PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अमेजोनको आगो विश्व पर्यावरणका लागि घातक, ब्राजिलका राष्ट्रपति भन्छन्: 'अहिले निभाउन सकिन्न'



अमेजोनको आगो विश्व पर्यावरणका लागि घातक, ब्राजिलका राष्ट्रपति भन्छन्: 'अहिले निभाउन सकिन्न'
फोटो :BBC ।

रियो द जेनेरियो : अहिले विश्वकै ध्यान ब्राजिलको अमेजोन क्षेत्रमा केन्द्रित रहेको छ। पृथ्वीमा २० प्रतिशत अक्सिजन उत्पादन गर्ने विशाल अमेजोन जंगल अहिले जलिरहेको छ। केही दिनदेखि जंगलमा लागेको आगोका कारण हजारौं हेक्टर जंगल विनाश भएका छन् भने सयौं जंगली जनावरहरुको मृत्यु भएको छ।

वातावरणविद्हरुले यसलाई 'विश्व संकट'का रुमा व्याख्या गरेका छन्। बीसीसीका अनुसार हाल ब्राजिलको अमेजोन जंगलमा २ हजार ५०० भन्दा बढी क्षेत्रमा आगलागी भइरहेको छ। विशेषगरी रोराइमा , एक्रे, रोनडोनिया र अमेजोनास राज्य आगलागीका कारण धेरै प्रभावित भएका छन्।

आगलागीसँगै सामाजिक संजालमा त्यहाँका तस्विरहरु भाइरल भइरहेका छन्। तस्विरमा ठूलो मात्रामा आगो लागेको देखिनुका साथै जनावरहरुको मृत शरीर देख्न सकिन्छ। अमेजोन बचाउन भनेर हाल विश्वभर 'प्रे फर अमेजोन' ह्यासट्यास संचालनमा आएका छन्।

अमेजोन जंगलमा करिब ३० लाख जनावर र वनस्पतिका प्रजातीहरु आश्रित रहेका छन्। त्यस्तै सो क्षेत्रमा करिब १० लाख आदिवासी समुदायका मानिसहरु बसोवास गर्दै आएका छन्।

आगलागीका कारण जैविक विविधताका साथै जलवायु परिवर्तनमा नकारात्मक प्रभाव पर्न सक्ने भएकाले त्यसलाई नियन्त्रणमा लिन प्रयास सुरु नगरेको भन्दै ब्राजिलका आदिवसी समुदायले शहर केन्द्रित आन्दोलन गरिरहेका छन्।

यता, ब्राजिलका राष्ट्रपति जेर बोलसोरानोले भने अहिलेकै अवस्थामा आगालागी नियन्त्रणमा लिन नसक्ने बताएका छन्। उनले आगलागी हुनुमा गैर सरकारी संस्था दोषी रहेको आरोप लगाएका छन्। विश्वकै महत्वपूर्ण अमेजोन क्षेत्रमा लागेको आगो नियन्त्रण गर्न नसकेको भन्दै अन्तर्राष्ट्रिय स्तरमा आलोचना भइरहँदा उनले वातावरण संरक्षण गर्न उद्दत निकायहरु नै आगलागीका लागि दोषी रहेको बताएका हुन्। तर उनले त्यसका लागि आफूसँग कुनै प्रमाण नभएको बताएका थिए। यता, वातावरण संरक्षणविद्हरुले भने बोलसोनारोको नीतिका कारण उग्र रुपमा आगलागी भएको बताएका छन्।

सन् २०१८ भन्दा २०१९ मा ब्राजिलमा ८४ प्रतिशत बढी आगलागीमा घटना भएको बताइएको छ। ती मध्ये आधा भन्दा बढी घटना अमेजोन क्षेत्रमा भएको र २ लाख ७२ हजार स्थानमा आगलागी भएको ब्राजिलियन अधिकारीहरुले बताएका छन्। 

अमेजोन क्षेत्र जलिरहँदा विश्वभरबाट त्यसलाई बचाउन आवाजहरु उठिरहेका छन्। फ्रान्सका राष्ट्रपति एम्यानुल माक्रोनले 'मेरो घर जलिरहेको छ' भन्दै यस विश्व संकटका बारेमा जी७ राष्ट्रहरुले आकस्मिक बैठक बस्नु पर्ने बताएका छन्। तर, ब्राजिलका राष्ट्रपतिले भने माक्रोनले भने व्यक्तिगत राजनीतिक फाइदाका लागि त्यस्तो टिप्पणी गरेको तर्क गरेका छन्।

संयुक्त राष्ट्रसंघले पनि अमेजोनमा लागेको भयानक आगोका बारेमा चिन्ता व्यक्त गरेको छ। राष्ट्रसंघका महासचिव एनटोनियो गुटर्रेसले अमेजोनलाई जल्न दिएर अक्जिसन र जैविक विविधताको स्रोतलाई नष्ट गर्न नसकिने भन्दै अमेजोनलाई बचाउनै पर्ने बताएका छन्।

आगलागीसँगै धेरै मात्रामा धुँवा र कार्बोन (कार्बोन डायोअक्साइड र कार्बोन मोनोअक्साइड) निस्किएको छ। त्यसका कारण अमेजोन आसपास बसोवास गरिरहेकाहरु मानिस र विश्वकै पर्यावरणमा खतरा उत्पन्न हुन सक्ने तर्फ संरक्षणविद्हरुले चिन्ता व्यक्त गरेका छन्।

बाज्रिलमा मात्रै नभएर अमेजोन क्षेत्र रहेका अरु राष्ट्रहरुमा पनि आगलागी भएका छन्। यस वर्षमात्रै भेनेजुएला, बोलिभिया, कोलम्बिया , पेरुलगायतका राष्ट्रमा समेत जंगलमा आगो लागि सकेको छ।

ती राष्ट्रहरुले पनि आगो नियन्त्रणमा लिने प्रयास गरिरहेका छन्। तर पनि हालसम्म अमेजोनलाई जल्न बाट रोक्न सकिएको छैन।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell