PahiloPost

Jul 18, 2019 | २ साउन २०७६


बालबालिकालाई कस्तो व्यवहार गर्ने? यस्ता छन् अभिभावकका लागि ३१ टिप्स्


बालबालिकालाई कस्तो व्यवहार गर्ने? यस्ता छन् अभिभावकका लागि ३१ टिप्स्
फाइल फोटो

  • शुभराज पोखरेल-

हरेक अभिभावकको सपना आफ्ना बालबालिका समजका सबै भन्दा असल, दक्ष र सबैको अगाडि गर्व गर्न लायक हुन् भन्ने हुन्छ। सोही सपना पुरा गराउन सम्पूर्ण शक्ति लगाएर बालबालिकाको चहाना र आवश्यता पूरा गर्न सधैं तत्पर रहनुलाई बुबा आमा आफ्नो प्रथम दायित्व सम्झेर लागिरहेका हुन्छन्। अभिभावक हरेक बालबालिकाको उमेरअनुसार शारीरिक, मानसिक, बौद्धिक, भावनात्मक क्षमताको पहिचान गरी उनीहरुको क्षमताको आधारमा स्वतन्त्रताका साथ विकास गराउन हरदम लागि पर्दछन्। भनिन्छ, हरेक बुबा आमाका लागि आफ्ना बालबालिका अरुभन्दा राम्रा र असल हुन्छन्, त्यसैले त बुबाआमा आफ्ना छोराछोरीको प्रशंसा गर्न कहिल्यै चुक्दैनन्।

बालबालिकालाई प्राकृतिक रुपमा शारीरिक, मानसिक, बौद्धिक भावनात्मकलगायत समग्र विकास गराउने वातावरण निर्माण गरी उनिहरुलाई सामाजिक व्यक्ति बन्न सहयोग गर्नु नै अभिभावकको मूल दायित्व हो। यसो गरिरहँदा आमा बुबाले आफ्नो सोचाईलाई बालबालिका माथि थोपारीरहेका हुँदैनन्। जसले उनीहरुलाई जीवनभर अनुसाशित र जिम्मेवारीका साथ समाजमा सफल व्यक्तिको रुपमा स्थापित भई बाँच्न सक्षम बन्ने ज्ञान र सीपको विकास भईरहेको हुन्छ।

बालबालिकाको नाम, राष्ट्रियता, पोषण, स्वास्थ्य, शिक्षा, संरक्षण र सबैखाले भेदभावरहित ढंगबाट विकास गरी उनीहरुलाई सामाजिक व्यक्तित्वको रुपमा विकास हुने अवसर पाउनु नै समग्र विकासको आधार हो। बालबालिकाको विकास र संरक्षणको दायित्व पूरा गरिरहँदा उनीहरु हरेकको व्यक्ति शारीरिक बौद्धिक क्षमतामा फरक हुन्छन्, बौद्धिक तथा शारीरिक अपांगता, अटिजम, डाउन सिन्ड्रोम, तथा दीर्घ रोग भएका फरक फरक अवस्थाका हुन भन्ने पक्षलाई मनन गरी आवश्यकताको आधारमा सकारात्मक विभेदका साथ उपयुक्त वातावरण दिनु अभिभावकको महत्वपूर्ण दायित्व हो।

विडम्वना हाम्रो हुर्काई, सामाजिक परिवेश, पितृसतात्मक सोच, सामाजिक संस्कृतिक मान्यता, व्यक्तिगत स्वार्थ आदिले सन्तानमा भेदभावरहित सिद्धान्तको उल्टो हामी छोरीलाई गर्भ देखि नै विभेद गर्ने मानसिक्ताबाट ग्रसित छौ। यसै गरी शारीरिक तथा बौद्धिक रुपमा अपाङ्गता भएकाहरुलाई गर्नुपर्ने विशेष संरक्षण र सेवाको उल्टो उनीहरुलाई तिरस्कार अपहेलना साथै पूनर्जन्मको पाप भन्दै उनीहरुलाई थप पीडित बनाउन पछि पर्दैनौं। यी र यस्ता कार्य हाम्रा हानिकारक परम्परा र यसबाट विकास भएको सोचको उपज हो यसलाई क्रमश: सुधार गर्दै बालबालिकाको क्षमता अनुसारको विकासको लागि वातावरण तयार गर्नु र आफ्नो सपना बलजस्ती बालबालिकामा नथोपार्ने सोचको विकासमा लाग्नु नै सहि अर्थमा बालबालिकालाई माया गर्नु हो, विकासको अवसर दिनु हो।

जिम्मेवार र असल अभिभावको पहिलो पहिचान भनेकै बालबालिकाको क्षताको पहिचान बालबालिकाको सोही अवस्थालाई स्विकार गर्नु र गरी सोही क्षमताको विकासमा साझेदार बन्नु हो। उनीहरुलाई आफू सुरक्षित छु भन्ने महँसुश गराउँदै स्वतन्त्रताका साथ राम्रो वातावरण र विकासको अवसर दिनु हो।

 

अभिभावकका लागि महत्वपूर्ण टिप्स

  • प्रशंसा गर्ने उपयुक्त तरिका र समयको पहिचान गर्नुस्। उचित प्रशंसा गर्नुस् “तिमी असल छौं,  तिमी सक्षम छौं।” प्रशंसाले उनीहरुमा आत्मविश्वास र अरुलाई आदर गर्न सिकाउँछ। उनीहरुलाई कसैसँग कुरा गर्दा ध्यान दिएर सुन्न प्रेरित गर्नुस र तपाई पनि उनीहरुको कुरालाई ध्यान दिएर सुन्नुस् र उनीहरुलाई आफ्ना भनाई राख्न थप उत्साह मिल्नेछ।
  • राम्रो काममा ध्यान दिई प्रोत्साहित गर्नुस्। उनीहरुले गरेका राम्रा काम व्यवहारमा ध्यान दिनुस्। उनीहरुलाई अझ राम्रो गर्न प्रोत्साहित गर्नुस्। यसले उनीहरुले राम्रो गरिरहेको र यसमा साथ पाएको महसुस गर्ने छन्। राम्रा काम र व्यवहारबारे सबैसँग चर्चा गुर्नस् जसले गर्दा सबैबाट प्रोत्साहित  हुनेछन्। थप राम्रो  गर्न सक्छु भन्ने आँट बढ्नुका साथै सबैमा सकारात्मक सन्देश प्रवाह हुनेछ यसले उनीहरुमा आत्मविश्वास बढ्ने छ।
  • बालबालिकाको अवस्था, स्वर, शारीरिक हाउभाउ, अनुहारको रंग बसाई आदिलाई ख्याल गर्नुस्, उनीहरु सहज र खुसी, प्रफुल्लित भएको बेलामामात्र सम्झाउने तथा निर्देशन दिने गर्नुहोस्।  नराम्रो मानेका तथा असहज महसुस गरेको बेला बिषयान्तर गरेर रमाईला जोक, कथा, खेल खेल्न वा स्वतन्त्र छोड्नुस्।
  • बालबालिकाको बुझ्ने, गर्नु सक्ने र सिक्ने क्षेमता निर्धारण गर्नुहोस्। सोही अनुसारको व्यवहार गर्नुस्। उनीहरुलाई आफूलाई माया गरेको थाहा होस् साथै तपाईसँग उनीहरुलाई सुरक्षित भएको महसुस गराउनुस्। जसले गर्दा बालबालिकाले आफ्ना कार्यहरु स्वतन्त्रता पूर्वक गर्नु सक्नेछन्।
  • उनीहरुलाई सुन्नुस! सामान्य भन्दा सामान्य राम्रो कामको प्रशंसा गरिनै रहनुस्। उनीहरुले गरेका कुनै पनि कार्य गतल भएमा उनीहरुलाई रचनात्मक सुझाबका साथ सुधार्न पहल गर्नुस यसको लागि तपाई उनिहरुको असल साथी बन्नुस्। कुराकानी गर्दा बालबालिकाले बुझ्ने भाषामा प्रयाप्त समय दिएर गर्नुस्।  तपाई निश्चित हुनुस की, तपाईले भनेको उनीहरुले राम्रोसँग बुझिरहेका छन्।
  • बालबालिका आफ्नो कार्यको लागि आफै सक्षम हुन्छन्। उमेर र क्षमता अनुसारका हरेक कार्य आफै गर्न दिनुस्। उनीहरुबाट सामान्य कमजोरीलाई दोशारोपण नगरी स्वयंलाई कमजोरी थाहा पाउने अवसर सिर्जना गर्नुस् र सुधारेर काम गर्न प्रेरित गर्नुस्। उनीहरु आफ्ना खेलौना खेलेपछि ठीक ठाउँमा राख्न सक्छन्। खाना खाएर प्लेट टेबुलबाट हटाएर बकेट वा सिंकमा राख्न सक्छन्। आफूले ठीक समयमा मुख धुने, दाँत माझ्ने, कपडा लगाउने, गृहकार्य गर्ने, कपी कलम ठीक ठाउँमा राख्न सक्छन्। त्यस्तो कार्यमा हस्तक्षेप नगर्नुस र उनहरुलाई नै प्रोत्साहित गर्नुस्। आफैले गर्दा आत्म विश्वास र जिम्मेवारीपन र काममा विकास हुँदै जान्छ। उनीहरुले नै गर्न सक्ने कार्यमा अनावाश्यक सहयोग नगनुस्। आत्म निर्भर र आत्मविश्वास बन्न प्रेरित गरौं, परनिर्भरता होइन!!
