PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

भारतमा मृत्यु भएका बाँकेका दुई नेपालीको शव आज ल्याइपुर्‍याइने



भारतमा मृत्यु भएका बाँकेका दुई नेपालीको शव आज ल्याइपुर्‍याइने

राँझा: भारतको हिमाञ्चल प्रदेशमा कामका सिलसिलामा मृत्यु भएका दुई नेपालीको शव आज रातिसम्ममा स्वदेश ल्याइने भएको छ। रोजगारीका सिलसिलामा भारतको हिमाञ्चल प्रदेश पुगेका बाँकेका दुई जनाको पहिरोमा परेर गत साउन ३२ गते मृत्यु भएको थियो।

हिमाञ्चलमा पहिरो जाँदा राप्तीसोनारी गाउँपालिका–५ चिलहरियाका १९ वर्षीय अर्जुन बुढामगर र ४७ वर्षीय सनबहादुर बुढामगरको मृत्यु भएको स्थानीय चिमबहादुर घर्तीले जानकारी दिए। उनका अनुसार गत साउन ३२ गते राति गएको पहिराले रुख ढाल्दा त्यसमा च्यापिएर अर्जुन र सनबहादुरको घटनास्थलमै मृत्यु भएको थियो। पहिरोमा बाँकेको राप्तीसोनारी गाउँपालिकाका बलबहादुर पुन, रमन पुन, रणवीर घर्ती, सनलाल पुन र कृष्ण थारू घाइते भएका छन्।

उनीहरु गत साउन १७ गते भारतको हिमाञ्चल प्रदेशको नारकान्द जिल्लामा स्याउ टिप्न हिँडेका थिए। उनीहरुसँगै गाउँका ३२ जना रोजगारीका लागि भारतको हिमाञ्चल प्रदेश गएका चीमबहादुर घर्तीले बताए। नेपाल कम्युनिस्ट पार्टी (ने क पा) का राप्तीसोनारी गाउँपालिका कमिटीका अध्यक्षसमेत रहेका चीमबहादुर घर्तीले अर्जुन र सनबहादुरको शव भारतबाट ल्याउने काम भइरहेको जानकारी दिए। आज रातिसम्म शव आइपुग्ने उनले बताए।

अर्जुन र सनबहादुरको मृत्युको खबरले चिलहरिया गाउँ शोकमग्न भएको छ। अर्जुनले गत असार १७ गते मात्र बिहे गरेका थिए। बिहेको एक महिना पनि नबित्दै रोजगारीका लागि भारतको हिमाञ्चल पुगेका पतिको मृत्युको खबरले पत्नी दीपा बुढा अचेत छिन्। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell