PahiloPost

May 9, 2024 | २७ बैशाख २०८१

भक्तपुरमा दिपंकर बुद्धलाई नगर परिक्रमा गराएर मनाइयो पञ्चदान, हेर्नुस फोटोमा

भक्तपुरमा दिपंकर बुद्धलाई नगर परिक्रमा गराएर मनाइयो पञ्चदान, हेर्नुस फोटोमा


भक्तपुर: गुँला पर्वका अवसरमा ध्यानमा रहेका पञ्च बुद्धहरु आज भक्तपुरमा दान थाप्दै हिँडे।

भक्तपुरमा रहेका पाँच महाविहारबाट पाँच दिपंकर बुद्धहरुलाई आज नगर परिक्रमा गराइएको हो। क्वाठण्डौं, बहाछें, झोरबही, थथुबही र कुटुबहीमा रहेका दिपंकर बुद्धहरुलाई मानिसले बोकेर विभिन्न स्थानमा दान थाप्दै हिँडेका हुन्।

पञ्चदानका अवसरमा काठमाडौं उपत्यकामा विभिन्न किसिमले पञ्चदान मनाइन्छ। पाटनमा रहेका बौद्ध नेवारहरुले साउन शुक्ल अष्टमीका दिन यो पर्व मनाएका थिए। काठमाडौं र भक्तपुरमा आज भाद्रकृष्ण त्रयोदशीमा पञ्चदान गर्ने परम्परा रहेको छ। नेपाल भाषामा यस पर्वलाई 'पंजरां' भन्ने गरिन्छ।

पाटन र काठमाडौंमा बहा: बही, बिहारमा दिपंकर बुद्धका मूर्ति प्रदर्शनमा राखेर दान दिने गरिन्छ। त्यस क्रममा भक्तजनहरुले धान, नुन, गहुँ, भटमान, फलफूल, सुनचाँदी, वस्त्र, नगद इत्यादी दान गर्ने परम्परा रहेको छ। यता, भक्तपुरमा भने फरक किसिमले पञ्चदान मनाउने गरिन्छ।

भक्तपुरमा पाँचवटा दिपंकर बुद्धका मूतिभित्र मानिस बसेर त्यसलाई बोक्दै विभिन्न स्थानमा दान लिन जाने परम्परा रहेको छ। विभिन्न विहार अन्तर्गत रहने  दिपंकरहरुलाई निश्चित व्यक्ति बाहेक अरुले बोक्न पाउँदैनन्। बाटोबाटोमा बसेका मानिसहरुबाट दान लिँदै बीचबीचमा नृत्य गर्दै आज दिनभर दिपंकर बुद्धलाई नगर परिक्रमा गराउने गरिन्छ।

यसपटक सूर्यमढीमा सबै दिपंकर बुद्धलाई भेट गराइ विभन्न स्थान परिक्रमा गराएर त:मरी  पुर्‍याएर  पञ्चदान सकिएको छ। 

यसरी दान गर्दा समाजमा शान्ति, भाइचारा फैलिने र दान गर्ने भावनाको विकास हुने जनविश्वास रहेको छ।



ट्रेन्डिङ पोस्ट

Ncell