काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले सिंहदरबार परिसरमा संघीय संसद भवनको शिलान्यास गरेका छन्। शहरी विकास तथा भवन निर्माण विभागले आयोजना गरेको कार्यक्रममा प्रधानमन्त्री ओलीले आज भवनको शिलान्यास गरेका हुन्।
शिलान्यास कार्यक्रममा प्रधानमन्त्री ओलीले संसदीय प्रणालीको राजनीति गरे पनि संसद बस्ने ठाउँ नभएको स्थिति अब अन्त्य हुने बताए। करिब ५ अर्ब ३० करोड रुपैयाँको लागतमा तीन बर्षमा निर्माण सम्पन्न हुने यो भवनको निर्माण समय र गुणस्तरीयतामा कुनै सम्झौता नहुने प्रधानमन्त्री ओलीको भनाइ छ।
“निर्माणमा कुनै प्रकारको विलम्ब मान्य हुँदैन। समयभित्र काम सक्नुहोस। गुणस्तरमा सम्झौता हुँदैन,” प्रधानमन्त्री ओलीले भने, 'यस भवनमा नेपाललाई अग्रगतिमा लैजाने ठुला ठुला निर्णयहरु हुनेछन्। यही भवनबाट धेरैवटा सक्षम सरकारहरु बन्नेछन् भन्ने मेरो अपेक्षा छ।”
प्रधानमन्त्री ओलीले देश विकासको गतिमा अघि बढिसकेको उल्लेख गरे। “हामीले डेढ बर्षमा गरेका कामको परिणाम देखिन थालेको छ। अमलेखगञ्ज मोतीहारी पाइपलाइनबाट इन्धन ल्याउने कुरा त्यसको एउटा उदाहरण हो,” प्रधानमन्त्री ओलीले भने, “आगामी चैतभित्र रानी पोखरी निर्माण भइसक्छ। अरु यस्ता थुप्रै ठुला आयोजनाहरु अब निर्माण सम्पन्न भइसक्नेछन्।”