  • बालबालिकासँग रमाउन हरेक दिन उपयुक्त समयको छनौट गर्नुहोस्। के गर्नु हुँदैन भन्नु भन्दा पनि के गर्नु पर्छ भनेर देखाउनुस्, उनीहरुले गरेका राम्रा कार्यमा मलाई यो मनपर्‍यो स्यावास...! कस्तो राम्रो .....! भनेर थप कार्य गर्न प्रेरित गर्नुस्। काम विग्रेमा तिमीले पूनः राम्रो गर्न सक्छौ भनेर राम्रो गर्न प्रोत्साहित गर्नुस् र गल्तीलाई गल्ती कै औल्याउनुस्।
  • उनीहरुबाट कुनै नकारात्मक व्यवहार वा कार्य हुँदा तपाईलाई नराम्रो लागेको उनीहरुले थाहा पाउने तपाईको कुनै संकेत, भाव निर्धारण गर्नुहोस जसले गर्दा बालबालिकाले आफूबाट गल्ती भएको स्वत थाहा पाउन सकुन्।
  • गल्तीमा सजाय पाउँछु भन्ने डर बालबालिकामा बनाई राख्नुस्। सामान्य गल्तीमा सजाय हैन निरन्तर एउटै गल्ती दोहोर्‍याएमा उसलाई सजाय दिनु पर्दछ। सजाय बालबालिकाको भावनामा चोट पुर्‍याउन अत्याउन होईन। उसलाई आफ्नो गल्ती महसू्स गराउन हो।  नियमित गतिविधिमा रोक लगाएर सुविधाबाट वन्चित गरी सजाय दिन सकिन्छ। (खान नदिनु, थुन्नु सजाय होइन यो हिंसा हो)
  • मनन गर्नुस्, अनुसाशन सजाय होइन, यसको अनुसानको सीमा निर्धारण गर्नुस्। बालबालिकाले सबै नियमहरु सजिलै पालना गर्न सक्दैनन्, उनीहरु स्वतन्त्र र नियन्त्रण बाहिर हुँदा नियमलाई विर्सन पुग्दछन्। सामान्य अनुसाशन पालना नभएको अवस्थामा उनीहरुलाई तत्कालै सजाय हैन उनीहरुसँग रमाईला कुरा गरी आरामदायी वातावरण तयार गर्नुस्। यस्तो अवस्थामा पनि बिषयमा नै केन्द्रित हुनुस्। उनीहरुलाई गाली, पिटाई र झुटो आरोप नलाउनुस्। उनीहरुको ध्यान केन्द्रित हुँदैन त्यसैले हरेक पटक सम्झाउनुस्। अनुसाशनले बालबालिकालाई सक्षम, जिम्मेवारीताका साथ स्वहेरचाह र नियन्त्रणमा बस्न मद्दत गराउँछ।
  • बालबालिकाको सपना तथा लक्ष्यमा कहिल्यै पनि अवरोध नगर्नुहोस्। यो उमेर र परिवेश अनुसार परिवर्तन हुने बिषय हो।
  • बालबालिकासँग उनीहरुलाई मनपर्ने खेल खेल्नुस्। खेलका नियममा खुकुलो बनाउनुस्। खेल्दा बालबालिकालाई रमाईलो होस्, तपाई पनि रमाउनुस्।
  • हरेक दिन उनीहरुका लागि बेलुका केही समय चित्र कथा, कथा, रोचक किताब उमेर (सानो उमेरदेखि किशोरावस्थाकाहरुको लागि पनि अति अवश्यक)  अनुसारका पढ्नु सुनाउनुस् वा कथा सुनाउनुस्। सानो उमेरबाट असल र खराब पक्षको बारेमा कुरा गर्नुहोस्। राम्रो काम, राम्रो व्यहार, राम्रो गुण र राम्रो व्यक्तिको विषयमा कथा, जीवनी घटना सुनाएर, पढाएर घुमाएर बुझाउनुस्।
  • अभिभावकको साथमा गरेका हरेक कार्यहरु विद्यालयमा गरेकाभन्दा अझ बढी राम्रा सिकाई हुने गर्दछ। त्यसैले अभिभावकको साथमासँगै काम गरेर बस्ने र प्रेरणा पाउने अवसर दिनुस्।
  • बालबालिकालाई सम्झने तथा आत्मसात गर्ने राम्रो बन्नुहोस्(Be a Good Role Model­)। तपाईको राम्रो व्यवहार तथा कामको प्रसंशक तथा अनुसरण गरोस्। राम्रो काम, संस्कार, व्यवहारबाट सिक्ने कुरा पढेर सिक्नेभन्दा धेरैमाथि हुन्छ।
  • सधैं सत्य बोल्नुस्  र आफ्ना कमी कमजोरीमा माफी माग्नुस्। यसबाट तपाइले जस्तै  बालबालिका सधैं सत्य बोल्ने छन्  र आफूबाट हुन पुगेको कमी तथा कमजोरीमा माफी माग्ने सिक्दछ। यस्तै आफ्ना अभिभावक तथा श्रीमानश्रीमतीबीचमा सधै आदर भाव र मायालु वातावरण प्रस्तुत गर्नुस्। यसले बालबालिकामा परिवारमा आदर, सम्मान आदर सम्मान गर्ने सीपको विकास हुन्छ।
  • आफ्ना बालबालिकाको क्षमता र अवस्थाबारेमा आफू पूर्ण जानकार भएकोमा गर्व गर्नुस्। उनीहरु तपाईले देखेको सपना अनुसार उनीहरु खरो नउत्रन सक्छन्। यदि तपाईको सोच र योजना उनीहरुको जीवनको लागि गलत छ भन्ने लाग्छ भने तपाई आफ्नो सोचमा परिवर्तन गर्नुस्। आफूलाई उनीहरुको क्षमता अनुसारको विकासको सहयोगीको हौ भनी आत्मसात गर्नुस्।
  • हुँदैन भन्नुस्। किशोराअस्थाका बालबालिकाको लागि विद्यालय, क्लब तथा समुदायिक कार्यमा स्वयमसेवक गर्नका लागि प्रेरित गर्नुस्। त्यसमा लगाउनुस्, अनावश्यक कार्यमा समय खर्च गरिरहेमा त्यसो नगर्न भन्नुस्। उनीहरुको गलत कार्यमा सधैं हुँदैन। गलत हो भन्नुस्।
  • बालबालिकाद्वारा हुनसक्ने हेपाई तथा वेवास्तालाई सामान्य रुपमा नलिनुस्। तपाई वा अरु कसैलाई पनि अशिष्ट बोली व्यवहार गरेमा तत्कालै त्यसमा ध्यान पुर्‍याउनुस्। यस्तो कार्य गरेमा क्षम्य नहुने स्पष्ट पार्नुस् र उ सँग उपयुक्त समयमा यस बिषयमा कुरा गर्नुस्। अझ बालबालिकाले अर्को बालबालिकालाई हेप्यो, नराम्रो व्यहार गर्‍यो भने यसमा उनीहरुलाई सचेत गराउनुस् यसलाई सामान्य रुपमा लिएर वेवास्ता नगर्नुस्।
  • सामाजिक मुल्या मान्यता, व्यवहार र संस्कृति सिकाउन नभुल्नुस्। हरेक दिन आफ्ना बालबालिकालाई २ वा ३ वटा प्रश्नहरु सोध्नुस्। जुन सामाजिक बिषयमा पनि हुन सक्नेछन्। जसले बालबालिकामा नयाँ बिषयहरुको ज्ञान, सम्बाद र सुन्न सक्ने धर्यता, तथा सामाजिक भावना र ज्ञानको विकास हुन्छ।
  • बालबालिकालाई साहासी सीपहरु सिकाउँनस्। बालबालिकालाई कुरा गर्दा सीधा अनुहार र आँखामा हेरेर कुरा गर्न सिकाउनुस्। अरुका कुरा सुनिसेकेपछि आफ्नो विचार राख्न र छलफलमा भाग लिन प्रेरित गर्नुस्।
  • बालबालिकालाई आफू भावनात्मक रुपमा कमजोर छैन भन्ने साहास दिनुस्। तिमी गर्न सक्नेछौ तिमीसँग साहस छ। आदि भनेर उसमा आत्मविश्वास बढाउनु पर्दछ।
  • बालबालिकालाई नमताउनुस् (नविगार्नुस्)। बालबालिका परिवार समाज र राष्ट्रको धरोहर हो, यसमा ध्यान दिनुस्। त्यसै अनुसार व्यवहार गर्नुस्।
  • चाहेको खाना खुवाउनुस्। बालबालिकाले तपाईले ल्याएको नयाँ स्वादको खाना खान मानेन भने गाली गरेर नखुवाउनुस्। उसको लागि मन पर्ने स्वस्थ्यकर खाना हप्तामा एक पटक बनाएर खुवाउनुस्। साथै उनीहरुको उमेर अनुसार भान्सामा खाना पकाउन उसलाई प्रेरित गरौं। एकजना स्वस्थ्य बालबालिकालाई आफूलाई कति खाने भन्ने थाहा हुन्छ त्यसैले खाना थालमा छोडेकोमा विवाद नगर्नुस्। सम्झनुस्, उ भोकाएको छैन। तर धेरै मागेर थालमा खाना छोड्ने बानीमा परिवर्तन गराउँनुस्। खाना ठीकमात्र पस्केर दिनुस् आवस्यकताअनुसार थप्दै जानुस्।
  • सबै बालबालिकालाई समान माया गर्नुहोस्। तर नभुल्नुस् प्रत्येक बालबालिका फरक हुन। उनीहरुको फरक उमेर, क्षमता, विवेक, चहाना आवश्यकता छ भन्नेर आत्मसात थरी सोही अनुसार व्यवहार गरौं।
  • मायालु वातावरणका साथ बालबालिकाको लागि अवसर सिर्जना गर्नुस्। बालबालिका तपाईले जे चाह्यो त्यही बन्ने बस्तु वा साधन  हैनन् तर तपाईको दायित्व उनीहरुलाई समाजमा सक्षम जिम्मेवार र योग्य बनाउने हो। त्यसैले उनीहरुलाई सक्षम जिम्मेवार र असल मानिस बनाउने चाहिने सबै कार्य गरौं।
  • बालबालिकाको कोठामा टेलिभिजन तथा इन्टरनेट सेवा नराख्नुस्। अनुसन्धानले देखाएको छ की टेलिभिजन कोठामा राखेका बालबालिकाको वजन धेरै हुने, कम सुत्ने, खाना समयमा नखाने, आँखाको समस्या हुन, दैनिक गर्नुपर्ने कार्य उपयुक्त समयमा नगर्ने। साथै सामाजिक गतिविधिबाट सदैब टाढा देखाएको छ। त्यसैले पारिवारिक वातावरणमा घुलमिल गराउँ।
  • बालबालिकालाई हिडाउँनुस्। बालबालिकाहरु एकै ठाउँमा बस्दा उनीहरुमा नैरस्यता तथा अल्छेपन आउँछ। उमेर अनुसार घुमाउने खेलाउने र हिँडाउने गर्नु अति आवश्यक छ। 
  • खोप लगाउँ। समयमा खोप लगाउनु अनिवार्य छ। अझै पनि हाम्रो देशमा दादुरा, लगायतका रोगहरुको प्रकोप बाँकी नै रहेको छ। बालबालिकाको स्वास्थ्यमा सधैं सचेत हौं। दाँत नियमित दिनमा दुई पटक माझ्न लगाउँ। स्वास्थ्य हुन अनुहार र दाँत सफा हुन अनिवार्य छ
  • बालबालिकालाई बारुद, आगो, हतियार, हिंसा, सजाय, हेपाई बेचविखन, श्रम शोषण, तिरस्कार, उपेक्षा, पिटाई, भेदभाव, यौन दुव्र्यवहार तथा शोषण लगायत फोहोर, चिसो तथा पानीको पोखरी घरको छत जस्ता ठाउँ तथा चिजबाट हुन सक्ने खतरा बाट सधैं जोगाऔं। विषादी, हतियार, आगो तथा औषधी, दुघटनाबाट सधैं सुरक्षित छन् भनेर निश्चित हुनुस्।
  • डाक्टरलाई सुन्नुस्। विरामी परेको बेला डा. को सल्लाह विना कुनै पनि औषधिको प्रयोग नगर्नुस्। कुनै पनि समस्या देखिनसाथ तत्कालै डा.कोमा लैजानुस्। आदि ..................।



बालबालिकालाई कस्तो व्यवहार गर्ने? यस्ता छन् अभिभावकका लागि ३१ टिप्स् को लागी कुनै प्रतिक्रिया उपलब्ध छैन ।

नयाँ प्रतिक्रिया पोस्ट गर्नुस

HTML tag हरु सपोर्ट गरिदैन ।
( ई-मेल गोप्य राखिने छ)

[कृपया चित्रमा (क्याप्चामा) देखिएको जस्तै शब्द तल लेख्नुहोस । रिफ्रेश गर्नका लागि चित्रमा (क्याप्चामा) क्लिक गर्नुहोस । ]


@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट