काठमाडौं: सरकारले झुटो विवरण पेश गरी नागरिकता बनाउने पाँच जनाको नागरिकता रद्द गर्ने निर्णय गरेको छ। जिल्ला प्रशासन कार्यालय सप्तरी धनुषा र रौतहटबाट झुटो विवरण पेश गरी नागरिकता लिने भारतीय नागरिकहरुलाई कारवाही गर्ने निर्णयसमेत गरेको छ।
यसरी कारवाहीमा पर्नेमा सप्तरी जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिक जीवनकुमार सिंह, धनुषा जिप्रकाबाट नागरिकता लिने भारतीय नागरिकहरु धर्मेन्द्र ठाकुर र अजयकुमार ठाकुर तथा रौतहट जिप्रकाबाट नागरिकता लिने जमुना राउत भनी चिनिने यमुना सिंह र कृपाली राउत भनिने कृपाली सिंहलाई कारवाही गर्ने निर्णय गरेको हो।
नागरिकता ऐन अनुसार कुनै विदेशीले नेपाली नागरिक भएको दाबी गरी झुठो विवरण दिई नेपाली नागरिकता प्राप्त गरेमा एक वर्षदेखि पाँच वर्षसम्म कैद वा पचास हजार रुपैयाँदेखि एक लाख रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ। झुठो विवरण दिई नागरिकता प्राप्त गरे बापत यस उपदफा बमोजिम सजाय भएमा त्यसरी प्राप्त गरेको नागरिकता स्वतः रद्द हुनेछ।
त्यस्तै कुनै विदेशीलाई झुठो विवरणका आधारमा नागरिकता दिलाउने कार्यमा सनाखत वा सिफारिस गर्ने व्यक्तिलाई छ महिनादेखि तीन वर्षसम्म कैद वा पच्चीस हजारदेखि पचास हजार रुपैयाँसम्म जरिबाना वा दुवै सजाय हुने व्यवस्था छ।