PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

गुठी विधेयकको विरोधमा क्षेत्रपाटी र बुंगमतीमा मसाल जुलुस, 'प्रधानमन्त्रीले आन्दोलनको मर्म बुझेनन्'

गुठी विधेयकको विरोधमा क्षेत्रपाटी र बुंगमतीमा मसाल जुलुस, 'प्रधानमन्त्रीले आन्दोलनको मर्म बुझेनन्'


काठमाडौं: सरकारले राष्ट्रियसभामा ल्याएको गुठी विधेयक फिर्ता लिने निर्णय गरेपनि नेवार समुदायले बुधवारको आन्दोलन फिर्ता नलिने घोषणा गरेका छन्।

गुठी विधेयक प्रतिरोध संयुक्त कार्यक्रमका संयोजक डा. महेशमान श्रेष्ठले जारी गरेको प्रेस विज्ञप्तीमा विधेयकमा त्रुटि रहेको विषयमा सरकारले केही नबोलेको र उल्टै आन्दोलनकारीहरुलाई भ्रम फैलाउन खोजेको आरोप लगाएको उल्लेख गरिएको छ।

प्रधानमन्त्री कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा प्रधानमन्त्री केपी शर्मा ओलीले 'भ्रमपूर्ण वातावरण सिर्जना गर्दै लोकतन्त्र विरुद्ध लडेका शक्तिहरुले विधेयकको विरुद्ध आन्दोलन गरिरहेको' प्रतिक्रिया दिएका थिए।

प्रधानमन्त्रीले पत्रकार सम्मेलनमा प्रयोग गरेका शब्दहरुले नेवा: आन्दोलनको अपमान गरेको राष्ट्रिय पहिचान संरक्षण संयुक्त संघर्ष समितिका सदस्य याद्धवलाल कायस्थाले बताए। उनले प्रश्न गरे, ' सरकारले भ्रम फैलाएको, उत्तेजित गरेको भनेर कसलाई भन्न खोजेको हो? प्रधानमन्त्रीले आन्दोलनको मर्म बुझेनन्। सरकारले विधेयक फिर्ता मात्रै ल्याएको हो। खारेज गरेको होइन। सरकारले फेरि त्यही विधेयक ल्याउन सक्छ नि।'

सरकारले विज्ञप्ती मार्फत भ्रम फैलाउन खोजेको भन्दै त्यसैको विरोध स्वरुप संघर्ष समितिको आह्वानमा आज असन, इन्द्रचोक, क्षेत्रपाटीमा मसाल जुलुस निकालिएको थियो।

यस्तै, नेवा: राष्ट्रिय मुक्ती मोर्चाले पनि आज बुंगमती र खोकनामा मसाल जुलुस निकाल्यो।

नेवा: राष्ट्रिय मोर्चा काठमाडौं जिल्ला अध्यक्ष नमस्ते सायमिले नेवारहरुको हक अधिकार सुनिश्चित गर्न नेवा: स्वायत्त राज्यको स्थापना नभएसम्म आन्दोलन जारी रहने बताए। आजै बालाजुमा पनि गुठी विधेयकको विरोधमा विरोध सभा आयोजना गरिएको थियो। सहभागीहरुले सरकारलाई गुठी विधेयक खारेज गर्दै सरोकालवालाहरुसँग वार्तामा बस्न आग्रह गरेका थिए।



ट्रेन्डिङ पोस्ट

Ncell