- राधेश्याम पटेल-
वीरगंज: निर्माता संघ नेपालको आयोजनामा अगामी मंसिर पहिलो साता वीरगंजमा चलचित्र महोत्सव हुने भएको छ। राजधानी बाहिर मोफसलमा पहिलो पटक तीन दिने चलचित्र महोत्सवको तयारी प्रारम्भ हुन लागेको महोत्सवका संयोजक विमल पौडेलले बताए।
चलचित्र निर्माता संघ नेपालका उपाध्यक्षसमेत रहेका पौडेलले संघीयता आएपछि पहिलो पटक ७ प्रदेश मध्ये २ नं प्रदेशको वीरगंजमा यस्तो कार्यक्रम हुन लागेको बारेमा वीरगंज उद्योग वाणिज्य संघका सभाहलमा सञ्चारकर्मीहरुलाई जानकारी गराए।
वीरगंजको आदर्शनगर खेलमैदानमा हुने महोत्सव सम्भवत मंसिर १,२,३ गते गर्ने आयोजकको तयारी छ। वीरगंजमा आन्तरिक पर्यटक बढाउन, पहाड र मधेसको साँस्कृतिक दुरीलाई घटाउन, स्थानीय कलकारहरुलाई उचित प्लेटफर्म दिन यो महोत्सव फलदायी हुने विश्वास छ।
यस्तो गौरबको कार्यक्रम वीरगंजमा हुनु आफ्नैमा यसको विशेष महत्व रहेको कार्यक्रममा सहभागी वीरगंजका मेयर विजयकुमार सरावगीले बताए। उनले महोत्सव सफल पार्न बोर्डबाट निर्णय गराई आवश्यक तयारीमा सहयोग गर्न प्रतिबद्धता व्यक्त गरे।
नेपाली चलचित्र जगतका वरिष्ठ कलाकार तथा पहिलो टिभी प्रस्तोता नीर शाहले अहिले पनि नेपाली चलचित्र क्षेत्रीय स्तरको रहेकोले नेपालको चारै तिरको भेषभूषा, कला, साँस्कृति, रहनसहन, कलाकार, प्रतिभालाई समेट्न महोत्सव गरेर सबैको अस्तित्व बोध गारउने जिम्मेवारीका साथ अघि बढेको बताए।
उनले नेपाली फिल्मलाई राष्ट्रिय चिनारी दिन पनि सबैको अस्तितव सिनेमामा समेटनु पर्ने बेला आएको बताए। उनले करिब २ सय ५ वटा पर्दा नेपालमा सञ्चालनमा रहे तापनि जम्मा सिनेमामा गएर २ प्रतिशतमात्र दर्शक नेपाली चलचित्र हेर्ने गरेको कुरा पीडादायी रहेको पनि यथार्थ चित्रण गरे।
चलचित्र निर्माता संघ नेपालका अध्यक्ष अकाश अधिकारीले वीरगंजसँगै अन्य ६ वटा प्रदेशमा निर्माता संघले फिल्म महोत्सव गर्ने योजना राखेको बताए। उनले करिब डेढ करोडको खर्चमा आयोजना हुने महोत्सवमा नेपालका करिब डेढ सय कलाकार एवं प्रतिदिन १५ हजार दर्शकलाई महोत्सवमा सहभागी गराउने हिसाबले तयारी थालिएको बताए। उनले महोत्सवमा फिल्म लेखन, अभिनय तथा डकुमेन्ट्री निर्माणको क्षेत्रका लागि सेमिनार तथा स्थानीय उत्पादनको प्रवर्द्धनको लागि पनि करिब २ सय व्यापारिक स्टल राख्ने पनि योजना रहेको बताए।
महोत्सव समितिले वीरगंज उद्योग वाणिज्य संघको कार्यालयमा सचिवालय स्थापना गरी तयारी गरिरहेको छ। समितिले विभिन्न उपसमिति बनाएर पनि महोत्सवको तयारीलाई तिव्रता दिएका छन्। कार्यक्रममा होटल तथा पर्यटन व्यवसायी संघ पर्साका अध्यक्ष हरि पन्त, होटल तथा पर्यटन पत्रकार संघ पर्साका अध्यक्ष शंकर आचार्य, महोत्सव प्रचार प्रसार समितिका संयोजक दिलिपराज कार्कीलगायतको सहभागिता थियो।