PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

सांघातिक आक्रमणका कारण दोहामा एक नेपालीको मृत्यु, दूतावासले भन्यो: भिडभाडमा नजानु



सांघातिक आक्रमणका कारण दोहामा एक नेपालीको मृत्यु,  दूतावासले भन्यो: भिडभाडमा नजानु

काठमाडौं: कतारमा भएको सांघातिक आक्रमणमा परी एक नेपालीको मृत्यु भएपछि दोहास्थित नेपाली दूतावासले भिडभाड हुने क्षेत्रमा नजान त्यहाँ रहेका नेपालीलाई अनुरोध गरेको छ।

मंगलवार कतारको दोहास्थित जैदा पार्कमा नेपाली नागरिकमाथि भएको सांघातिक हमलामा एक नेपालीको मृत्यु भएको थियो। मृत्यु हुनेमा सुनसरीका तवरेज अन्सारी रहेको दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।

साथै घटनामा परी अन्य पाँच जना नेपाली घाइते भएका छन्। घाइतेमध्ये सुनसरीकै उमर अन्सारीको अवस्था गम्भीर रहेको र त्यहाँको हमाद अस्पतालको सघन उपचारकक्षमा उपचार भइरहेको छ। त्यस्तै सुनसरीकै इब्राहिम अन्सारी र नौसाद अन्सारीको पनि सोही अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था खतरामुक्त रहेको दूतावासले जनाएको छ।

त्यस्तै घाइते भएका अकबर मिया र महसुद अन्सारीलाई प्रहरीले नियन्त्रण लिएको थियो। उनीहरुलाई दूतावासको पहलमा रिहा गरिएको दूतावासले जनाएको छ।

कतारस्थित नेपाली दूतावासका अधिकारीहरु घटनाको बारेमा कतार सरकारको प्रशासन तथा हमाद अस्पतालमा पुगेर अनुगमन गरेका थिए।

घटनामा मृतक तथा घाइतेको विवरण परराष्ट्र मन्त्रालयमार्फत परिवारलाई जानकारी गराइने दूतावासले जनाएको छ। घटनामा संलग्नलाई कारवाहीका लागि नेपाली दूतावासले कतार प्रहरीलाई अनुरोध गरेको छ। घटनामा संलग्न केही व्यक्तिलाई प्रहरीले नियन्त्रण लिएको छ।

'यस प्रकारका घटनालाई मध्यनजर गरी अनावश्यक भिडभाड हुने क्षेत्रमा अत्यावश्यक काम बाहेक नजानुहुन तथा जानै पर्ने भएमा आवश्यक सतर्कता अपनाउन हुनु कतारवासी नेपालीलाई राजदूतावास हार्दिक अनुरोध गर्दछ,' दूतावासले जारी गरेको वक्तव्यमा उल्लेख छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell