PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पूर्पक्षका लागि जेल चलान



विप्लवका उपत्यका ब्युरो इन्चार्ज माइला लामा पूर्पक्षका लागि जेल चलान

काठमाडौं: नेत्रविक्रम चन्द नेतृत्वको नेकपाका उपत्यका ब्युरो इन्चार्ज माइला लामालाई पूर्पक्षका लागि जेल गरिएको छ। मंगलबार  जिल्ला अदालत ललितपुरमा भएको थुनछेक बहसपछि लामालाई पुर्पक्षका लागि नख्खु कारागार चलान गरिएको हो।

शनिबार मध्यराति गिरफ्तार गरिएका नेता लामालाई सरकारले राजद्रोह तथा संगठित अपराधको मुद्दा दायर गरेको थियो। लामाको पक्षबाट वरिष्ठ अधिवक्ताहरु एकराज भण्डारी र सुरेन्द्र भण्डारीले वहस गरेका थिए। लामालाई एनसेल वम विष्फोटको आरोपमा संगठित अपराध तथा संविधान विपरित गतिविधि गरेको भन्दै राजद्रोहको मुद्दा चलाएको हो। 

लामाको साथबाट चन्दा संकलन गरेको चार सय जनासँग चन्दा लिन तयार पारिएको सूची फेला परेको प्रहरीले जनाएको छ। लामाले सानादेखि ठुला व्यापारीबाट ५ लाखदेखि २० लाखसम्म चन्दा उठाउने तयारी गरेको भेटिएको थियो। उनलाई महाशाखाको टोलीले काठमाडौँको काडाँघारीबाट नियन्त्रणमा लिएको थियो। 

लामा काठमाडौं उपत्यकामा भएका बम विस्फोटका प्रमुख योजनाकार भएको प्रहरीले दाबी गरेको छ। यही अभियोग उनलाई मुद्दा चलाएको हो।

लामा २०६४ सालको संविधानसभा चुनावमा उम्मेदवार बनेर पराजित समेत भएका व्यक्ति हुन्।

यता मंगलबार नै नेकपाका महासचिव विप्लवले लोकप्रिय जनकलाकार लामा र जेलमा रहेका स्थायी समिति सदस्य सुदर्शन लगायत सबै राजबन्दीहरुलाई बिना सर्त ससम्मान रिहा नगरे योजनाबद्ध प्रतिरोध गर्ने चेतावनी सहितको विज्ञप्ति जारी गरेका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell