कैलाली: नेपाल कम्युनिष्ट पार्टी (ने क पा) का सुदूरपश्चिम प्रदेश इन्चार्ज भीमबहादुर रावलले सरकारको कामको समीक्षा गर्ने बेला भएको बताएका छन्।
कैलालीमा पत्रकार भेटघाट कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन्। उनले सरकार परिवर्तन र मन्त्रिपरिषद् हेरफेरको विषय सरकारको भएको भन्दै यस विषयमा पार्टीभित्र छलफल भएपछि मात्र टुंगो लाग्ने बताए।
'मन्त्रीहरुको हेरफेरको विषय सरकारको हो। यस विषयमा मलाई जानकारी छैन। मैले पनि मिडियामा आएको सुनेको छु,' पत्रकारहरुको जिज्ञासामा उनले भने, 'हो सरकारको समीक्षा गर्ने बेला भएको छ। यस विषयमा सरकारले सोचिरहेको होला। मन्त्रीको हेरफेरको विषयमा तथा सरकारको काम कारवाहीको समीक्षा पार्टीभित्र भएपछि मात्र टुंगो लाग्ला।'
उनले ने क पा संसदमा दुई तिहाई सदस्यसहित रहेको र काम गर्न सक्छु भन्नेहरु पनि भएको बताए। 'हाम्रो पार्टी दुई तिहाईसहित संसदमा छ। केही गर्न सक्छौँ भन्ने साथीहरु हुनुहुन्छ। अहिले सरकारमा भएका साथीहरु पनि केही गर्न सक्छु नै भन्ने हुनुहुन्छ,' नेता रावलले भने, 'अब यस विषयमा पार्टीभित्र छलफल हुनुपर्छ। त्यसपछि मात्र भन्न मिल्छ।'
उनले प्रदेश सरकारको पनि समीक्षा हुन संकेत गरे। पार्टीको सम्बन्धित निकायमा मन्त्रालयगत रूपमा सरकारका समग्र कामको मूल्याङ्कन र समीक्षा गरेपछि मात्र मन्त्रिमण्डल फेरबदल गर्ने-नगर्ने बारेमा भन्न सकिने बताए।
'पार्टीका सम्बन्धित निकायमा सरकारका काम कारवाहीको गतिविधिको गहन ढंगले समीक्षा गरियो भने मन्त्रालयगत रुपमा के कति काम भयो भन्ने समीक्षा भयो भने। तथ्यगत समीक्षा आएपछि सरकार परिवर्तनपछि केही सोच्न सकिन्छ,' उनले भने।
नेकपाको जिल्ला कमिटिहरुको सपथ ग्रहण गराउन जेठ २५ गतेदेखि प्रदेशमा रहेका नेता रावलले अछाम जिल्लाका आठ वटा स्थानमा जनसभालाई सम्बोधन गरेका थिए।
उनले जिल्ला कमिटिमा वरियताका आधारमा छुटेका व्यक्तिलाई जिल्लाको सिफारिसका आधारमा कमिटिमा ल्याउन सकिने बताए।