसको स्वतन्त्रता हो। तर अहिलेको नियमले उनीहरुको धार्मिक स्वतन्त्रताको हनन् भयो।
तपाईँ बौद्धमार्गी, हिन्दु राष्ट्र ल्याउने भन्दा तपाईँकै समुदायले पनि विरोध गर्दै छन् नि?
म उहाँहरुसँग बहस गर्न चाहन्छु। २०५८ को जनगणनामा १० प्रतिशत बुद्धिष्ट थियौँ। ६८ मा आउँदा ९ प्रतिशतमा झर्यौँ। हिजो हरेक गुम्बाहरुमा सरकारले मर्मत सम्भारका लागि पैसा दिन्थ्यो। हिजो हिमाली लामाहरुलाई देश दर्शन कार्यक्रम भनेर महिनौँ पूर्वपश्चिम घुमाउँथ्यो जसरी अहिले पनि मुस्लिमहरुलाई हज गर्न साउदी अरेबिया पठाउँछौँ त्यस्तै गरी उहाँहरुलाई पनि देशका अन्य संस्कृतिको बारेमा बुझ्न पठाइन्थ्यो। आज धर्म निरपेक्षता भइसकेपछि बौद्ध धर्मावलम्वीलाई के फाइदा भयो त? यो प्रश्न सोध्न चाहन्छु। हामी १० प्रतिशतबाट ९ मा झर्यौँ। एक प्रतिशत जनसंख्या घट्न कि ठूलो महामारी भएर मानिस मर्नुपर्यो। महामारी पनि आएको छैन।
देशको जनसंख्या तीब्र गतिमा बढ्दै छ। तर हामी किन घट्दै गयौँ। हिजो गुम्बा जति होस मर्म सुधारका लागि पाउने रकम आज पाउन छाडेका छौँ। के हामीलाई फाइदा भयो त? यो हामी बौद्धमार्गीले बुझ्न जरुरी छ। यस्तै अवस्था आयो भने हाम्रो जनसंख्या जिरोमा झर्न सक्छ। भगवान गौतम बुद्धको देश भोलि बौद्धमार्गीको संरक्षणका लागि पनि हिन्दु राष्ट्र चाहियो। हिजो हिन्दु राष्ट्र हुँदा हामीले पाउने सुविधा अहिले घट्यो। धर्मनिरपेक्षता भइसकेपछि हाम्रो जनसंख्या घट्यो।
धर्म निरपेक्षता हुँदै गर्दा हाम्रो संस्कृति पनि माँसिँदै गयो। हाम्रो संस्कृति लोप हुँदै गयो। हाम्रो संस्कृति भनेको बुवा हजुर तपाईँ भन्ने हो। हाम्रोमा अंग्रेजीको जस्तो 'ड्याड', 'यु' भन्ने संस्कृति होइन। हामीले खुट्टामा ढोग्ने संस्कृति हो। पितृ देवो भव मातृदेवो भव गुरुदेवो भव हामी यो संस्कारबाट हुर्किएका हौँ। यो विशिष्ट किसिमको संस्कृति हो। हामीले यसलाई पनि मास्यौँ भने हाम्रो पहिचान के त? कुनै पनि देश माथि आक्रमण गर्नु अगाडि त्यहाँको धर्म संस्कृति संस्कारमाथि आक्रमण हुन्छ। अहिले भएको नै यही हो। धर्म निरपेक्षता भनेको धर्म नमान्नु हो सापेक्षता भनेको धर्म मान्नु हो। सबै धर्मको सम्मान र संरक्षण गर्नुपर्छ भन्ने हो। हामीले भनेको हिन्दु सापेक्ष भनेको हो। जहाँ सबै धर्मको संरक्षण हुन्छ। धर्म निरपेक्षता हुँदा सरकार राज्य हाम्रो धर्म संस्कृतिको संरक्षणबाट पछि हट्दै गयो। भोली मन्दिरको पूजा पनि बन्द हुँदै जान्छ।
हाम्रो सरकारले हाम्रो धर्म संस्कृति संरक्षण गर्न लगानी बन्द गर्छ। अर्को तर्फबाट अर्को पक्षको लगानी बढ्दै जान्छ। तपाईँले हेर्नुस न अमेरिकाको बजेट ६ अर्वको बजेट धर्ममै हुन्छ। हामीले हिन्दु धर्म भन्दा हिजो धर्म निरपेक्षता भन्नेहरुको भत्ता आउन सुरु भइसकेको छ। नेपालमा हरेक धर्मलाई सिद्याउँदै जाने खेल हुँदै छ। अहिले मलाई गाली गर्ने जति कोही छैन होला। गाली पनि यस्तो शब्दको हुन्छ कि भन्न नमिल्ने। गाली गर्नेहरु पनि सबै खेतीवालाहरु छन्। म उनीहरुसँग बहस गर्न तयार छु। उहाँहरुले बौद्ध मार्गीहरुलाई धर्म निरपेक्षता भइसकेपछि के फाइदा भयो भनेर देखाउनुस न? म भन्न चाहन्छु।
२६ वर्षमा मन्त्री भइसकेको मान्छे सँधै सत्ताको वरिपरि रहेको मान्छे अहिले सत्ताबाहिर हुनुहुन्छ। संसदमा पनि आवाज कम सुनिन्छ तपाईँहरु कहाँ असफल हुनुभयो?
त्यतिवेला पञ्चायत नै थियो। म पञ्चायतमा लाग्दा सुधारिएको पञ्चायतमा लागेको मान्छे। मैले त्यसमा दूई पटक जितेर आएको मान्छे। ५१ र ५६ मा पनि मैले चुनाव जितेँ। संविधानसभामा चुनाव लडेँ। तर हारेँ। परिस्थिति कस्तो आयो भने नि हाम्रो पार्टी जहिले पनि परिवर्तनको अगेन्स्टमा उभिन पुग्यो। पञ्चायतमा हुँदा पञ्चेहरु भनेर दोष लाग्यो। २०६२-६३ को आन्दोलनमा राप्रपा मुखदर्शक भएर बस्यो। म त्यतिवेला राप्रपामा थिए। राप्रपा नेपालमा थिइनँ। त्यतिवेला राप्रपाले समर्थन पनि गरेन विरोध पनि गरेन। अनि बाटोमा बसेर रमितेलाई कसले भोट दिन्छ। बरु कमल थापा अगेन्स्टमा हुनुहुन्थ्यो। राप्रपाले त्यतिबेला स्ट्यान्ड लिन सकेन। हिजो राप्रपा (पशुपति समसेर नेतृत्वको समूह)मा राजाको कुरा थिएन। मिलेपछि आएको हो। हिजो त्यहाँ हुँदा पनि म राजाकै पक्षमा थिएँ। अल्पमतमै भए पनि।
अहिले दुई तिहाईको कम्युनिस्ट सरकार छ। प्रतिपक्ष कांग्रेसले भनेकै त टेरेको छैन तपाईँका माग सुन्छ त?
हामी वार्ताबाटै समस्याको समाधान हुन्छ भन्नेमा विश्वास राख्छौँ। सरकारले वार्तामा बोलाएको छ। नेपाली जनतालई दु:ख दिने हाम्रो मन हैन। हामी जनतासँग पुगेका छौँ। हामीले पहिचानको कुरा गरेका छौँ। हिन्दु धर्म मान्न राप्रपा नै हुनुपर्छ भन्ने छैन। भोट जहाँ हाले पनि हाल्नुस तर पहिचानको कुरा हो। हिन्दु धर्म ल्याउनुपर्छ।