PahiloPost

Dec 18, 2024 | ३ पुष २०८१

मोरङबाट जारी मण्डलको नागरिकता रद्ददेखि पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नेसम्म, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु



मोरङबाट जारी मण्डलको नागरिकता रद्ददेखि पूर्व राष्ट्रपतिको उपचार खर्च सरकारले व्यहोर्नेसम्म, यस्ता छन् मन्त्रिपरिषद्का पछिल्ला निर्णयहरु

काठमाडौं: सरकारले मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्द गरेको छ। सञ्चारमन्त्री एवम् सरकारका प्रवक्ता गोकुल बास्कोटाले मंगलबारको मन्त्रिपरिषद्को बैठकले गरेको निर्णय सार्वजनिक गर्न आयोजित नियमित पत्रकार सम्मेलनमा उक्त जानकारी दिएका हुन्।

त्यस्तै सरकारले  चितवनको  भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि मंसिर १४ गते शनिबार उपनिर्वाचन गर्ने निर्णय गरेको छ।

त्यस्तै सरकारले पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डीगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार खर्च दिने निर्णय गरेको छ।

त्यस्तै सरकारले एसिड आक्रमणका घाइते जेनी खड्का र मुस्कान खातुनको उपचार खर्चका लागि जनही तीन लाख रुपैयाँ दिने बास्कोटाले जानकारी दिए।

 यस्ता छन् सरकारका पछिल्ला निर्णय

१. नेपाल ट्रस्ट (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।

२. मोरङ जिल्ला प्रशासन कार्यालयबाट जारी भएको शम्भुप्रसाद मण्डलको नेपाली नागरिकताको प्रमाणपत्र रद्ध गरी निजलाई नेपाली नागरिकबाट हटाउने निर्णय गरिएको छ।

३. एसिड आक्रमणबाट घाइते भएक जेनी खड्का र मुस्कान खातुनलाई उपचार खर्च एवं जीवनयापन गर्न जनही तीन लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने निर्णय गरिएको छ।

४. चितवन जिल्ला, भरतपुर महागरपालिका वडा नं. १६ को वडाध्यक्षको रिक्त पदपूर्तिका लागि २०७६ मंसिर १४ गते शनिबार उपनिर्वाचन हुने गरी मिति तोक्ने र र सोको जानकारी निर्वाचन आयोगलाई दिने निर्णय गरिएको छ।

५. नेपाली नागरिकहरू नारायणप्रसाद अर्जल र महासेनानी रामजी थापालाई विदेशी मुलुकबाट पदक ग्रहण गर्न स्वीकृति दिइएको छ।

६. प्रहरी अतिरिक्त महानिरीक्षकको सरुवा गर्ने निर्णय गरिएको छ।

७. उपरथी प्रभुराम शर्माको पदावधि १ वर्ष २ महिना १५ दिन थप गर्ने निर्णय गरिएको छ।

८. नेपाल प्रज्ञा प्रतिष्ठान र इजरायलको हिब्रु लेखक संघबीच वाङ्मय आदानप्रदान तथा सहकार्य गर्ने सम्बन्धी प्रस्तावित समझदारीपत्रमा नेपालको तर्फबाट हस्ताक्षर गर्न नेपाल प्रज्ञा प्रतिष्ठानका कुलपतिलाई स्वीकृति दिइएको छ।

९. नेपाल सरकार र अष्ट्रेलिया सरकारबीच हवाई सेवा सम्झौतामा प्रारम्भिक हस्ताक्षर गर्ने निर्णय गरिएको छ।

१०. शहरी पूर्वाधार विकास निगमको स्थापना तथा सञ्चालन सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक तर्जुमा गर्न सैद्धान्तिक स्वीकृति दिइएको छ।

११. राजकीय अतिथि गृह निर्माण गर्न तयार गरिएको गुरूयोजना स्वीकृत गरिएको छ।

१२. पूर्व राष्ट्रपति डा. रामवरण यादवलाई भारतको चण्डिगढस्थित अस्पतालमा उपचार गराउँदा लागेको उपचार र उपचारसँग सम्बन्धित विलबमोजिमको रूपैया नयाँदिल्लीस्थित नेपाली दुतावासबाट भुक्तानी दिने निर्णय गरिएको छ।

१३. सूचनाको हक कार्यान्वयन सम्बन्धी अनुगमन निर्देशिका, २०७५ स्वीकृत गरिएको छ।

१४. एकल महिला सुरक्षा कोष (सञ्चालन) (पहिलो संशोधन) नियमावली, २०७६ स्वीकृत गरिएको छ।



@PahiloPost

धेरैले पढेको

ट्रेन्डिङ पोस्ट

Ncell