काठमाडौं: संसदको शुन्य समयमा आज नेपाली कांग्रेसका सांसद उमाकान्त चौधरीले सरकार असफल भएको आरोप लगाउँदै प्रधानमन्त्री केपी शर्मा ओलीले हावादारी कुरा गर्दै हिँडेको दाबी गरे।
संसदमा उनले प्रधानमन्त्रीको नाम झुट्प्रसाद ओली राख्दासमेत फरक नपर्ने दाबी गरे। भने, 'सरकार हरेक काममा असफल भइरहेको छ। काण्डैकाण्डमा फसेको छ। जथाभावी कर बढाएर उहाँ करप्रसाद ओली बन्नु भएको छ। उहाँले झुटको खेती गरेकोले उहाँको नाम झुटप्रसाद ओली उपनाम राख्दा केही फरक पर्दैन। सरकारका मन्त्रीहरु पनि हावादारी गफ गर्दै हिँडेका छन्।'
उनको धारणा सकेपछि सत्तापक्षका सांसद झापटबहादुर रावलले आफ्नो भनाई राख्न खोजेका थिए। तर, सभामुख कृष्णबहादुर महराले राष्ट्रिय जनता पार्टीका सांसद चन्दा चौधरीलाई बोल्न अनुमति दिए। चौधरीपछि प्रदीप यादवले आफ्नो धारणा राखे। नेमकिपाका सांसद प्रेम सुवालले धारणा राखेलगत्तै सभामुख महराले रावललाई पालो दिए।
पालो पाउनसाथ सांसद रावलले प्रधानमन्त्री केपी शर्मा ओलीको नाम बिगारेको भन्दै आपत्ति जनाए। उनले नेपाली जनताको प्रतिनिधिले सभ्य भाषा बोल्न नसकेको उनको आरोप लगाए।
उनको प्रश्न थियो, 'हामीले यस्तो बोल्दा जनताले के सिक्ने? सम्माननीय प्रधानमन्त्रीको नाम बङ्ग्याएर करप्रसाद झुटप्रसाद राख्नुभयो। प्रतिपक्षी दलको नेताको जो आदरणीय हुनुहुन्छ।पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाको सट्टा हामीले छेरबहादुर भन्न बाध्य भए के हुन्छ?'
रावलले उक्त भनाई रेकर्डबाट हटाउनसमेत माग गरे। भने, 'यहाँ प्रयोग हुने भाषा सभ्य हुनुपर्छ। असभ्य भाषा रेकर्डबाट हटाउन माग गर्दछु।'
सभामुख महराले यो विषय गम्भीर भएको भन्दै पछि निर्णय गर्ने बताएका छन्।