PahiloPost

Sep 23, 2024 | ७ असोज २०८१

जडिबुटीलाई शरीरमा प्रयोग गरी औषधी र बिष छुट्याउने हाम्रै पूर्खा हुन् : प्रम ओली



जडिबुटीलाई शरीरमा प्रयोग गरी औषधी र बिष छुट्याउने हाम्रै पूर्खा हुन् : प्रम ओली

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र बाँसबारीको  आकस्मिक तथा बहिरंग सेवा भवनको आज उद्घाटन गरेका छन्।

भवन उद्घाटनपछि प्रधानमन्त्री ओलीले यस अस्पतालले कसैलाई भेदभाव नराखी उपचार गर्ने विश्वास व्यक्त गरेका छन्। “यस अस्पतालले देश वा नागरिकताका आधारमा होइन सबैलाई सबैलाई समान भावले उपचार गर्नेछ,” प्रधानमन्त्री ओलीले भने, “अस्पतालमा उपचार गर्न आएका सबैलाई हामीले मानव जातीको रुपमा उपचार गर्नुपर्दछ।”

२०५१ सालमा आफू गृहमन्त्री भएको बेला यस अस्पतालको निर्माणको प्रस्ताव आएको स्मरण गराउँदै प्रधानमन्त्रीले भने, “हृदय रोग उपचार  केन्द्र निर्माण गरौं भनेर डा. अरुण सायमीजीले प्रस्ताव ल्याउदा म धेरै खुशी भएको थिएँ। भयाभह हुँदै गरेको मुटु रोगको उपचार हुन सहज भएपछि धेरै जनाको ज्यान बच्ने भयो भनेर पनि मेरो मन रमाएको थियो।”

प्रधानमन्त्री ओलीले यस प्रकारका उच्च प्रविधियुक्त अस्पतालहरुले हामीलाई विद्वान पुर्खाको विरासत तर्फ फर्काएको बताए। नेपालीका पुर्खा विद्वान भएका थुप्रै प्रमाण भएको प्रधानमन्त्री ओलीको भनाइ छ। “पुर्खाहरुले प्रयोग र अनुभवबाट जडिबुटीलाई औषधीको रुपमा प्रयोग गरे। त्यतीबेला कुनै प्रयोगशाला थिएनन्। त्यस कारण जडिबुटीहरुलाई आफ्नै शरीरमा प्रयोग गरेर औषधी र बिष छुट्याउने हाम्रै पुर्खा हुन्,” प्रधानमन्त्री ओलीले भने “हाम्रा पुर्खाहरु अन्धविश्वासमा होइन प्रयोगमा विस्वास गर्दथे।”

 पुर्खाको विद्वता र ज्ञानलाई वर्तमान पुस्ताले पुनप्राप्ति गर्न थालेको उल्लेख गर्दै प्रम ओलीले भने,  “हामीसँग पूर्खाहरुको जेनेटिक मेमोरी पनि छ। त्यस कारण पनि हामीलाई विद्वताका कुराहरु ग्रहण गर्न समय लाग्दैन। औषधी उपचार र अंग प्रत्यारोपणमा हामीले पाएको सफलता त्यसकै एउटा उदाहरण हो।”
 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell