PahiloPost

May 2, 2024 | २० बैशाख २०८१

भलिबल : आर्मी लगातार चौथो पटक च्याम्पियन, भैरव उत्कृष्ट



गोविन्दराज नेपाल

भलिबल : आर्मी लगातार चौथो पटक च्याम्पियन, भैरव उत्कृष्ट

काठमाडौं : घरेलु कोर्ट अनी दर्शकको साथ पाएपछि त्रिभुवन आर्मी क्लबले लगातार चौथो पटक प्रधानसेनापति पुरुष भलिबलको उपाधि जितेको छ।  सोमवार भएको चौथो संस्करणको फाइनलमा गण्डकी प्रदेशलाई ३-१ को सेटमा पराजित गर्दे आर्मी च्याम्पियन बनेको हो।

लगनखेलस्थित सैनिक शारीरिक तालिम तथा खेलकुद केन्द्रमा भएको फाइनलमा आर्मीले पहिलो सेट हारेपछि त्यसपछि पनुरागमन गर्दै लगातार तीन सेट जितेको हो।

'पहिलो सेटमा रिसिभ र स्पाइकर राम्रो नहुँदा गुमायौँ। दर्शकको अगाडि प्रेसर पनि भयो। तर बाँकी सेटमा खेलाडीले राम्रो प्रदर्शन गरेपछि जित्न सफल भयौँ।' पाँच प्रतियोगितापछि पहिलो पटक उपाधि जितेपछि आर्मीका प्रशिक्षक कपिल किशोर श्रेष्ठले भने। 'हामीले यसअघिका कमजोरीलाईहरुलाई सुधार गर्दै खेल्यौँ।'

आर्मीले पाँच प्रतियोगितापछि पहिलो पटक उपाधि जितेको हो। इटहरीमा भएको सभामुख कप, टाँडी र माडिमा भएको आमन्त्रण भलिबल, आठौं राष्ट्रिय खेलकुद र पाथिभरा कपमा आर्मीले उपाधि जित्न सकेको थिएन।

उता लगातार दोस्रो पटक फाइनल खेलपनि गण्डकीले भने उपविजेतामै चित्त बुझायो। सेमिफाइनलमा विभागीय टोली एपीएफलाई पराजित गरेको गण्डकीले फाइनलमा भने आर्मी विरुद्ध एकनासको प्रदर्शन गर्न नसक्दा उपाधि जित्ने धोको अधुरै रह्यो।

'समग्रमा प्रतियोगिता राम्रो भयो। तर विभागीय टोलीको जस्तो हाम्रो ट्रेनिङ र नियिमत तयारी हुँदैन।' गण्डकीका प्रशिक्षक राज कुमार गुरुङले भने।

पहिलो सेटमा गण्डकीले उत्कृष्ट प्रदर्शन गर्द २५-१६ ले सहजै जितेको थियो। ३-० को अग्रता बनाउँदै सेटको सुरुवात गरेको गण्डकीले ९-३, ७-१४, २१-१२ को अग्रता बनाउँदै जितेको हो।

तर दोस्रो सेटमा भने गण्डकीले खराब प्रदर्शन गर्‍यो। आर्मी विरुद्ध ६-४ को अग्रता बनाएपनि सम्हालिन नसक्दा आर्मीले लगातार ११ अंक जोडेर १५-६ को अग्रता बनायो। त्यसपछि भने गण्डकी खेलमा फर्कन सकेन। गण्डकीले २ अंक मात्र थप्दा आर्मीले २१ अंक जोडेर सेट २५-८ ले सहजै जित्दै खेल बराबरी गर्‍यो।

तेस्रो सेटमा भने आर्मीले सुरुवातदेखि नै दबाब बनायो। सुरमै ७-२ को अग्रता बनाएको आर्मीले १२-६, २०-९ को अग्रता बनाउँदै सेट २५-१० ले सहजै जित्यो र २-१ को अग्रता बनायो।

एक सेटले पछि परेपनि गण्डकीले चौथो सेटमा गतिलो सुरुवात गर्दै ४-० को अग्रता बनायो। गण्डकीले ७-१, ९-५ को अग्रता बनाएपनि आर्मीले ९-९ मा बराबरी गर्‍यो। त्यसपछि भने आर्मीले खेलमा अग्रता बनायो। आर्मीले १४-१०, १९-१४, २३-१५ को अग्रता बनाउँदै खेल जित्यो।

फाइनलमा आर्मीका धन बहादुर भट्ट क्षेत्रीले सर्वाधिक १६ र मान बहादुर श्रेष्ठले १५ अंक स्कोर गरे। यस्तै गण्डकीका कप्तान सन्जु विक्रम शाहले टिमका लागि सर्वाधिक १५ अंक स्कोर गरे।

च्याम्पियन आर्मीले उपाधिसंगै नगद ३ लाख प्राप्त गर्दा उपविजेता बनेको गण्डकीले १ लाख ५० हजार प्राप्त गर्‍यो। अर्को विभागीय क्लब नेपाल पुलिस क्लब तेस्रो भयो। तेस्रो स्थानको लागि भएको खलमा एपीएफलाई पराजित गरेको पुलिसले ७५ हजार पायो।

नेपाली सेनाले आयोजना गरेको प्रतियोगितामा ३ विभागीय र ७ प्रदेशको टिमले प्रतिस्पर्धा गरेको थियो।

 

भैरवले पाए मोटरसाइकल, विधागतमा आर्मीकै वर्चस्व

आर्मीलाई च्याम्पियन बनाउन महत्वपूर्ण भूमिका निर्वाह गरेका भैरव बाम प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी घोषित भए। उनले एक थान पल्सर मोटरसाइकल हात पारे। उनलाई प्रतियोगिताको मुख्य प्रायोजक हंसराज हुलासचन्द बजाजकी सहायक निर्देशक पुनम सिंहले मोटरसाइकलको चावी हस्तान्तरण गरिन्।

यसैगरी व्यक्तिगत विधातर्फपनि आर्मीकै खेलाडीको वर्चस्व रह्यो। आर्मीका लिब्रो इश्वर थापा उत्कृष्ट ब्लकर, दुर्गा प्रसाद महतो उत्कृष्ट सेटर र हरि अधिकारी उत्कृष्ट ब्लकर घोषित भए। च्याम्पिन टिमका कपिल किशोर श्रेष्ठ उत्कृष्ट प्रशिक्षक चुनिए। गण्डकीका याम क्षेत्री उत्कृष्ट स्पाइकर र पुलिसका कुल बहादुर थापा उत्कृष्ट सर्भर घोषित भए। विधागत उत्कृष्टले १०-१० हजार रुपैयाँ हात पारे।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell