PahiloPost

May 8, 2024 | २६ बैशाख २०८१

गुठी विधेयकको विरोध गर्दै प्रदेश ३ का सांसदले भने, 'जग्गा किन्न दलाल खोज्नै पर्दैन, संघीय सरकारको कार्यालयमा गए पुग्छ'  



गुठी विधेयकको विरोध गर्दै प्रदेश ३ का सांसदले भने, 'जग्गा किन्न दलाल खोज्नै पर्दैन, संघीय सरकारको कार्यालयमा गए पुग्छ'  

काठमाडौंं:  बिहिवार बेलुकी करिब साढे ४ बजे। सिंहदरबारमा नेपाल सरकारका प्रवक्ता गोकुल बास्कोटा मन्त्रिपरिषदका निर्णयहरु सुनाउँदै थिए। त्यही बेला पाटनको मंगलबजारमा मानिसहरुको उपस्थिति बाक्लिँदै थियो। त्यही भींडमा गायक योगेश्वर अमात्य प्रहरीहरुलाई फूल वितरण गर्दै थिए। फूल वितरण गर्नु सांकेतिक विरोध थियो। अमात्यसँगै हजारौं मानिसहरु सरकारले ल्याएको गुठी विधेयकविरुद्ध विरोध सभामा सहभागी हुन त्यहाँ पुगेका थिए।

यता, प्रवक्ता बाँस्कोटाले त्यही गुठी विधेयकलाई सामन्तवादको अवशेषको रुपमा व्याख्या गर्दै थिए। उनले गुठी प्रथालाई हलिया, कमलरीसँग जोड्दै ती प्रथाहरुले सामन्तवादको आर्थिक र राजनीतिक चरित्रको प्रतिनिधित्व गर्ने बताए।

उनले थपे, 'किसानका भूमिसँगको समस्या समाधान गर्ने कि नगर्ने?, भूमिहीन किसानको समस्या समाधान गर्ने कि नगर्ने?'

सरकारका प्रवक्ताको रुखो बोलीको चर्चा पहिला नभएको होइन। तर लिच्छवीकालदेखि सुरु भएको सामुहिक सहयोग र एकतामा आधारित गुठी प्रथालाई सामान्तीको रुपमा व्याख्या गरेपछि सरोकारवालाहरुले बाँस्कोटाको अभिव्यक्तिको विरोध गरेका छन्।   

राष्ट्रिय पहिचान संरक्षण संघर्ष समिति लगायतका संघसंस्थाले संचारमन्त्रीको अभिव्यक्तिको विरोध गरेका छन्। गुठीयारहरुले मन्त्रीको अभिव्यक्तिका कारण आन्दोलन थप चर्कने चेतावनी दिएका छन्।

यता, आज बसेको प्रदेश ३ संसद बैठकमा सांसद विराजभक्त श्रेष्ठले गुठी सम्बन्धी विधेयक जातीय र धार्मिक मात्रै नभएको भन्दै राष्ट्रिय पहिचानसँग जोडिएको विषय भएको बताए। उनले संचार मन्त्रीको बिहिवार दिएको अभिव्यक्ति प्रति आपत्ती जनाउँदै भूमि व्यवस्था मन्त्री र गृहमन्त्रीको अभिव्यक्तिको पनि आलोचना गरे।

प्रदेश संसदमा बोल्दै श्रेष्ठले संघ सरकार होली वाइनमा रमेर नेपालको संस्कृति परम्परा मास्न केन्द्रित भएको आरोप लागएका छन्।

गुठी विधेयक राजनीति र नीतिगत रुपमा भ्रष्टाचार गर्न ल्याइएको भन्दै उनले भने,'अहिले बजारमा एउटा हल्ला छ, अब जग्गा जमिन किन्न जानुपर्‍यो भने दलाल खोज्नै पर्दैन। संघीय सरकारको कार्यालयमा गएपुग्छ। गुठी विधेयक त्यसरी आएको छ।'

भ्रष्टाचारी र भूमाफियाहरुले बन्द कोठामा बसेर ल्याएको गुठी विधेयक र सरकारको प्रवक्ताले दिएको अभिव्यक्तिले हिंसालाई भड्काउने भन्दै उनले आन्दोलनका क्रममा तलमाथि केही भए संघ सरकार आफै जिम्मेवार हुनुपर्ने चेतावनीसमेत दिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell