PahiloPost

Apr 20, 2024 | ८ बैशाख २०८१

युद्धको संस्मरण कृतिमा, ने क पाका प्रदेशसभा सदस्यले भने, 'माओवादीबाट मारिनुभन्दा त भिरबाट गुल्टिएर मरोस् भन्ने थियो'



युद्धको संस्मरण कृतिमा, ने क पाका प्रदेशसभा सदस्यले भने, 'माओवादीबाट मारिनुभन्दा त भिरबाट गुल्टिएर मरोस् भन्ने थियो'

काठमाडौं: सरिता अर्यालको नियात्रा संग्रह 'मेरो अपहरण' सार्वजनिक भएको छ। आज काठमाडौंको कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठानमा प्रतिष्ठानका कुलपति गंगाप्रसाद उप्रेती, साहित्यकार तारानाथ शर्मा, माया ठकुरीलगायतले विमोचन गरेका हुन्।

नियात्रा संग्रहमा युद्धका कथा भएको कालीकोटका प्रदेशसभा सदस्य कुर्मराज शाहीले बताए। ढुंगाको जिल्लाको विषयमा कृति आउनु नै ठुलो विषय भएको शाहीको भनाई थियो। उनले भने, 'एउटा ढुंगा फोर्न करोड खर्च लाग्छ कालीकोटमा। हामी सिटामोल नपाउने ठाउँको मान्छे।'

सरिताले बिर्ससकेको कथा कृतिमा ल्याएको उल्लेख गर्दै उनले भने, 'त्यो कथा बिर्ससकेको थिएँ। दिदीले त्यो किताब लेख्दैछु भन्नुभएपछि १५ वर्षपछि यो घटना र विषयवस्तु झल्झल्ती याद आयो। तर, यो त अब नबिर्सी नहुने भएको छ। हाम्रो बाध्यता छ। अब सर्लक्कै बिर्सनुपर्ने भएको छ। त्यसैले बिर्सेको छ।'

किताबको पात्र आफूसमेत भएकोले यसको पीडाले अझै सताउने गरेको उनकद्य भनाई थियो। 'म पनि पात्र बनें। हामी जब गाउँ पुग्यौं। त्यहाँको पीडाको कुरै नगरौ। दिदी(सरिता अर्याल) एकदमै रुनुभएको थियो। कति पीडा थियो होला। जसले किताब नै जन्मायो,' प्रदेश सभा सदस्य  शाहीले भने।

आफूहरु त्यस ठाउँबाट भागेर ज्यान जोगाएको उनले बताए। तत्कालीन एमालेका नेतासमेत रहेका शाहीले भने, 'तीन दिनपछि मान्छेको हत्या भयो। हामी त्यहीबाट भागेर आएको थियो। भोकभोकै बस्नुपर्ने अवस्था। गालीगलौज त कति गरियो कि। तल्लोस्तरको। हामी भागेर ज्यान जोगाएर आइयो। जिन्दगी जोगियो।' 

खोलामा आइपुग्दा दुईतिरै मर्ने अवस्था देखिएको उनले सुनाए। भने, 'एकातिर माओवादीबाट मारिने डर। अर्को पुलमा खसेर मर्ने डर। तान्दैतान्दै माथि आइयो। पुरै माओवादी थिए। हामी त्यतै पुग्यौ। हामी फेरि फर्केर जानुपर्ने अवस्था आयो। एकदमै साँघुरो ठाउँ थियो। माओवादीबाट काटिएर मर्नुभन्दा भीरबाट हाम्फालेर मर्नु बेश। भीरबाट गुल्टिएर मर्नु बेश भन्ने शर्त थियो। त्यसरी नै ज्यान जोगाएर आयौ र नाफाको जिन्दगी पाएर यो किताब पनि पढ्न पाउने भएँ।'

किताबबारे साहित्यकार एवं समीक्षक हरिमाया भेटवालले युद्धको बेला परिवार छाडेर  कालीकोट गएको विषय नै रोचक रहेको बताइन्। 

किताब पढेपछि आफूले लेखिकाको क्षमता बुझेको र समाजलाई च्यालेन्ज गरेको भेटिएको धारणा राखिन्।

'स्थलगत रिपोर्टिङका लागि कालीकोट पुग्छु भनेर पुग्नु भएकोरहेछ। च्यालेन्ज गर्नुभएको रहेछ। राज्य पक्षबाट आएको आरोप लगाएर माओवादीले दुख दिएको संस्मरण रहेछ,' भेटवालले भनिन्।

तात्कालीन समयमा द्वन्द्वमा भएका प्रतडनालाई किताबमा उतारिएको उनले बताइन्। 

साहित्यकार प्रतीक ढकालले लेखिका जोरी खोज्दै सन्केर कालीकोट पुगेको तर्क गरे। ढकालले थपे, 'जागिरबाट पनि त्यै सन्केर निकालेको होला आफैले लगानी गरेको पत्रिकाबाट।' किताब पाँच घन्टाको फिल्मजस्तो बनेको उल्लेख गर्दै उनले डरैडरमा बनेको कृति भएको दाबी गरे। 'बगिरहेको समयको फोटो खिच्ने लेखिका हुन् सरिता,' ढकालले प्रशंसा पनि गरे।

किताब कालिकोटबासीलाई समर्पण गरेको लेखिका अर्यालले बताइन्। युद्ध समयमा लेखिएको किताब ढिला गरी लेखिएकोबारे आफ्नो लेखिका अर्यालले प्रष्ट्याएकी थिइन्। '१४/१५ वर्षपछि मात्र किताब किन निकालिएको भन्ने विषय पनि उठ्न सक्छ। त्यसबेला यो विषय उठाउन सक्ने अवस्था थिएन। अहिले सबैलाई भेट्न सक्ने भएको र कालीकोटबासीको जुन पहिलेको आश थियो। त्यो पुरा नभएको देखेर  साक्षीका रुपमा ल्याएकी हुँ,' लेखिका अर्यालले भनिन्।

२२२ पेजको किताब बिएन पुस्तक संसारले प्रकाशन गरेको हो। किताबको मुल्य ३५० रुपैयाँ तोकिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell