PahiloPost

Apr 26, 2024 | १४ बैशाख २०८१

अफगानिस्तानमा आइएसलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्ने क्रममा चुक्यो अमेरिका, ३० सर्वसाधारणको मृत्यु



  अफगानिस्तानमा आइएसलाई लक्षित गर्दै ड्रोन आक्रमण गर्ने क्रममा चुक्यो अमेरिका, ३० सर्वसाधारणको मृत्यु
फोटो : Reuters

जलालाबाद : अफगानिस्तानको पूर्वी प्रान्त नान्गार्हारमा इस्लामिक स्टेट्स (आइएस) लडाकू समूह लुकेर बसेका स्थानलक्षित गर्दै बिहीबार भएको मानवरहित विमान (ड्रोन) कारबाहीमा ३० अफगान नागरिकको मृत्यु भएको छ।

बाजिर ताङगी क्षेत्रमा नेटोआवद्ध सैनिकबाट भएको सो कारवाहीमा ४० जना घाइते भएका बताइएको छ । आक्रमणबाट प्रभावित हुनेहरुमा सबै किसान रहेको अधिकारीहरु बताएका छन्।

आइएसलाई लक्षित गरेको कारबाहीमा दुर्भाग्यवस सर्वसाधारण परेको अमेरिकी अधिकारीहरुले स्वीकार गरेका छन्।  यस ड्रोन आक्रमण बारे अनुसन्धान भइरहेको छ।

राष्ट्रपति निर्वाचन नजिकिँदै गर्दा अफगानिस्तानमा बम आक्रमणका घटनाहरु बढ्दै गएका छन्। ती आक्रमणहरुमा तालिवानको संलग्नता रहेको प्रहरीको दाबी छ।

बिहीवारमात्रै अफगानिस्तानको कालात शहरमा एक अस्पताल बाहिर बम विस्फोट हुँदा १० जनाको मृत्यु भएको थियो। तालिबानले आफूहरुले अस्पताललाई नभइ त्‍यससँगैको सरकारी गुप्तचर विभागको कार्यलालयलाई निशाना बनाएको बताएको थियो। मंगलवारमात्रै तालिबानले अफगानिस्तानका राष्ट्रपति असरफ घानी उपस्थित निर्वाचन र्‍यालीमा आक्रमण गरेको थियो। सो आक्रमणमा २६ जनाको मृत्यु भएको थियो।

केही हप्ता अघिमात्रै अमेरिकी राष्ट्रपति ट्रम्पले तालिबानसँगको शान्ति सम्झौता रद्द गरेका थिए। तालिबानले भने ट्रम्पले चाहे आफूहरु पुन: वार्तामा बस्ने बताएका छन्। 



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell