PahiloPost

Dec 20, 2024 | ५ पुष २०८१

बोरिस र हन्टमध्ये को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? नतिजा आज सार्वजनिक हुँदै



बोरिस र हन्टमध्ये को बन्ला बेलायतको नयाँ प्रधानमन्त्री? नतिजा आज सार्वजनिक हुँदै
फोटो:BBC

लन्डन: बेलायतमा कन्सर्भेटिभ पार्टीको नेताको चयनका लागि भएको निर्वाचनको मतपरिणाम आज घोषणा हुँदैछ।

बेलायती प्रधानमन्त्री थेरेसा मेले पार्टीको नेताका साथै प्रधानमन्त्री पदबाटै समेत राजीनामा दिएपछि सोमबार निर्वाचन भएको थियो। आज विजयी हुने उम्मेदवार नै बेलायतका भावी प्रधानमन्त्री बन्ने बीबीसीले उल्लेख गरेको छ।

पार्टी नेतृत्वको लागि १० भन्दा बढी कन्सर्भेटिभ नेताहरुले दाबी गरेका थिए। यद्यपि, आजको मतदानको परिणामबाट बोरिस जोनसन र जेमेरी हन्टमध्ये एकजना पार्टीको नेता बन्नुका साथै प्रधानमन्त्री बन्ने छन्।

यी दुईमध्ये मे क्याबिनेटमा मन्त्री समेत रहेका लन्डनका पूर्व मेयर जोनसन विजयी हुने सम्भावना रहेको बताइएको छ। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको समेत समर्थन पाएका बोरिसलाई भने उनकै पार्टीका वरिष्ठ नेताहरुको समर्थन भने छैन। 

यस्तै हन्ट पनि मे क्याबिनेटकै मन्त्री हुन्। पार्टीभित्र उनलाई वरिष्ठ नेताहरुको वैचारिक समर्थन रहेको छ।

युरोपियन युनियनबाट बाहिरिने (ब्रेक्जिट) सम्बन्धमा प्रधानमन्त्री मेले सारेका योजनाहरुको उनकै पार्टीका नेताहरुले विरोध गरेपछि मेले गत मे २४ मा राजीनामाको घोषणा गरेकी थिइन्।  

ब्रेक्जिटका सम्बन्धमा बेलायती संसद हाउस अफ कमन्समा मेले प्रस्तुत गरेका विकल्पहरु तीनपटक अस्वीकृत भएका थिए। पटकपटक भएको मतदान र संवादबाट कुनै पनि विकल्पमा सहमति हुन सकेको थिएन। उनकै पार्टीका नेताहरुले उनीविरुद्ध मतदान गरेका थिए।

आज मे क्याबिनेटको अन्तिम बैठक बस्ने र बुधबार मेले बेलायती महारानी एलिजाबेथसमक्ष राजीनामा पत्र प्रस्तुत गर्नेछिन्। बुधबार नै बोरिस र हन्टमध्ये एकजनाले बेलायती प्रधानमन्त्रीका रुपमा सपथ लिनेछन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell