PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

एकै महिनामा भ्रष्टाचार मुद्दा चलेका तीन जनाको आत्महत्या, 'अख्तियार प्रमुखलाई दुई सय वर्ष बाँच्न शुभकामना'



एकै महिनामा भ्रष्टाचार मुद्दा चलेका तीन जनाको आत्महत्या, 'अख्तियार प्रमुखलाई दुई सय वर्ष बाँच्न शुभकामना'

काठमाडौं: भ्रष्टाचार मुद्दामा मुछिएका एक अर्का पूर्वकर्मचारीले आत्महत्या गरेका छन्। मालपोत कार्यालय कलंकीका निलम्बित कर्मचारी ( नायब सुब्बा)  हरी आचार्यले आत्महत्या गरेका हुन्।

आचार्यलाई प्रहरीले आइतवार बिहान करिब सात बजे आचार्य मृत अवस्थामा फेला पारेको हो। उदयपुरको त्रियुगा नगरपालिका ९ को रातामाटे जंगलमा झुन्डिएको अवस्थामा उनको शव फेला परेको थियो। प्लाष्टिकको डोरी लगाएर सखुवाको रुखमा झुन्डिएको अवस्थामा भेटिएको जिल्ला प्रहरी कार्यालय उदयपुरका डिएसपी हरिकृष्ण केसीले बताए। 'हामीले खोज्दै जाँदा जंगलमा झुन्डिएको अवस्थामा फेला पारेका हौं,' डिएसपी केसीले भने।

आचार्यको मृत शरीरबाट प्रहरीले दुइ पाने सुसाइट नोटसमेत बरामद गरेको छ। सुसाइट नोटमा आफु भ्रष्टाचारको मुद्दामा बेकसुर रहेको, परिवारलाई आफ्नो कारणले तनाव भएको र व्यवस्थापन गर्ने र घरको आर्थिक कारोबारसम्वन्धी छोराछोरीलाई जानकारीसमेत दिइएकोबारे उल्लेख गरिएको छ। 'उहाँले तीनवटा कुरा लेख्नु भएको छ। एउटा आफू इमान्दार भएको, अर्को घरपरिवारलाई निर्देशन दिएको र तेस्रो आर्थिक जानकारी रहेको,' डिएसपी केसीले भने।

नोटमा आफुले अहिलेसम्म दुई रुपैयाँसमेत पैसा नखाएको, आफुजस्तो मान्छेलाई भ्रष्टाचार लगाएकोमा अख्तियार प्रमुख आयुक्त नविन घिमिरेलाई दुई सय वर्ष बाँच्नसमेत शुभकामना दिइएको छ। 'आयुक्त ज्युलाई २ सय वर्ष बाँच्ने शुभकामना दिइएको छ,' डिएसपी केसीले भने।

मृतक आचार्य शनिवार मात्र काठमाडौंबाट उदयपुर फर्केका थिए। फर्किएपछि उनी आफ्नो कोठामा सामान र मोबाइल राखेर बाहिर निस्किएका थिए। केही समयसम्म पनि घर नफर्किएपछि परिवारले खोजी गरेको थियो। 'उहाँहरुले नभेटाएपछि हामीकहाँ खबर आयो। सुरुमा काठमाडौंबाट आउनुभएको थाहा पाएर बस पार्कतिर खोजौं। तर पछि  घरपछाडिको जंगलमा भेटिएको हो,' केसीले भने।

९२ रोपनी सरकारी जग्गा कीर्ते गरी हाउजिङको नामा नामसारी गरेको अभियोगमा आचार्यसहित अन्यलाई आयोगले विषेश अदालतमा भ्रष्टाचारको मुद्दा दायर गरेको थियो।

यसअघि ललिता निवास प्रकरणमा अख्तियारमा बयान दिइरहेका मालपोतका पूर्व खरिदार युक्त श्रेष्ठले आत्महत्या गरेका थिए। बालाजुको माछापोखरीमा रहेको एक भवनको आठौं तल्लाबाट हाम्फालेर श्रेष्ठले आत्महत्या गरेको प्रहरीको दाबी छ।

त्यसको केही साताअघि त्रिभुवन विश्वविद्यालयका एक पूर्व कर्मचारीले आत्महत्या गरेका थिए। त्रिपुरेश्वरको राधा भवनबाट पूर्व कर्मचारी रामबहादुर पाण्डे क्षेत्रीले हाम्फालेर आत्महत्या गरेका हुन्।

पाण्डे विरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विद्यार्थीको परीक्षामा अनियमितता गरेको भन्दै विशेष अदालतमा मुद्दा दर्ता गराएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell