काठमाडौं: संघीय संसदमा सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि उठेको प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्री केपी शर्मा ओली र प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसबीच घम्साघम्सी भएको छ।
नीति तथा कार्यक्रममाथि उठेको समग्र प्रश्नको जवाफ प्रधानमन्त्रीले दिएपछि प्रतिप्रश्नको समय दिइएको थियो। उक्त अवधिमा सांसदहरुले प्रश्न राखेका थिए।
उक्त प्रश्नको जवाफ दिने क्रममा प्रधानमन्त्रीले शुरु मै आक्रोश, कुण्ठा र निम्छरा अभिव्यक्तिको वास्ता आफूले नगर्ने बताए।
उत्तर दिने क्रमको सुरु गर्दै प्रधानमन्त्री ओलीले भने, ‘सम्मानीय सभामुख महोदय, प्रश्न जिज्ञासाहरुका लागि धन्यवाद। आक्रोस, कुण्ठा र निम्छरा अभिव्यक्तिहरुको वास्ता नगरेर प्रश्नहरुको जवाफ प्रस्तुत गर्छु।’
यति भनेपछि प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद मिनबहादुर विश्वकर्माले नियमापत्ती जनाउन खोजे। तर, उनलाई समय दिइएन। त्यसपछि कांग्रेसका सांसदहरुले उठेर संसदमा विरोध जनाए। बीचबीचमा कांग्रेसका सांसद र प्रधानमन्त्रीबीच बहस पनि भएको थियो।
कांग्रेसले अवरोध जारी राख्दा सभामुखले प्रतिपक्षलाई पेलेर नीति तथा कार्यक्रम पारित गरे।
कांग्रेसको अवरोधकाबीच सरकारको नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ।
शुक्रबार राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा प्रस्तुत गरेको नीति तथा कार्यक्रममाथि परेका ६ वटै संशोधन अस्वीकृत भएको छ।
कांग्रेसको नारावाजीकै बीच नीति तथा कार्यक्रम पारित भएको हो।
आजको संसदमा संशोधन दर्ता कर्ता सांसदले फिर्ता लिने वा नलिने विषयमा जानकारी नगराउँदा समेत सभामुखले संशोधन निर्णयार्थ प्रस्तुत गरेका थिए।
राजपाका सांसद लक्ष्मण लालकर्ण र चन्दा चौधरीले आफ्नो संशोधन प्रस्ताव बारे केही बोलेनन्। उनीहरुले संसद सहज अवस्थामा भए मात्र आफ्नो जवाफ दिने बताएका थिए।
तर, सभामुखले उक्त संशोधन प्रस्ताव निर्णयार्थ प्रस्तुत गरेका थिए।