PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

हङकङ आन्दोलनलाई प्रभावित पार्न चीनले फेक अकाउन्टको प्रयोग गरेको फेसबुक र ट्वीटरको आरोप



हङकङ आन्दोलनलाई प्रभावित पार्न चीनले फेक अकाउन्टको प्रयोग गरेको फेसबुक र ट्वीटरको आरोप
फोटो :GETTU/EXPRESS

फेसबुक र ट्वीटरले हङकङमा भइरहेको सरकारविरोधी आन्दोलनलाई चीनले 'फेक अकाउन्ट' को प्रयोग गर्दै प्रभावित गर्न खोजेको आरोप लगाएको छ।

आन्दोलनबारे भ्रामक सूचना फैलाउन सयौं अकाउन्टहरु चीनको सरकारी निकायबाट नै सञ्चालन भएको बताइएको उनीहरुको दाबी छ।

ट्वीटरले आन्दोलनलाई प्रभावित पार्दै राजनीतिक द्वन्द्व सिर्जना गर्न प्रयोग भएका ९३६ अकाउन्टहरु बन्द गरेको जनाएको छ। ट्वीटरले एक विज्ञप्ति जारी गर्दै राज्यको समर्थनमा संगठित रुपमा नै हङकङ आन्दोलनलाई प्रभावित बनाउन खोजिएको प्रमाण भेटिएको बताएको हो। 

यस्तै, फेसबुकले भने ७ वटा पेज, तीनवटा ग्रुप र पाँचवटा अकाउन्टहरु बन्द गरेको जनाएको छ। ती सबै अकाउन्टहरु मेनल्यान्ड चाइनाबाट सञ्चालनमा रहेको बताइएको छ।

फेसबुकमा गलत तथ्‍यहरु प्रस्तुत गर्दै त्यसलाई समाचार बनाउने प्रयासहरु भएको फेसबुकका साइबर सुरक्षा प्रमुख नाथेनिल ग्लेचरले बताए। फेक अकाउन्टको प्रयोग गर्दै राजनीतिक समाचारहरु प्रचारप्रसार गर्नेहरुले आफ्नो पहिचान लुकाउने प्रयास गरे पनि उनीहरु चीन सरकारनिकट रहेको दाबी गरिएको छ।

करिब दुई महिनाअघि हङकङ सरकारले मेनल्यान्ड चाइनामा सजिलै बन्दी सुपुर्दगी गर्न त्यहाँको संसदमा सुपुर्दगी विधेयक दर्ता गराएपछि हङकङमा विरोध सुरु भएको थियो। आन्दोलन उग्र बन्दै गएपछि हङकङ सरकारले विधेयक स्थगन गरेको थियो। तर, प्रदर्शनकारीले भने विधेयक स्थगनमात्रै नभइ फिर्ता हुनुपर्ने र हङकङकी कार्यकारी प्रमुख क्यारी ल्यामले राजीनामा दिनुपर्ने भन्दै सडक संघर्ष गरिरहेका छन्।

हाल प्रदर्शन गरिरहेकाहरुले हङकङलाई चीनबाट स्वतन्त्र बनाउने पक्षधरका रहेका छन्। उनीहरुले चीनको हङकङप्रति 'एक देश, दुई व्यवस्था' नीति रद्द गर्नेुपर्ने माग गर्दै आएका छन्।

तर, चीन भने हङकङ आफ्नो अभिन्न अंग भएको भन्दै 'एक देश, दुई व्यवस्था' नीतिको विरोध गर्नेहरु विरुद्ध कडा कारवाही गर्ने पक्षमा रहेको छ।प्रदर्शनकारीले हङकङको संसद कब्जामा लिएर तोडफोड गर्नुका साथै चिनियाँ झन्डा र चिनियाँ कार्यालयमा आक्रमण गरेका थिए।

चीनले उक्त घटनालाई आतंकवादको संज्ञा दिँदै हङकङको अवस्था नियन्त्रणमा लिन चिनियाँ जनमुक्ति सेना परिचालन गर्न सक्ने चेतावनी दिएको छ। तैपनि प्रदर्शनकारीहरुले दैनिक रुपमा हङकङका विभिन्न स्थानहरुमा प्रदर्शन गर्दै आएका छन्।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell