PahiloPost

Sep 29, 2024 | १३ असोज २०८१

मोदीले कास्मिर विवादमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग मध्यस्थता गर्न प्रस्ताव राखेका छैनन्: भारत



मोदीले कास्मिर विवादमा अमेरिकी राष्ट्रपति ट्रम्पसँग मध्यस्थता गर्न प्रस्ताव राखेका छैनन्: भारत

वासिङटन: भारतले कास्मिर मामिलामा अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पको मध्यस्थता गर्ने दाबीको खण्डन गरेको छ। अमेरिकी राष्ट्रपति डोनल्ड ट्रम्पले आफूसँग भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले कास्मिर मामिलामा मध्यस्थता गरिदिन आग्रह गरेको दाबी गरेका थिए।

पाकिस्तानका प्रधानमन्त्री इमरान खान अहिले अमेरिका भ्रमणमा छन्। बेलायती सञ्चारमाध्यम बिबिसीका अनुसार पाकिस्तानी प्रधानमन्त्री खानसँग वासिङटनमा गरेको पत्रकार सम्मेलनमा अमेरिकी राष्ट्रपति ट्रम्पले भनेका थिए, 'नरेन्द्र मोदीसँग दुई साताअघि मेरो भेट भएको थियो र भेटमा उहाँले मसँग सोध्नु भएको थियो कि के तपाईं मध्यस्थ भइदिनु हुन्छ? मैले केमा भनेर सोध्दा उहाँले भन्नुभयो- कास्मिरमा।'

पाकिस्तानी प्रधानमन्त्री खानसँगको भेटघाटपछि अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तानबीच लामो समयदेखि जारी कास्मिर विवादमा आफूले मध्यस्थता गर्ने प्रस्ताव गरेका छन्।

राष्ट्रपति ट्रम्पले पाकिस्तानी प्रधानमन्त्री खानसँग भने, 'यदि मैले सघाउन पाएँ र मध्यस्थकर्ता बन्न पाए मलाई खुसी लाग्नेछ।'

तर भारतले तत्काल प्रतिक्रिया जनाउँदै अमेरिकी राष्ट्रपतिसँग भारतीय प्रधानमन्त्री मोदीले कुनै पनि किसिमको मध्यस्थताको प्रस्ताव राखेको दाबी पूर्णतया नकारेको छ।

भारतको विदेश मन्त्रालयले अमेरिकी राष्ट्रपति ट्रम्पको दाबीको खण्डन गर्दै उनीसँग मोदीले त्यस्तो कुनै आग्रह नगरेको र पाकिस्तानसँग सम्बन्धित सबै मुद्दामा दुईपक्षीय छलफल मात्र गरेको जनाएको छ।

भारतको विदेश मन्त्रालयका प्रवक्ता रवीश कुमारले ट्वीट गरेका छन्, 'सञ्चारमाध्यमबाट हामीले भारत र पाकिस्तानले अनुरोध गरे कास्मिर मामिलामा मध्यस्थता गर्न तयार रहेको राष्ट्रपति ट्रम्पको भनाइ थाहा पायौं। प्रधानमन्त्री नरेन्द्र मोदीले यस्तो कुनै प्रस्ताव राष्ट्रपति ट्रम्पसँग राख्नु भएको छैन।'

रवीश कुमारले ट्वीट गरेका छन्, 'पाकिस्तानसँगका सबै मामिलामा दुईपक्षीय वार्ता त्यसबेला मात्र सम्भव छ तर त्यसका लागि पाकिस्तानले आतंकवादलाई प्रश्रय दिन छाड्नुपर्छ।'

इमरान र ट्रम्पबीच भेटवार्ता

उता पाकिस्तानी प्रधानमन्त्री खानले कास्मिर मामिलामा मध्यस्थता गर्ने अमेरिकी राष्ट्रपतिको प्रस्तावको स्वागत गरेका छन्।

खानले भने, 'अमेरिका विश्वको सबैभन्दा शक्तिशाली देश हो र उसले भारतीय उपमहाद्वीपमा शान्ति स्थापना गर्न अहम् भूमिका निर्वाह गर्न सक्छ। कास्मिरका कारण एक अर्बभन्दा बढी मानिस हैरान छन्। अमेरिकी राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान दुवै देशबीच सम्बन्ध सुधार्न सक्छन्।'

पाकिस्तानी प्रधानमन्त्री खानले भारतसँग वार्ता थाल्न पाकिस्तानले अथक प्रयास गरे पनि कुनै प्रगति नभएको बताए। उनले अमेरिकी राष्ट्रपति ट्रम्पले वार्ता सुरु गराउनमा पनि भूमिका निर्वाह गर्न सक्न अपेक्षा व्यक्त गरे।

पाकिस्तानी प्रधानमन्त्री खानले सुरक्षा स्थितिबारे जानकारी गराउन र अमेरिका तथा पाकिस्तानबीचका असमझदारी हटाउन आफूले सेना प्रमुख कमर बाजवा र गुप्तचर निकाय आइएसआईका प्रमुखलाई समेत भ्रमणमा लिएर आएको बताए।

पाकिस्तानी प्रधानमन्त्री खानले अमेरिकी राष्ट्रपति ट्रम्पसँग ह्वाइट हाउसमा भेटवार्ता गरेका छन्। उनी अमेरिकासँग बिग्रिएको पाकिस्तानी सम्बन्ध सुधार्न अमेरिका भ्रमणमा छन्। अफगानिस्तानमा तालिबान लडाकुसँगको युद्धमा आतंकवादी सञ्जाल अल-कायदा प्रमुख ओसामा बिन लादेनलाई पाकिस्तानी सहर अबोटाबादमा प्रश्रय दिएको भन्दै अमेरिकाले पाकिस्तानलाई दिने सैनिक तथा आर्थिक सहायता रोकेको छ।

पाकिस्तानी भूभागमा हुने अमेरिकी ड्रोन आक्रमणको इमरान खानले विरोध गर्दै आएका छन् भने राष्ट्रपति ट्रम्पले अमेरिकी सहयोगको बदलामा पाकिस्तानले 'झुट र धोका' मात्र दिएको आरोप लगाउँदै आएका छन्।

बेलायती सञ्चारमाध्मय रोयटर्सका अनुसार ह्वाइट हाउसमा भएको वार्तामा राष्ट्रपति ट्रम्पले पाकिस्तानलाई गत वर्ष कटौती गरेको १.३ अर्ब अमेरिकी डलर बराबरको सहायता फेरि दिन सक्ने बताए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell