कोलम्बो: श्रीलंकामा मुस्लिम विरोधी गतिबिधि चर्किएपछि लगाइएको कर्फ्यु आंशिक रुपमा हटाइएको छ। उत्तरपूर्वी क्षेत्रमा भने कर्फ्यु यथावत रहको बताइएको छ।
इसाइ धर्मावलम्बीहरुले तीन साताअघि इस्टर पर्व मनाइरहँदा श्रीलंकामा चर्च र होटलहरुमा आक्रमण भएको थियो। सो आक्रमणमा २५० भन्दा बढी मानिसको मृत्यु भएको थियो भने ५०० जनाभन्दा धेरै घाइते भएका थिए।
आक्रमणको जिम्मा इस्लामिस्क लडाकू संस्था आइएसआइले लिएपछि मुस्लिम समुदायमाथि आक्रमण गर्ने क्रम वृद्धि भएको थियो। प्रदर्शनकारीहरुले मस्जिद र मुसलमानहरुका पसलमा तोडफोड गर्नुका साथै आगो लगाइदिएका थिए। प्रदर्शनकारीहरुको आक्रमणका कारण एक जना मुस्लिमको मृत्यु भएपछि अवस्था निकै तनावपूर्ण बन्दै गएको थियो।
प्रहरीले प्रदर्शनमा उत्रेका र मुस्लिममाथि आक्रमण गर्नेहरु प्रति कडा कारवाही गर्ने जनाएको छ।
श्रीलंकाली सरकारले पनि हालै भएका घटनाहरुका कारण इस्टर नरसंहारको अनुसन्धानमा बाधा पुगेको भन्दै शान्ति कायम गर्न आग्रह गरेको छ।
श्रीलंकामा २२ मिलियन जनसंख्यामा करिब १० प्रतिशत मानिस मुस्लिम रहेको छ। श्रीलंकामा सिन्हाली बौद्ध धर्मावलम्बीहरुको बाहुल्यता रहेको छ।