काठमाडौं : शहीद स्मारक ‘ए’ डिभिजन लिग अन्तर्गत आज भएको दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले सशस्त्र प्रहरीको एपिएफलाई हराउँदै पुनः शीर्ष स्थानमा उक्लिएको छ। सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको विभागीय डर्बीको खेलमा एपिएफ आर्मीसँग २-१ ले पराजित भएको हो।
आर्मीको जितमा दुवै गोल सन्तोष तामाङले गरेका थिए। यता एपिएफका लागि आशिष लामाले १ गोल फर्काए।
खेलको १६ औँ मिनेटमा आर्मीले सन्तोषको गोलमार्फत अग्रता बनायो। आर्मीका कप्तान भरत खवासलाई एपिएफका रमेश दङ्गालले फल गरेपछि आर्मीले पेनाल्टीको अवसर पाएको थियो। पेनाल्टीमा सन्तोष तामाङले गरेको प्रहार एपिएफका गोलकिपर राजु योगीले सेभ गरे पनि रिबाउन्ड भएर आएको बललाई तामाङले जाली चुमाए।
३७ औं मिनेटमा आइपुग्दा एपिएफका आशिष लामाले रमेश दंगालको पासमा गोल गर्दै खेल बराबरीमा ल्याए। तर खेल धेरैबेर बराबरीमा रोकिएन। ४ मिनेट भित्रै सन्तोष तामाङले गोल गर्दै आर्मीलाई खेलमा पुनः अग्रता दिलाए।
पहिलो हाफमा २-१ मा सकिएको खेल दोस्रो हाफमा कुनै गोल नहुँदा त्यो नै निर्णायक हुन पुग्यो।
जितसँगै आर्मी फेरी शीर्ष स्थानमा उक्लिएको छ। आजै भएको अघिल्लो खेलमा मछिन्द्र क्लबले सरस्वती युथ क्लबलाई हराउँदै शीर्ष स्थानमा उक्लिएको थियो।