PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

कविताकै कारण तीन महिना जेल परें, त्यही कारणले यहाँ छु : सभामुख महरा



कविताकै कारण तीन महिना जेल परें, त्यही कारणले यहाँ छु : सभामुख महरा

काठमाडौं: सभामुख कृष्णबहादुर महराले आफू कुनै बेला साहित्यकार भएको र सोही बेला सिडिओले पक्राउ गरेका कारण राजनीतिक जीवनमा प्रवेश गरेको बताएका छन्। आज कमलादीस्थित नेपाल प्रज्ञा प्रतिष्ठान धनप्रसाद शर्मा पौडेलको किताब 'आफ्नै भूमि आफ्नै अनुभव' सार्वजनिक गर्दै उक्त विचार राखेका हुन्।

सबैमा कवित्व ह्दय हुने उल्लेख गर्दै सभामुख महराले आफू कविताकै कारण जेलमा परेको बताए। 'म पनि साहित्यिक मान्छु हुँ। हटारुको भन्ने पत्रिकाको सम्पादक थिएँ म। आजभन्दा २८ वर्ष पहिले। पत्रिका निकालेवापत तीन महिना जेल हालें,' महराले भने, 'पञ्चायत व्यवस्थाविरुद्ध कविता लेखेर प्रकाशन गरेको थियो। सिडियोले सजाय दियो। त्यसपछि पत्रिका पनि बन्द भयो। त्यसैको फलस्वरूप म यहाँ छु।

पूर्व प्रमुख जिल्ला अधिकारीसमेत रहेर निजामती सेवा गरिसकेका पौडेलको किताबमा सफलता र कमजोरी दुबै विषयलाई समेटिएको पत्रकार एवं समीक्षक प्रमोद प्रधानले बताए।  'आत्मकथा प्रकाशनको होड छ। विशिष्ट व्यक्तिको यस्तो अनुभुती आउनु धेरै राम्रो हो। तर कति आत्मकथा भए पनि कति त आत्मरति नै छन्,' प्रधानले भने, 'वीपी कोइराला आत्मवृतान्त र रमेश विकल मेरो अविरल जीवन गीतमा आफ्नो कमजोरी पनि लेखेका छन्। विनोद चौधरी र रूगमंगत कटवालको सबल पक्षमात्र लेखिएको छ। धनप्रसादले कमजोरी र सफलता दुबैलाई समेटेका छन्। कमजोरी लुकाइएको छैन।' 

अर्का समीक्षक ज्ञानु अधिकारीले किताबमा प्रशासनिक जीवनका उतारचढाव, नेपाली उकालीओरालीका कथा र आफूलाई प्रभाव पारेका मान्छेहरु समेटिएको बताइन्। उनले यो संस्मरणजस्तै, नियात्राजस्तै, निबन्धजस्तै सबै गुण भएको किताब भएको उल्लेख गरिन्। 

लेखक शर्माले किताबमा दार्चुलामा उडुसले टोकेको अनुभवदेखि हिउँले ज्यान लर्बराएको घटनासम्म समेटिएको बताए।

बिएन पुस्तक संसारले प्रकाशन गरेको किताब सूर्य बीसीले सम्पादन गरेका हुन्। किताबको मुल्य ३०० रुपैयाँ तोकेको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell