PahiloPost

Dec 21, 2024 | ६ पुष २०८१

सिंगापुरबाट फर्किएपछि ओलीले भने : मेरो स्वास्थ्य सामान्य छ, चिन्ता गर्नेलाई धन्यवाद



सिंगापुरबाट फर्किएपछि ओलीले भने : मेरो स्वास्थ्य सामान्य छ, चिन्ता गर्नेलाई धन्यवाद

काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य उपचार पछि स्वदेश फर्किएका छन्। १० दिन सिंगापुरमा स्वास्थ्य परीक्षण र आराम गरी फर्किएका ओलीले आफ्नो स्वास्थ्य सामान्य रहेको जानकारी दिएका छन्।

आज मध्यान्ह स्वदेश फर्किएका ओलीले त्रिभुवन विमानस्थलमा स्वास्थ्य अवस्थाकाबारे जानकारी नदिए पनि सामाजिक सञ्जाल ट्विटरमार्फत स्वास्थ्य सामान्य रहेको जानकारी गराएका हुन्।

'सिंगापुरमा स्वास्थ्य परिक्षण गरी आज फर्किएको छु। मेरो स्वास्थ्य सामान्य रहेको छ। परीक्षणमा संलग्न सबै चिकित्सकप्रति आभार व्यक्त गर्दछु,' उनले ट्विटरमा लेखेका छन्, 'मेरो स्वास्थ्य स्थितिप्रति चासो राखी चिन्ता व्यक्त गर्ने तथा स्वास्थ्य लाभको कामना गर्नु हुने सबै दिदीबहिनी-दाजुभाईहरूलाई धन्यवाद दिन चाहन्छु।'

साउन १८ गते उपचारका लागि सिंगापुर गएका उनलाई स्वागत गर्न विमानस्थलमा सभामुख कृष्णबहादुर महरा उपप्रधान तथा रक्षामन्त्री इश्वर पोखरेल, गृहमन्त्री रामबहादुर थापा, परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (ने क पा)का सचिवालय सदस्य वामदेव गौतम, महासचिव विष्णु पौडेललगायतका नेताहरु पुगेका थिए।

ओलीको सिङ्गापुरस्थित नेसनल युनिभर्सिटी हस्पिटलमा स्वास्थ्य परीक्षण भएको थियो। १२ वर्षअघि मिर्गौला प्रत्यारोपण गरेका ओली निरन्तर यसको फलोअपका लागि दिल्ली, बैंकक र सिंगापुर जाँदै आएका छन्। प्रधानमन्त्रीका साथमा पत्नी राधिका शाक्य, मुख्य राजनीतिक सल्लाहकार विष्णुप्रसाद रिमाल, निजी चिकित्सक डा दिव्यासिंह शाह, स्वकीय सचिव राजेश बज्राचार्यसहित नौ सदस्य सहभागी थिए।

उपचार पछि स्वेदेश फर्किएका ओलीलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारहरुले स्वास्थ्य अवस्थाका बारेमा सोधेका थिए। उनले जवाफ दिन इन्कार गर्दै केही दिनमा नै थाहा पाउने प्रतिक्रिया दिएका थिए।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell