PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

चितवनका स्थानीय सरकारलाई विकास बजेट सक्नै मुश्किल, गृहमन्त्री थापाले थपे रकमान्तरबाट पौने दुई अर्ब



चितवनका स्थानीय सरकारलाई विकास बजेट सक्नै मुश्किल, गृहमन्त्री थापाले थपे रकमान्तरबाट पौने दुई अर्ब

  • सूर्यप्रकाश कँडेल-

चितवन: सरकारले आगामी आर्थिक वर्ष २०७६/०७७ का लागि बजेट ल्याइसकेको छ। बजेटको कार्यान्वयनमा चुनौती छ भन्ने तथ्य चितवनका स्थानीय सरकारले विकास बजेट शत प्रतिशत खर्च गर्न नसक्नुले पुष्टि गर्छ। चितवनमा रहेका सात वटा स्थानीय सरकार सबैले विकास बजेट पूर्ण रुपमा खर्च गर्न नसक्ने देखिएको छ।

चालु आर्थिक वर्षको कुल बजेट तीन अर्ब ६० करोड ८९ लाख ४४ हजार रुपैयाँमध्ये भरतपुर महानगरले वैशाख मसान्तसम्ममा एक अर्ब ८० करोड ९२ लाख २५ हजार रुपैयाँ खर्च गरेको छ। चालु खर्चतर्फ एक अर्ब ७८ करोड ९४ लाख ९३ हजार रुपैयाँ विनियोजन भएकोमा एक अर्ब आठ करोड ४० लाख ५८ हजार रुपैयाँ खर्च भएको छ।

विकास बजेटतर्फ एक अर्ब ८१ करोड ९४ लाख ९१ हजार रुपैयाँ रहेकोमा वैशाख मसान्तसम्ममा ७२ करोड ५१ लाख ६७ हजार रुपैयाँ मात्र खर्च भएको छ। यो ४० प्रतिशत हाराहारी हुन आउँछ। विकास बजेटतर्फको एक अर्ब नौ करोड रुपैयाँ खर्च हुन बाँकी छ।

कार्यक्रमहरुको बजेट ढिला आउनु, ठेक्का प्रक्रियाको लामो समय र कतिपय स्थानमा प्राविधिक समस्या रहनाले पनि बजेट आशा गरेजस्तो खर्च नभएको भरतपुर महानगर प्रमुख रेनु दाहाल बताउँछिन्। ‘असार मसान्तसम्ममा हाम्रो उच्च प्रगति हासिल हुन्छ’ उनले भनिन्, ‘कतिपय कामको भुक्तानी आर्थिक वर्षको अन्तिममा हुने हुँदा त्यतिखेरमात्रै वास्तविक नतिजा पाउन सकिन्छ।’

भरतपुर महानगरपालिकाका प्रवक्ता एवं १० नम्बर वडाध्यक्ष अरूण पीडित भण्डारी कर्मचारी समायोजनले विकास बजेट खर्च गर्न गाह्रो भएको बताउँछन्। उनी भन्छन्, ‘कर्मचारी अभावका बीच पनि महानगरले चालु आर्थिक वर्षमा ८५ देखि ९० प्रतिशत विकास बजेट खर्च गर्ने लक्ष्य लिएको छ। असार मसान्तसम्ममा यो लक्ष्य प्राप्त हुनेमा आशावादी छौं।’

 

नगर र गाउँपालिकामा पनि उही समस्या

विकास बजेट पूरै खर्च गर्न नसकिएको समस्या चितवनका सबै स्थानीय तहमा पाइएको छ। ती स्थानीय तहले ४० देखि ७५ प्रतिशत विकास खर्च गरेका छन्। आर्थिक वर्ष सकिन डेढ महिना बाँकी रहँदा २५ देखि ६० प्रतिशतसम्म विकास बजेट खर्च गर्नु पर्ने अवस्था देखिन्छ।

रत्ननगर नगरपालिकाको ९१ करोड रुपैयाँ विकास बजेटमध्ये ६० प्रतिशत खर्च भइसकेको नगर प्रमुख नारायण वन बताउँछन्। उनी नगर क्षेत्रमा विकासका कामहरु धमाधम भएको र क्रमिकरुपमा भुक्तानी भएकाले आर्थिक वर्षको अन्त्यसम्ममा राम्रो आर्थिक सूचक देखा पर्नेमा आशावादी छन्।

कालिका नगरपालिका प्रमुख खुमनारायण श्रेष्ठ आफ्नो नगरपालिकामा ५२ करोड रुपैयाँ विकास बजेट रहेकोमध्ये ७५ प्रतिशत खर्च भइसकेको दाबी गर्छन्। सडक, खानेपानीका कामहरु समयमै सक्नको लागि ताकेता गरेको कारण समयमै काम सम्पन्न भएकोले भुक्तानी पनि उच्च देखिएको उनको भनाइ छ।

खैरहनी नगरपालिकाको विकास बजेट ७२ करोड रुपैयाँ रहेको जानकारी दिँदै नगर प्रमुख लालमणि चौधरी त्यसमध्ये ७० प्रतिशत रकम विभिन्न विकासका काममा खर्च भएको बताउँछन्। कतिपय योजनाहरु वर्षको अन्त्यमा सम्पन्न हुने हुँदा त्यतिखेरमात्र वास्तविक नतिजा पाइने प्रमुख चौधरीले बताए। खैरहनी नगरपालिकाले गत वर्ष विकास बजेट ९२ प्रतिशत खर्च गरेको थियो।

राप्ती नगरपालिका प्रमुख प्रभा बरालले चालु आर्थिक वर्षका लागि छुट्याइएको कूल ५१ करोड बजेटमध्ये चालुतर्फ ३८ करोड र विकास बजेट (पूँजीगत) १३ करोड रुपैयाँ रहेको जानकारी दिइन्। विकास बजेटमध्ये हालसम्म ७० प्रतिशत खर्च भइसकेको उनले बताइन्। आर्थिक वर्ष सकिने दिन नजिकिँदै जाँदा विकास बजेटको खर्च बढ्दै गइरहेको उनी बताउँछिन्।

माडी नगरपालिकामा ६८ करोड रुपैयाँ विकास बजेट छुट्याइएको थियो। त्यसमध्ये ७० प्रतिशत रकम खर्च भइसकेको नगर प्रमुख ठाकुरप्रसाद ढकाल बताउँछन्। सडक कालोपत्रेको काम भइरहेको र केही समय पहिला पुल निर्माणको ठेक्का लगाएर पनि निकुञ्जको कारण समयमै काममा लगाउन नपाउँदा विकास बजेट सोचे अनुरुप खर्च हुन नपाएको उनको भनाइ छ।

इच्छाकामना गाउँपालिका प्रमुख गीताकुमारी गुरुङ चालु आर्थिक वर्षका लागि २२ करोड रुपैयाँ बजेट छुट्याइएकोमा अहिलेसम्म ५० प्रतिशतमात्र खर्च भएको बताउँछिन्। कर्मचारी समायोजनको कारण गाउँपालिकामा कर्मचारी अभाव हुँदा प्रभावकारी रुपमा विकासका काम हुन नसकेको उनको भनाइ छ।

 

रकमान्तरबाट पौने दुई अर्ब

गृहमन्त्री रामबहादुर थापा बादलले गृहजिल्ला चितवनप्रति मोह प्रकट गर्दै विभिन्न सात वटा योजनाको लागि एक अर्ब सत्तरी करोड रुपैयाँ बजेट उपलब्ध गराएका छन्।

गृहमन्त्री थापाको निजी सचिवालयले गत फागुन ७ गते शहरी विकास तथा भवन निर्माण मन्त्रालयलाई पत्र (च.नं.२९३) लेखी विभिन्न आयोजनाका लागि रकमान्तर गरी बजेट उपलब्ध गराउन अनुरोध गरेको थियो। पत्रमा उल्लेख भए अनुसार भरतपुर महानगरपालिका तथा रत्ननगर, कालिका र माडी नगरपालिकामा सडक कालोपत्रे र नाला निर्माण गर्नको लागि गृहमन्त्री थापाले रकमान्तर गरी बजेट उपलब्ध गराएका हुन्।

पत्रमा उल्लेख भए अनुसार, भरतपुर महानगरपालिकाको लागि ३० करोड, कालिका नगरपालिकाको लागि ४० करोड, रत्ननगर नगरपालिकाको लागि ३० करोड र माडी नगरपालिकाको लागि २० करोड रुपैयाँ छुट्याइएको छ। यसैगरी भरतपुर–माडी आठ किलोमिटर सडक नालासहित कालोपत्रेका लागि २० करोड, माडी–ठोरी १५ किलोमिटर सडक नालासहित कालोपत्रेका लागि २० करोड र भरतपुर महानगरपालिका वडा नम्बर १० को चित्रसेन मार्गभित्र ढुंगानाचोकदेखि सप्तगण्डकी क्याम्पससम्म सडक कालोपत्रे र नालाको लागि १० करोड रुपैयाँ रकमान्तर भएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell