PahiloPost

May 4, 2024 | २२ बैशाख २०८१

अमेरिका इरान तनाव: तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि अमेरिकाले साउदीमा सैनिक पठाउने



अमेरिका इरान तनाव: तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमणपछि अमेरिकाले साउदीमा सैनिक पठाउने
फोटो : REUTERS/ ASIA.NIKKEI

वासिङ्टन: साउदी अरबको तेल प्रशोधन केन्द्रमा ड्रोन आक्रमण भएपछि अमेरिकाले त्यहाँ सैनिक पठाउने घोषणा गरेको बीबीसीले जनाएको छ।

अमेरिकी रक्षा सचिव मार्क इस्परले सो कुरा को पुष्टि गरेका हुन्। तर, उनले कतिको संख्यामा अमेरिकी सैनिक साउदीमा तैनाथ गरिन्छ भन्ने बारेमा केही सार्वजनिक गरेका छैनन्।

यमनमा सक्रिय हुथी विद्रोहीले तेल प्रशोधन केन्द्रमा भएको ड्रोन आक्रमण आफूहरुले गरेको स्वीकार गरेका छन्। यद्यपि, अमेरिका र साउदीले भने हुथी विद्रोहीको दाबीलाई खारेज गर्दै सो आक्रमणमा इरानको संलग्नता रहेको आरोप लगाउँदै आएका छन्।

इरानले भने अमेरिकी र साउदी आरोपको खण्डन गर्दै आएको छ। केही महिनायता मध्यपूर्व क्षेत्रमा तेल बोकेको पानीजहाज माथि इरानले आक्रमण गरेको आरोप अमेरिकाले लगाउँदै आएको छ।

शुक्रवार अमेरिकी राष्ट्रपति ड्रोनाल्ड ट्रम्पले इरानमाथि थप प्रतिबन्ध लगाउने घोषणा गरेका थिए। उक्त प्रतिबन्धहरु इरानको वित्तिय संस्थाहरु प्रति लक्षित गरिएको छ।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग भएको आणविक सम्झौता रद्द गरेपछि दुवै राष्ट्रको सम्बन्धमा तनाव उत्पन्न हुँदै आएको छ।

आणविक सम्झौता रद्द गरेको अमेरिकाले इरानी सेनाको एक समूह 'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेपछि दुई देशबीच युद्धको अवस्था सिर्जना भएको हो।

'इस्लामिक रिभोलुसनरी गार्ड कर्प' लाई 'आतंकवादी संगठन' घोषणा गरेको बदलामा इरानलेसमेत अमेरिकालाई काउन्टर दिँदै गत चैतमा अमेरिकालाई 'आतंकवादको प्रायोजक' घोषणा गर्दै मध्यपूर्वी क्षेत्रमा रहेका अमेरिकी सैनिकलाई 'आतंकवादी संगठन' घोषणा गरेको थियो।

इरानले अमेरिकी सेनालाई 'आतंकवादी संगठन' घोषणा गरेपछि मध्य पूर्वी क्षेत्रमा सुरक्षा चुनौती बढेको भन्दै अमेरिकाले युद्धपोत र मिसाइल तैनाथ गरेको थियो।  गत हप्ताको ड्रोन आक्रमणपछि भने अमेरिका साउदीमा सैनिक नै तैनाथ गर्ने निर्णयमा पुगेको हो। यसबाट मध्यपूर्व क्षेत्रमा थप सुरक्षा चुनौती उत्पन्न हुने विश्लेषण गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell