रावलपिन्डी : पाकिस्तानको रावलपिन्डी नजिकैको मोरा कालु क्षेत्रमा पाकिस्तानी सेनाको विमान खस्दा १८ जनाको मृत्यु भएको छ।
पाकिस्तानी पत्रिका दी न्युजकाअनुसार विमानमा चालक दलका ५ सदस्य थिए। उनीहरु सबैको मृत्यु भएको छ। मृत्यु हुनेमा १२ सर्वसाधारण पनि छन्। दुर्घटनामा १२ जना घाइते भएको समाचारमा उल्लेख छ।
दुर्घटनामा मृत्यु हुने दुई पाइलटहरु कर्नेल सकिब र कर्नेल वासिम रहेका छन्। त्यस्तै नायव सुबेदार अफजल र हवलदारहरु इब्ने अमिन र रेहमत रहेका छन्।
घटनास्थलमा पाकिस्तानी सेनाको उद्धार टोली पुगेको छ। आज विमान बस्तीमा खसेको थियो। विमान खस्दा एउटा घर पूर्ण रुपमा क्षति भएको छ।
'म चर्को आवाजसँगै ब्युझिएँ। घरबाट बाहिर निस्किँदा ठूलो मुस्लो दखिएको थियो। म घटनास्थल पुगें,' आज बिहान २ बजे भएको घटनाका प्रत्यक्षदर्शी मोहमद साकिबले भने, 'मानिसहरु चिच्याइरहेका थिए। हामीले उद्धार गर्ने प्रयास गर्यौँ तर आगोको मुस्लो ठूलो थियो। हामीले केही गर्न सकेनौँ। मृत्यु हुनेमा घरमा सुतेका एकै परिवारका सात जना रहेका छन्। उनीहरु सबैको जलेर मृत्यु भएको हो।'
दुर्घटनास्थल पाकिस्तानी सेनाको मुख्यालय रहेको गारिसन शहर नजिकैको गरिब बस्ती हो।
पाकिस्तानी सेनाको सूचना शाखाकाअनुसार विमान नियमित तालिम मिसनमा थियो।