वासिङ्टन: अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमाथि आक्रमण गर्न अमेरिकी सेनालाई दिएको स्वीकृति फिर्ता लिएको द न्यूयोर्क टाइम्सले उल्लेख गरेको छ।
इरान र अमेरिकाबीच तनावपूर्ण अवस्था सिर्जना हुँदै गर्दा बिहिवार इरानको 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' ले अमेरिकको एक ड्रोन विमानलाई खसालेपछि ट्रम्पले इरानमाथि आक्रमण गर्न अनुमति दिएका थिए।
ट्रम्पको स्वीकृतिपछि लडाकू विमान र युद्धपोतहरुलाई तयारी अवस्थामा राखिएको थियो। तर, इरानलाई लक्षित गर्दै अहिले नै मिसाइल प्रहार भने नगरिएको द गार्डियनले उल्लेख गरेको छ। शुक्रवार बिहानै मिसाइल प्रहार गर्ने पूर्व निर्धारित योजना रहेको अमेरिकी संचारमाध्यमले जनाएको थियो।
आक्रमण गर्ने निर्णयबाट ट्रम्पपछि हट्नुको कारण बारेमा भने केही बताइएको छैन।
बिहिवार गार्ड कर्पले बिना अनुमति अमेरिकी ड्रोन इरानी आकाशमा प्रवेश गरेकोले त्यसमाथि प्रहार गरेको दाबी गरेको थियो भने अमेरिकाले भने ड्रोन इरानी आकाशमा नभइ अन्तर्राष्ट्रिय आकाशमा उडिरहेको बताएको थियो।
ट्रम्पले आफ्नो आदेश फिर्ता लिएपनि मध्यपूर्वमा युद्धको खतरा भने कायमै रहेको छ। मंगलवारमात्रै अमेरिकाले मध्यपूर्वीमा सुरक्षा खतरा बढेको भन्दै त्यस क्षेत्रमा थप एक हजार सेना तैनाथ गर्ने घोषणा गरेको थियो। यस्तै, अमेरिकाले केही साताअघि मध्यपूर्वमा ठूलो संख्यामा युद्धपोत र मिसाइलहरु तैनाथ गरेको बताएको थियो।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको थियो।
आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो।
'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानलेसमेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।
इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।
सिरिया, अफगानिस्तान, इराक,यमन र मध्यपूर्वी क्षेत्रहरुमा अमेरिकी सेनाको उपस्थितिले त्यहाँ अझै युद्धको अवस्था सिर्जना भएको इरानले आरोप लगाउँदै आएको छ।