काठमाडौं : त्रिभुवन आर्मी क्लबलाई हराउँदै मछिन्द्र क्लबले शहीद स्मारक ‘ए’ डिभिजन लिगको उपाधि हात पारेको छ। त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको फाइनल खेलमा मछिन्द्रले आर्मीमाथि १-० को संघर्षपूर्ण जित निकालेको हो।
खेलमा शुरुवातदेखि नै मछिन्द्र हावी भएको थियो। खेलको ३३ औँ मिनेटमा विकाश तामाङले गरेको आत्मघाती गोल मछिन्द्रको जितको लागि निर्णायक बन्यो। मछिन्द्रका रञ्जित धिमालले प्रहार गरेको फ्रिकिक ‘क्लियर’ गर्ने क्रममा तामाङले आफ्नै पोस्टमा गोल गर्न पुगे।
पहिलो हाफमा मछिन्द्र १-० मा अघि रह्यो। दोस्रो हाफमा आर्मीले थुप्रै अवसर पाएपनि सदुपयोग गर्न भने सकेन। आर्मीका केही प्रयासहरु मछिन्द्रका गोल किपर विशाल श्रेष्ठले असफल पारिदिएका थिए।
रंगशालामा फाइनल हेर्न दर्शकको पनि उल्लेख्य सहभागिता थियो। समर्थकको हुटिङले रंगशाला गुञ्जायमान थियो