काठमाडौं: नायिका साम्राज्ञीराज्य लक्ष्मी शाह स्टारर फिल्म मारुनी बलिउड फिल्म साहोसँग भिड्ने पक्का भएको छ। मारुनी भदौं १३ गते तीजको अवसरमा प्रर्दशन हुँदैछ भने बलिउड फिल्म साहो पनि त्यही मितिमा नेपालमा प्रर्दशन हुने भएको हो।
प्राय नेपालमा ठुला लगानीका विदेशी फिल्महरु प्रर्दशन हुँदा व्यापार कम हुने डरले नेपाली फिल्मले आफ्नो प्रर्दशन मिति सार्ने क्रम बढ्दो छ। साहो प्रदर्शन हुने भएपछि कबड्डी-३ ले समेत प्रदर्शन मिति असोज ३ मा पुर्याएको छ।
सोमबार काठमाडौंमा फिल्मको ट्रेलर सार्वजनिक गर्दै मारुनीकी निर्मात्री पुनम गौतमले नेपालमा राम्रा फिल्म निर्माण भए विदेशी फिल्मसँग डराउनु नपर्ने बताइन्। उनले भनिन्, 'भदौ १३ मा साहो प्रदर्शनमा आए पनि नआए पनि मारुनीको प्रर्दशन मिति सर्दैन। मारुनी भदौं १३ मै प्रदर्शनमा आँउछ।' नेपालमा एउटा राम्रो फिल्म निर्माण भएपछि त्यसलाई कसरी चलाउने भन्ने कुरा निर्देशक निर्मातामा निर्भर गर्ने उनले बताइन्।
नवल नेपाल निर्देशित यस फिल्ममा साम्राज्ञीसँगै पुष्प खड्का र रेबिका गुरुङको मुख्य भूमिका रहेको छ। लभ स्टोरी जनारामा पुनम इन्टरटेनमेन्टको ब्यानरमा निर्माण गरेको फिल्ममा पुनम गौतमको लगानी छ।