PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

बाढीले डाइभर्सन बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध



बाढीले डाइभर्सन बगाउँदा पासाङल्हामु राजमार्ग अवरुद्ध
फोटो : Google Map ।

नुवाकोट : पासाङल्हामु राजमार्गको त्रिशूली–बेत्रावती सडकखण्डको गेर्खुखोलामा राखिएको डाइभर्सन बाढीले बगाउँदा सडक अवरुद्ध भएको छ।
 
गए राति भएको वर्षाको कारण खोलामा आएको बाढीले डाइभर्सन बगाएको हो । विदुर नगरपालिका वडा १ र १० को सीमामा रहेको गेर्खुखोलाले गत वर्षको वर्षा याममा पुल भत्काएपछि अस्थायीरूपमा बनाइएको डाइभर्सन यसपालि बगाएको हो।

डाइभर्सन बगाएपछि यातायात ठप्प भएको विदुर नगरपालिका– १० का वडाध्यक्ष गणेशकुमार नेपालले बताए।

'गत वर्ष नै पुल भत्काएपछि नयाँ बनाउन पटक–पटक ताकेता गरे पनि निर्माण गरिएन, अहिले पनि दुःख पाइयो,' वडाध्यक्ष नेपालले भने।
 
गल्छी त्रिशूली मैलुङ–स्याफ्रु सडक योजनामा परेको यो सडकको पुल आयोजनाले बेलैमा नबनाउँदा अहिले समस्या आएको हो। एक वर्षअघि नै पुल निर्माण थालिए पनि अहिलेसम्म पूरा भएको छैन्। गत वर्ष खोलाले पुरानो पुल भत्काएपछि डाइभर्सन राखेर यातायात सञ्चालन हुँदै आएको थियो।

'अवरुद्ध यातायात सञ्चालनका लागि अर्को डाइभर्सन बनाउने काम शुरु भइसकेको छ,' प्रमुख जिल्ला अधिकारी द्रोण पोखरेलले भने, 'साँझसम्ममा यातायात सञ्चालन हुन्छ।'

डाइभर्सन बगाएका कारण नुवाकोट, रसुवाको यातायात ठप्प भएको छ। रसुवाबाट काठमाडौँ आउनेजाने सवारीसाधान यहाँ रोकिएका छन्। रसुवा जानका लागि वैकल्पिक सडक त्रिशूली, तुप्चे, मनकामना पहिरेबेँसी सडक पनि पहिरोले ठाउँठाउँमा अवरुद्ध भएको छ। रासस



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell