PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाईनको ईआइए पुरा, अनुमानित लागत १८० करोड



कोहलपुर-सुर्खेत १३२ केभी प्रसारण लाईनको ईआइए पुरा, अनुमानित लागत १८० करोड

सुर्खेतः वर्षौदेखि चर्चामा रहेको कोहलपुर–सुर्खेत (१३२ केभी) विद्युत प्रसारण लाइन निर्माण प्रक्रिया अघि बढ्ने भएको छ। कोहलपुर–सुर्खेत प्रसारण लाईनको प्रक्रिया अगाडी बढाउन आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) गर्नुपर्ने थियो। सोही बमोजिम वातावरण तथा सामाजिक अध्ययन विभागले प्रस्तावित १३२ केभी प्रसारण लाइन आयोजनाको वातावरणीय प्रभाव मुल्यांकन (ईआइए) प्रतिवेदन तयार गरिसकेको छ।

तत्कालिन उर्जा मन्त्रालयबाट यस आयोजनाको ईआइए प्रतिवेदन तयार गर्न पहिलो पटक सर्वेक्षण अनुमतिपत्र मिति २०६७/०३/२५ मा प्रदान गरिएको थियो भने दोस्रो पटक उर्जा जलश्रोत तथा सिचाई मन्त्रालयबाट मिति २०७५/०४/०४ मा प्रदान गरिएको थियो। जसको अवधि मिति २०७७/०४/०३ सम्म रहेको वन तथा वातावरण मन्त्रालयले जनाएको छ।

प्रस्तावित आयोजना बाँके तथा बर्दिया राष्ट्रिय निकुञ्ज भएर सुर्खेत पुग्ने छ। वातावरण संरक्षण नियमावली, २०५४ को अनुसुची २ अ. (३) बमोजिम राष्ट्रिय निकुञ्ज, वन्यजन्तु आरक्ष, सीमसार र संरक्षण क्षेत्रमा कुनै प्रस्ताव कार्यान्वयन गर्ने भएमा वातावरणीय प्रभाव मुल्यांकन गर्नुपर्ने व्यवस्था छ। सोही बमोजिम कोहलपुर –सुर्खेत प्रसारण लाइन परियोजनाको ईआईए गरेसँगै आवश्यक प्रक्रियाका लागि बाटो खुलेको छ।

आयोजना प्रदेश नं. ५ को बाँके, बर्दिया तथा कर्णालीको सुर्खेतभित्र अवस्थित रहने छ। यस आयोजनाबाट ३ जिल्लाहरुको ५ नगरपालिका तथा एक गाउँपालिका, बाँकेको कोहलपुर नगरपालिका र बैजनाथ गाउँपालिका, बर्दियाको बाँसगढी नगरपालिका तथा सुर्खेतको भेरीगंगा, लेकबेशी तथा वीरेन्द्रनगर नगरपालिकाहरु प्रभावित हुने ईआईए रिपोर्टमा उल्लेख गरिएको छ।

बाँकेको विद्यमान कोहलपुर सवस्टेशनबाट प्रारम्भ भई सुर्खेत जिल्लाको वीरेन्द्रनगरस्थित प्रस्तावित सुर्खेत सवस्टेशनमा गएर टुङ्गिने छ। प्रस्तावित प्रसारण लाइन आयोजनाको लम्वाई करिव ५१ किलोमिटर हुने छ भने डबल सर्किटको हुने उल्लेख छ। आयोजनाको कुल लम्वाई करिब ५१.४६२ किलोमिटर रहने छ। एंगल टावरहरु २६ वटा रहने छन् भने आयोजनाको कुल टावरहरुको संख्या १४५ वटा रहने जनाईएको छ।

सुर्खेतमा रहने सब–स्टेसनको क्षेत्रफल ३.७२४९ हेक्टर रहने छ। अनुमानित आयोजनाको लागत रु १८० करोड लाग्ने जनाईएको छ।

प्रस्ताबित वातावरणीय प्रभाव मुल्यांकन प्रतिबेदन अनुसार यस आयोजना क्षेत्रको उचाईगत फरक १६० मिटरदेखि एक हजार ११५ मिटरसम्म रहेको छ। यस प्रसारण लाईनले विशेष गरेर घना बस्ती मुख्य संरचनाहरु तथा घना वन जंगललाईसमेत असर पुर्‍याउने देखिएको छ।

आयोजना क्षेत्रको स्थलगत सर्वेक्षणअनुसार प्रसारण लाइन मार्गमा बाँके राष्ट्रिय निकुन्ञ तथा यसको बफर जोन, बर्दिया राष्ट्रिय निकुन्ञ तथा यसको बफर जोन तथा सामुदायिक र सरकारी वन पर्ने छ। जसमा धेरैजसो भुभाग वन तथा खेतियोग्य जमिन भएर जाने देखिएको छ।

प्रसारण लाईनको ७०.५४% भाग वनको क्षेत्र, १६.१३% खेतियोग्य जमिन, २.२६% बाजो जमिन, तथा ११.०६% अन्य भागले ओगटेको छ। बिद्युत प्रसारण कार्यन्वयनका लागि विभिन्न जग्गा, जमिन, सामुदायिक वन, तथा सरकारी वन क्षेत्रका गरेर जग्गाको क्षेत्रफल कुल २२५ वर्ग मीटर हुनेछ।

आयोजना कार्यान्वयन गर्दा कूल ९८.०५७९ हेक्टर जग्गा टावर निर्माण, सवस्टेशन निर्माण तथा क्षेत्राधिकारको लागि आवश्यक ठानिएको छ। जसमध्ये, ३.७२४९ हे. स्थायी रुपमा सवस्टेशन निर्माणको लागि र ३.३०७५ हे. टावरको जग निर्माणको लागि अधिग्रहण गरिने छ भने बाँकी ९१.०२५५ हे. जमिन अस्थायी रुपमा प्रयोग गर्न सकिने उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell