काठमाडौं: सन्जु सेनले ह्याट्रिक गरेपछि विभागीय टोली नेपाल पुलिस क्लबले ललित स्मृति यू-१८ च्याम्पियनसिपमा लगातार दोस्रो जित हात पारेको छ।
बिहीवार भएको खेलमा पुलिसले सरस्वती युथ क्लबलाई ५-१ ले पराजित गरेको हो। दोस्रो जितपछि पुलिसले समूह सी मा ६ अंक जोडेको छ।
एन्फा कम्प्लेक्स मैदानमा भएको खेलमा पुलिसका लागि सन्जुले १८औं, ४५+२औं र ७४औं मिनेटमा गोल गरे। यस्तै रविन राईले ७७औं र एनसन राईले ८१औं मिनेटमा गोल थपे। यसअघि पहिलो खेलमा जावलाखेललाई हराउँदा पनि सन्जुले दुई गोल गरेका थिए।
सरस्वतीको खाता रहेको एक गोल पनि पुलिसका खेलाडीले उपहार दिएका थिए। ७८औं मिनेटमा पुलिसका बिगेन राईले आत्मघाती गोल गरेका थिए।