PahiloPost

Apr 27, 2024 | १५ बैशाख २०८१

भारतमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु, दुई दर्जन बढी बेपत्ता



भारतमा डुंगा दुर्घटना हुँदा ११ जनाको मृत्यु, दुई दर्जन बढी बेपत्ता
फोटो : ANI ।

देवीपटनम : भारतको दक्षिणपूर्वी राज्य आन्ध्र प्रदेशमा डुंगा दुर्घटना हुँदा कम्तीमा ११ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।

डुंगाले ६१ पर्यटकहरूलाई लिएर गोदावरी नदीमा यात्रा गरिरहेको समयमा दुर्घटना भएको आन्ध्रप्रदेशको विपद् व्यवस्थापन अधिकारीले बताएका छन्। घटनामा कम्तीमा २० जनालाई सकुशल उद्धार गरेको बताइएको छ भने दुई दर्जनभन्दा बढी व्यक्ति हराइरहेका छन्।

प्रहरीका अनुसार आन्ध्र पर्यटन विकास निगमको उक्त डुंगामा ११ जना चालक दलका सदस्य तथा ५० जना पर्यटक रहेको बताइएको छ। पर्यटकबारे थप जानकारी प्राप्त भइसकेको छैन। उद्धार जारी रहेको छ।

आन्ध्र प्रदेशका मुख्यमन्त्री जोगान मोहन रेड्डीले डुंगा दुर्घटनामा केही पर्यटकको मृत्यु भएको र केही व्यक्ति वेपत्ता भएको पुष्टि गर्दै मृतकका परिवारलाई राहतस्वरूप दश लाख रूपैयाँ प्रदान गर्ने घोषणा गरेका छन्।

राज्य सरकारको तर्फबाट जारी विज्ञप्तिमा रेड्डीले राष्ट्रिय विपद् व्यवस्थापन बल (एनडीआरएफ) सामुद्रिक सैन्य बल तथा ओएनजीसी हेलिकोप्टरलाई उद्धारका लागि तत्काल घटनास्थल जान निर्देशन दिएका छन्। उनले घटनास्थल नजिकमा रहेका मन्त्रीहरूलाई उद्धार कार्यको अनुगमन गर्न निर्देशन दिए। सरकारले जिल्लास्थित सबै डुंगा सेवालाई रोकी लाइसेन्स परीक्षण गर्न पनि निर्देशन दिएको छ। रासस/एएनआई



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell