PahiloPost

Mar 19, 2024 | ६ चैत्र २०८०

को हुन् दशैंअघि ट्रोलमा छाउने फौजी?



स्वेच्छा राउत

को हुन् दशैंअघि ट्रोलमा छाउने फौजी?

२०६० सालतिर दोलखाका दीपक कोइराला पत्रकारिता गर्थे। पत्रकारिता नै गर्ने उद्देश्य लिएर रत्नराज्य क्याम्पसमा पत्रकारिता पढे पनि।

तर, उनका बुबा देवीप्रसाद कोइराला अवकाश प्राप्त नेपाली सेनाका प्रमुख सुबेदार। बुबाको सपना छोरालाई पनि फौजी नै बनाउने थियो। त्यसैले बुबाले देखाएको बाटो पच्छ्याउने निर्णय लिए दीपकले। पत्रकारिता छाडे। र, २०५८ सालमा गठन भएको सशस्त्र प्रहरी बलमा भर्ती भए।

कलम समाउनमा रमाएका दीपक बन्दुक समाउन पुगे।

तर, कलम र कलाको भोक कहाँ मर्थ्यो र? उनले तालिम गर्दागर्दैको भोगाइहरुलाई कापीमा कोर्थे। शारीरिक थकाइ, परिवारबाट टाढा हुनुको पीडा, याद र आफ्नो कर्मप्रतिको सन्तुष्टिलाई कहिले गीतमा उतार्थे त कहिले कवितामा।

उनको लेखाइप्रतिको लगाव र पत्रकारिताको अनुभवका कारण सशस्त्र प्रहरीमा पनि मीडिया सम्बन्धित काम गर्ने श्रव्यदृश्य शाखामा अनुबन्धित भए। शाखाले गीती भिडियो, टेलिश्रृङ्खला, फिल्म उत्पादन गर्थ्यो। त्यहाँ उनले अभिनय सिक्ने मौका समेत पाए।

२०६२ सालमा दशैं विशेष टेलिश्रृङ्खला 'खसी' बन्ने भयो जसको क्लाइमेक्सका लागि आवश्यक पर्‍यो एउटा गीत। गीत लेख्ने जिम्मेवारी पाए कोइरालाले। उनले गीत तयार पारे जोसिएरै जसमा लय जयनन्द लामाको 'धानकै बाला झुलाउँला' भन्ने गीतको थियो। तर, भोगाइ र शब्द भने उनकै।

गीत मात्र होइन टेलिश्रृङ्खलाको मुख्य कलाकार पनि उनी नै हुने भए। उक्त टेलिश्रङ्खला दशैंको फूलपातीको दिन प्रसारण भयो, नेपाल टेलिभिजनमार्फत्। श्रृङ्खलामा प्रयोग गीत त एकाएक हिट भयो। सशस्त्र प्रहरीको श्रव्य दृश्य शाखामा सो गीतमात्र काटेर बजाउने अनुरोध टेलिभिजनहरुबाट आए।

जुन गीत आजसम्म पनि हरेक वर्ष दशैं आसपास बज्छ-

'वर्षमा दिनको यो बडा दशैं कमेरो लाइएन
देश र जनता भन्दामा भन्दै घर जान पाइएन
धानकै बाला झुलाउँला, मायालाई बोलाउँला…'

२०६४ सालमा खुल्ला प्रतियोगितामार्फत् निरीक्षकमा नाम निकाले दीपकले। त्यसपछि त श्रव्यदृश्य शाखाको प्रमुख नै उनी। त्यहाँ रहेर उनले कलाकार उद्घोषणदेखि वृत्तचित्र लेखक तथा निर्देशनसम्मको काम गरे। श्रव्यदृश्य शाखामा रहँदा उनले सशस्त्र प्रहरीका १०० भन्दा बढी टेलिश्रृङ्खला एवं १५० वटा वृत्तचित्र लेखे। लेखन साथै निर्देशन र अभिनय कलाको भरपुर प्रयोग गरे।

त्यो कलाको साक्षी सशस्त्र प्रहरी बल मात्र भने बनेन।

एकपछि अर्को गर्दै उनको लेखन, स्वर, अभिनय वा निर्देशन रहेका सामाग्रीहरु सार्वजनिक हुँदै गए।

उनका 'चाहिँदैन सुन चाँदी हिरा नि, सुख दु:ख राइफलको सिरानी', 'फौजीलाई कुन हो दशैं कुन हो चाड तिहार', 'घरदेश परदेश' गीतहरु चर्चित् छन्। सबै गीतले फौजी जीवनको व्यस्तता, चाडपर्वमा घर जान नपाउनुको पीडा, परिवारको सम्झना आदि बारे भाव समेट्छन्।

यी गीतहरु हरेक वर्ष रेडियो, टेलिभिजनमा त बज्छन् नै साथै आजभोलि सामाजिक सञ्जालमा पनि गीतका क्लिप तथा ट्रोलहरु छाउन थालेका छन्।

२०७६ को दशैं नजिकिँदै गर्दा गीतको भिडियोमा देखिएका दीपक कोइरालाको फोटोसहित मिम देखिन थालेको छ- 'यो वर्ष पनि यी दाइले बिदा पाएनन् भने म पनि घर जान्न।'

'यो पालि दशैंमा मलाई केही चाहिंँदैन। यो दाइले छुट्टी पाए पुग्छ।'

यो वर्ष त नयाँ ट्रोल देखिएका छन् जसमा दीपकलाई सशस्त्र प्रहरी बलकै इन्स्पेक्टर पृथ्वी खनालसँग जोडिएको छ। पृथ्वी द भ्वाइस अफ नेपालको ब्लाइन्ड अडिसन पार गरेका प्रतियोगी हुन्। उनले गत साता भ्वाइसको मञ्चमा 'साथी भाइ जर्नेल कर्नेल' बोलको गीत गाएका थिए।

इन्जिनियर समेत रहेका पृथ्वी झट्ट हेर्दा दीपकजस्तै लाग्न सक्छ धेरैलाई। उस्तै देखिएरै एक ट्रोल पेजलले दीपक र पृथ्वीको फोटो जोडेर लेखेको छ - 'पहिले र अहिले।'

दीपक यस्ता ट्रोलहरु हेर्दै एकोहोरो मुस्कुराउँछन्। सशस्त्र प्रहरी बलबाट कोही गायन प्रतियोगितामा जानु र चयन हुनुले उनलाई भरपुर खुशी दिएको छ।

हाल दीपक सिरहाको सुखीपुरमा खटिएका छन्। गीतले भनेजस्तै चाहेको बेलामा बिदा पाउँदैनन्। गत वर्षपनि उनले सिरहामै दशैं मनाए, परिवारबाट टाढा रहेर। बुबा, आमा देवकुमारी, श्रीमती लीला भण्डारी, दुई छोरी र एक छोरा छन्। उनीहरु प्रश्न गर्छन्,'कहिले आउने?'

दीपक भन्छन्,'छुट्टी मिलेपछि।'

अब त छोराछोरीलाई पनि थाहा भइसक्यो बुबा बोलाउना साथ आउन पाउँदैनन्। त्यसैले बुबाको फोटो राखेर बनाइएका ट्रोलहरु उनलाई नै पठाएर जिस्काउँछन्।

पहिलोपोस्टसँगको  संवादमा भने,'दशैं आउन थाल्दा मेरो बिदाको पीर धेरैलाई पर्छ। मेरा शुभचिन्तकहरुको साथले झन् उर्जाका साथ सेवामा खटिने जोश बढ्छ।'

गीत संगीतकै कारण चर्चमा रहेका उनलाई नयाँ गीत ननिकाल्ने? भनेर गरिएको प्रश्नमा उनले भने, 'म देशको सिपाही हुँ। संगठनले स्थान दिँदा मैले आफ्नो रहर पनि पूरा गर्ने मौका पाएँ। अब देशको सेवा पनि त गर्नु पर्‍यो।'

उनी हाल छोरालाई अधिकृत रहेर ठाउँ ठाउँमा खटिएको हेर्न चाहने बुबाको सपना पूरा गर्न लागि परेको बताउँछन्। भने, 'मभित्रको कलाकार त उस्तै छ। त्‍यो कलाकारले श्वास फेर्न बिर्सिएला तर कला र साधना छोड्दैन। म मेरा प्रशंसकहरुका लागि नयाँ कोशेली लिएर फेरि आउनेछु।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell