PahiloPost

Apr 25, 2024 | १३ बैशाख २०८१

भारत फासिस्ट र हिन्दुवादी सरकारको कब्जामा छः पाकिस्तानी प्रधानमन्त्री इमरान खान



भारत फासिस्ट र हिन्दुवादी सरकारको कब्जामा छः पाकिस्तानी प्रधानमन्त्री इमरान खान

पाकिस्तानका प्रधानमन्त्री इमरान खानले जर्मनीमा नाजीहरुले कब्जा गरेजस्तै भारतलाई फासिस्ट र जातीय हिन्दुवादीहरुले कब्जा गरेको आरोप लगाएका छन्।

जम्मू कश्मीरका बारेमा भारतसँग विवाद बढ्दै जाँदा केही दिनअघि मोदी 'हिटलर शैली'मा अघि बढेको बताएका पाकिस्तानी प्रधानमन्त्री खानले केही समयअघि मात्र ट्वीट गर्दै भारतमा फासिस्ट र हिन्दुवादी सर्वोच्च विचारधारा र नेतृत्वको कब्जामा रहेको आरोप लगाएका हुन्। उनले आरएसएस र भारतीय जनता पार्टीका संस्थापकहरुको जातीय अस्तित्व मेटाउने खेल, नरसंहारवादी सोच र नाजी विचारधाराबारे गुगल गरेर जोसुकैले पनि बुझ्न सक्ने उल्लेख समेत गरेका छन्।

नरेन्द्र मोदी नेतृत्वको भारत सरकारले जम्मू कश्मीरलाई विभाजन गरेसँगै पाकिस्तान र भारतबीच विवादका साथै सीमामा तनाव बढेको छ। यसैका बारेमा ट्वीट गर्दै खानले दुई सातादेखि जम्मू कश्मीरका ९० लाख कश्मीरीहरु भारत सरकारको नियन्त्रणमा बस्न बाध्य भएको भन्दै त्यसबाट विश्व नै तरंगित भएको उल्लेख गरेका छन्।

 

 

४० लाख भारतीय मुसलमानहरु डिटेन्सन क्याम्पमा रहेको र उनीहरुको नागरिकता बदर गरिएको ‍आरोप लगाउँदै पाकिस्तानी प्रधानमन्त्री खानले विश्वले भारतमा आरएसएसका कार्यकर्ताहरुले घृणा र नरसंहार मच्चाएको चुपचाप हेरिरहेको र अब यसलाई रोक्न विश्व समुदायले पहल गर्नुपर्ने तर्क गरेका छन्।

उनले लेखेका छन्, 'भारतको आणविक भण्डारण फासिस्ट र हिन्दु सर्वोच्चवादी मोदी सरकारको हातमा रहेको छ। यस विषयले एसियाली क्षेत्रमा मात्रै नभएर पूरै विश्वलाई नै प्रभावित गर्नेछ।'

दुई साताअघि भारतले जम्मू कश्मीरलाई दिइएको राज्यको दर्जा समाप्त पार्दै केन्द्र प्रशासित दुई प्रदेश (जम्मू-कश्मिर र लद्दाख) मा विभाजन गरेसँगै पाकिस्तान क्रुद्ध बनेको छ। 

सो कदमविरुद्ध पाकिस्तानले भारतसँगको व्यापारिक र कूटनीतिक सम्बन्धलाई सीमित पार्ने घोषणा गरेको छ भने भारतसँगको रेल सेवा, बस सेवाका साथै बलिउड फिल्म, विज्ञापन आदिमा प्रतिबन्ध लगाएको छ। यस विषयमा दुई दिन संयुक्त राष्ट्र संघको सुरक्षा परिषदमा समेत छलफल भएको थियो।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell