PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

'मेरो सरकार'को विरोधबारे सरकारका प्रवक्ताको प्रश्न: अब 'मेरो' शब्द डिक्स्नरीबाट निकाल्ने त? जय नेपाल पनि निकाल्नुपर्ने होला



'मेरो सरकार'को विरोधबारे सरकारका प्रवक्ताको प्रश्न: अब 'मेरो' शब्द डिक्स्नरीबाट निकाल्ने त? जय नेपाल पनि निकाल्नुपर्ने होला
फाइल फोटो

काठमाडौं: सरकारको नीति तथा कार्यक्रम संघीय संसदमा पेश गर्ने क्रममा राष्ट्रपति विद्यादेवी भण्डारीले प्रयोग गरेको 'मेरो सरकार' शब्दप्रति कांग्रेसले प्रतिपक्षीको धर्म निभाउन विरोध गरेको सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले टिप्पणी गरेका छन्।

'संसद भनेको राष्ट्रिय इस्यु वा अन्तर्राष्ट्रिय इस्युहरु वा विकासका विषयमा छलफल वादविवाद गरेर सही निर्णय गर्ने थलो हो,'  उनले अगाडि भने, 'सामान्य कुरा भएको छ। केही शब्द शब्दावलीको विषयमा बहस चलेको छ। नीति तथा कार्यक्रम पनि पास भएको छ। पहिला पनि यस्तो छलफल हुन्थ्यो नै। यो यस्तो व्यवस्था हो। सरकारले जतिसुकै राम्रो कुरा ल्याए पनि प्रतिपक्षले समर्थन गर्न मिलेन। विरोध गर्नै पर्छ।'

उनले प्रतिपक्षीसँग सम्बन्ध राम्रो भएको र प्रमुख प्रतिपक्षलाई सम्मान गरेर चासोहरुलाई सम्मान गरेर सरकार अगाडि बढेकोसमेत बताए।

'वादविवाद हुनु सामान्य कुरा हो। अझ धेरै हुँदै जानुपर्छ। केही कमि कमजोरी भएका छन् भने रियलाइज गर्ने कुरा हुन्छ। कस्ता प्रश्न उठाइयो ती कुरा पनि हेर्नुपर्ने हुन्छ। शब्द शब्दमा मात्र हेर्नु हुँदैन। मनसाय पनि हेर्नुपर्छ,' उनले अगाडि भने, 'एउटा शब्दलाई प्रतिपक्षले अलि बढी उठाएको छ। यहाँहरुलाई थाहा नै छ। मेरो सरकारकै कुरा छ। यो सबैको सरकार हो। मेरो पनि हो तपाईँको पनि हो राष्ट्रपतिको पनि हो।'

प्रयोग नै गर्न नमिल्ने भए शब्दकोशबाट हटाउनुपर्ने भन्दै उनले प्रश्न गरे,' प्रयोग नै गर्न मिल्दैन भने शब्दकोशबाट मेरो भन्ने शब्द डिलिट गर्नुपर्‍यो। अब जय नेपाल पनि डिलिट गर्नुपर्ने होला। पुलिसले पनि प्रयोग गर्छ। जय नेपाल आफ्नो सम्बोधनको अन्त्यमा प्रमुख प्रतिपक्षी दलका नेताहरुले पनि प्रयोग गर्दै आएका छन्।'

उनले राजा महेन्द्रले पनि २०१७ सालमा कु गर्दा सम्बोधनको अन्त्यमा जय नेपाल भनेको उल्लेख गर्दै प्रश्न गरे, 'हिजो २०१७ सालमा राजा महेन्द्रले सम्बोधनको अन्त्यमा जय नेपाल पशुपतिनाथले रक्षा गरुन भनेकै थिए। अब नेपाली कांग्रेस उनै महेन्द्रको पक्षपाती हो?'

प्रवक्ता बाँस्कोटाले बीपी कोइरालाले पनि प्रधानमन्त्री हुँदा मेरो सरकार भन्ने गरेको बताए। 'विपी कोइरालाले चीनसँग ठोस प्रस्ताव राख्दा मेरो सरकार भनेर भनेका थिए। सरकार कांग्रेसको थियो कम्युनिस्टको चार सिट थियो। खोइ त कम्युनिस्ट पार्टीले विरोध गरेको हामीले सुनेनौँ,' उनले भने।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell