PahiloPost

Dec 19, 2024 | ४ पुष २०८१

मोहन बस्नेतले देउवाको निर्देशन नमानेको र पार्टीको नीति विपरीत कार्य गरेको सिन्धु काँग्रेसको आरोप



मोहन बस्नेतले देउवाको निर्देशन नमानेको र पार्टीको नीति विपरीत कार्य गरेको सिन्धु काँग्रेसको आरोप

  • फूलमान तामाङ-

चौतारा: मंगलबार ७७ जिल्लाका सदरमुकाममा दोस्रो चरणको जागरण अभियानको अन्तिम दिन नेपाली काँग्रेसले सरकारविरुद्ध विरोध जनाउँदै र्‍याली र सभा आयोजना गर्‍यो।

सिन्धु काँग्रेसले केन्द्रीय समितिको निर्देशनअनुसार नै जिल्ला सदरमुकाममामा विरोध सभा गरे पनि सभापति शेरबहादुर देउवा पक्षकै मानिने केन्द्रीय सदस्य मोहन बस्नेतले भने निर्देशनविपरित सभा गरेका छन्।

संस्थापन पक्षले सदरमुकाम चौतारामा विरोधसभा गर्दा बस्नेतले आफ्नै क्षेत्र खाडीचौरमा विरोधसभा आयोजना गरे।

चौतारामा केन्द्रबाट केन्द्रीय सदस्य नवीन्द्रराज जोशी प्रमुख अतिथिका रुपमा खटिएका थिए भने खाडीचौरमा बस्तेन स्वयं प्रमुख अतिथिका रुपमा उभिए। त्यसैगरी केन्द्रबाट खटिएका प्रदेश प्रतिनिधिहरु उत्तम आचार्य र प्रभात लामा चौतारामा उपस्थित थिए।

केन्द्रको परिपत्रअनुसार जिल्ला सदरमुकाममै गर्नुपर्ने कार्यक्रम आफ्नो क्षेत्रमा गरेको र जिल्लाको सभामा भेला हुन आउनेलाईसमेत बस्नेतले रोकेको संस्थापन पक्षका नेताहरुले आरोप लगाएका छन्।

केन्द्रीय सदस्य नै विधान विपरित कार्यमा : जिल्ला नेताहरु

केन्द्रले निर्देशन गरेअनुसार नै कार्यक्रम भएकोले नीति विपरित काम गर्नेलाई विधानअनुसार कारबाही हुनुपर्ने जिल्ला सभापति विकास लामाले बताए।  'केन्द्रको परिपत्र  र नीति विपरित  कार्य गर्ने जो कोही भए पनि  विधान अनुसार कारबाहीको  भागीदार  हुनु पर्छ भन्ने हाम्रो माग हो,' सभापति लामाले भने।

पूर्वसभापतिसमेत रहेका बस्नेतलाई जिल्ला समितिले कार्यक्रममा डाकेपनि उपस्थित नभएको जिल्ला सचिव बिलबहादुर तामाङले बताए। 'हामीले उहाँलाई कार्यसम्पादनको बैठकमा पनि बोलाएको हो तर उहाँ आफै केन्द्रको नीति विपरीत काम गर्नुभयो,' काँग्रेस जिल्ला सचिव तामाङले बताए।

पूर्व सभापति भुपेन्द्र थापा पनि विधान उल्लंघन गर्ने कामको अन्त्य गर्नुपर्ने बताउँछन्। आफै नीति बनाउने ठाउँमा बस्ने आफै उल्लंघन गर्ने विषय लज्जास्पद भएको उनको भनाई थियो। पूर्व सभापति थापाले भने, 'आफै विधान नीति बनाउने ठाउँमा बस्ने अनि आफै उल्लंघन गर्ने परिपाटीको अन्त्य गर्नु पर्छ।'

हालै प्रतिनिधि सभाको क्षेत्र २ मा चयन भएका क्षेत्रीय सभापति आइतमान तामाङ केन्द्रीय नेताले नै भाँडभैलो गरी कार्यकर्तामा अन्योलता सिर्जना गर्ने काममा लागेकोमा अचम्म लागेको बताउँछन्। 'हामीभन्दा अग्रज केन्द्रमा बसेर नीति नियम बनाएर हस्ताक्षर गरेर पठाउने उहाँ। खै उहाँ ले के गर्न खोज्नु भएको हो?' तामाङले प्रश्न गरे।

यता तरुण दलका अध्यक्ष दोर्जे लामाले विधान विपरित काम गरेर तरुण साथीहरुको मन खिन्न बनाएको गुनासो गरे। उनले भने, 'जिल्लाकै शीर्ष नेताले विधान विपरित आफ्नै मन खुशीले आफ्नै क्षेत्रमा कार्यक्रम राख्नु भयो।'



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell